चिया–कफी बढी पिउँदा स्वास्थ्यमा असर

चिया–कफी बढी पिउँदा स्वास्थ्यमा असर

काठमाडौं । नेपाली समाजमा सत्कारको मुख्य पेयपदार्थ चिया तथा कफीको प्रयोग बढ्दो क्रममा छ । यसका फाइदाभन्दा धेरै बेफाइदाका विषयमा चर्चा हुने गरेको छ । नेपाली समुदायमा घरमा कोही आयो वा साथीभाइबीच भेटवार्ता भयो कि सोध्ने पहिलो शब्द हुन्छ चिया कफी लिऔं ? अझ गाउँघरको कुरा गर्ने हो भने त नसोधिकनै चिया बनाउने गरिन्छ । कार्यालय हुन् वा ससाना जमघट हुने ठाउँमा अतिथिको सत्कार गर्ने प्रचलन चिया वा कफी नै मुख्य बनेको छ ।

चिया एसियाली देशमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । यो पानीपछि संसारभर पिउने पेय पदार्थ हो । नेपाल र भारतमा यो धेरै उत्पादन हुने गरेको छ । चियाको विश्व इतिहास हेर्ने हो भने दक्षिण–पश्चिम चीनबाट शुरु भएको मानिन्छ । शुरुमा यसलाई औषधीय पेय पदार्थका रुपमा लिने गरिएको थियो । चीनबाट पूर्वी एसियाली देशमा फैलिएको चियालाई १६औं शताब्दीमा पोर्चुगिज पुजारीले यूरोप पु¥याएका थिए । १७औं शताब्दीमा बेलायतबाट चिया पिउने संस्कारको औपचारिक रुपमा शुरु भएको मानिन्छ । अंग्रेजहरुले चिनियाँ एकाधिकार तोड्नका लागि यसलाई संसारभर व्यावसायिक हिसाबले अगाडि बढाएका थिए ।

नेपालमा चियाको इतिहास हेर्दा अंग्रेजहरुको प्रभावसँगै भित्रिएको मानिन्छ । छिमेकी देश भारतमा अंग्रेजहरुको बढ्दो प्रभावसँगै नेपालमा चियाको प्रयोग भएको अनुमान गरिएको छ । पहिले–पहिले नेपालमा चिया पकाएर थालमै पिउने संस्कार थियो । अहिले नेपालमा कप, गिलासमा प्रयोग हुन्छ । तर, पछिल्लो समय भने ग्रीन टी खाने संस्कार नेपालमा बढ्दै गएको छ । यो एक लाइफ स्टाइलमा पर्छ । दैनिकी शुरु गर्दा नै आम नेपालीले चियाबाटै शुरु गर्ने प्रचलन रहेको छ । आम नेपालीमा चिया एक प्रकारको नशाकै रुपमा रहेको छ । बिहान उठेलगत्तै चिया नखाँदा चुलबुल–चुलबुल हुने, नित्यकर्ममै असर गर्नेसम्मको नशा बसिसकेको हुन्छ । चियाले ठूलो असर नगरे पनि चियाको पिउने समयमा ध्यान नदिँदा यसले एक प्रकारको विषकै रुपधारण गर्ने हालैको एक अध्ययनले देखाएको छ । नेपाली समाजमा चिया नखान सुझाव दिने व्यक्ति मूर्खकै रुपमा पहिचान बोक्न बाध्य हुन्छ । धेरै चिया पिउनेलाई यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरेको छ ।

चियाको प्रतिकूल असर

बेलायतको ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित चियासम्बन्धी अनुसन्धान प्रतिवेदनले चिया धेरै पिउने व्यक्तिमा क्यान्सरको सम्भावनासमेत देखाएको छ । अपोलो बीएसआर हस्पिटलकी प्रमुख टाइटिसियन स्विटी यादवका अनुसार दिनमा तीन पटकभन्दा बढी चिया पिउनेमा प्रतिकूल असर देखिएको छ । उनले दैनिक तीन पटकभन्दा धेरै चिया नखान सुझाव दिएकी छन् । अनुसन्धान प्रतिवेदनका अनुसार चिया धेरै पिउने महिलामा ब्रेष्ट क्यान्सरको  सम्भावनालाई बढाउँछ भने तातोकै कारण पनि स्वास्थ्यमा असर परिरहेको हुन्छ । तातो चिया पिउँदा मुख र पेटलाई जोड्ने खाने नली डयामेज हुने गर्छ, यसले इसोफेगसको क्यान्सरको सम्भावनालाई बढाउँछ ।

चियामा पाइने फ्लोराइड भन्ने तत्वले मानिसको शरीरमा हानिकारक काम गरिरहेको हुन्छ । यसले हड्डी कमजोर बनाउने अनुसन्धानबाट पुष्टि भएको छ । चिया धेरै पिउँदा शरीरमा युरिनको मात्रा बढ्छ । यसले सोडियम, पोटासियम जस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन्छ, त्यसको सिधै असर हाम्रो शरीरमा समेत पर्ने गरेको छ । चियामा पाइने टैनिक र टायलिन भन्ने तत्वले इनडाइजेशन बनाउन सक्छ, यसले पेटका रोगीलाई थप समस्या निम्तने गर्छ । चियामा पाइने कफिनले थप थकान उत्पन्न हुन्छ । मानिसमा आलस्यता बढ्ने अनुुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बालबालिकाको मस्तिष्कमा असर

नेपालमा बालबालिकाले सानै उमेरदेखि नै चिया पिउने गरेको पाइएको छ । अभिभावकले सानै उमेरदेखि नै आफ्ना बाबुनानीलाई चिया पिउन दिने गरेका छन् । चियामा भएको कफिनले बालबालिकाको मस्तिष्कमा असर गर्छ । चियामा चिनीको मात्रा बढी नै राख्ने चलन छ । यसले बालबालिकाको दाँतलाई असर गर्छ भने खोकी बढाउन मद्दत गर्छ । चिया खाएपछि कुल्ला नगर्ने प्रचलनले घाँटीमा हुने रोगलाई समेत निम्ताउने गर्छ । त्यति मात्र होइन चियाको बढ्दो प्रयोगले शरीरमा क्याल्सियमको मात्रा घटाइदिन्छ । यसले बालबालिकाको हाड कमजोर बन्छ । बालबालिकाको पाचन प्रक्रियामा समेत यसले असर गर्ने विभिन्न अध्ययनले देखाएको छ । 

चिया खाने तरिकाले पनि शरीरमा कति असर पुग्छ भन्ने कुरा तय हुन्छ । चिया बनाउँदा एकैसाथ चियापत्ती, दूध र चिनी कहिल्यै पनि राख्नु हुँदैन । पानी उम्लिसकेपछि मात्र चियापत्ती राख्ने र अन्तिम समयमा दूध राख्दा यसको असर कम गर्न सकिन्छ । तीन मिनेटभन्दा बढी उम्लेको पानीमा अक्सिजनको कमी हुन्छ । यसले स्वादमा मात्र नभएर स्वास्थ्यमै असर पुग्छ । कहिलेकाहीं हामीले पुरानो पत्ती, जुन एकपटक पकाएर राखेका हुन्छौं यसलाई प्रयोग गर्ने चलन छ । त्यसले झनै स्वास्थ्यमा असर गर्छ । आधा घण्टाभन्दा बढी समय राखेको चिया खानु हुँदैन । यसले इनडाइजेशन मात्र नभएर चियामा हुने टक्सिनलाई बढावा दिन्छ । चिया जस्तै नभए पनि कफी र चियाको असर मिल्दोजुल्दो नै हुन्छ । कफीको असर चियाको भन्दा बढी हुन्छ । यसले किड्नीमा असर गर्छ भने मधुमेहलाई समेत प्रोत्साहन गर्छ । फलस्वरुप मानिसको आयुमै असर पुग्छ । कफीको प्रयोगले ब्लडप्रेसरलाई बढावा दिन्छ । त्यसैले चिया कफीको प्रयोगमा ध्यान दिनु आवश्यक हुन्छ । यी दुवैका फाइदा पनि उत्तिकै छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार