ज्याक्सन हाइट्समा नेपाली लेडिज साँझ

ज्याक्सन हाइट्समा नेपाली लेडिज साँझ

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा बसोवास गरिरहेका महिलाहरुले ‘नेपाली लेडिज साँझ’ मनाएका छन् । नेपाली लेडिज साँझ समूहले न्यूयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरेको कार्यक्रममा महिलाहरुले निर्धक्क आफ्नो प्रतिभा प्रदर्शन गरे । १८ वर्षका युवतीदेखि ४०–५० वर्षका अधवंैशे महिलाहरु एकै ठाउँमा जम्मा भएर फेशन शो र ¥याम्पमा उत्रिएका थिए ।

यस वर्षको कार्यक्रम फेशन शोमा केन्द्रित भएकाले नेपाली युवती र महिलाहरुलाई फेशन शोमा सहभागी गराएको कार्यक्रमकी संयोजक मुना राई गुरुङले जानकारी दिइन् । महिलाहरुले सारी फेशन शो, ड्रेस फेशन शो, राई फेशन शो प्रस्तुत गरेका थिए । ‘दिनरात काममा खट्ने, पारिवारिक र बालबच्चाको जिम्मेवारीमै समय बिताउने हाम्रा दिदीबहिनीहरु एकैछिन सबैथोक बिर्सेर मेकअपले सजिसजाउ भएर रातो कार्पेटमा सारी र ड्रेस लगाएर ¥याम्पमा हिंड्दा सेलिब्रेटी जस्तै देखिए,’ उनले भनिन्, ‘उनीहरुको मुहारमा छाएको हाँसो र खुसी देख्दा गर्व लाग्छ ।’ उनका अनुसार महिलाहरुले स्वतन्त्र भएर रमाइलो गरुन् भन्ने उद्देश्यले नै यो कार्यक्रम तयार पारिएको हो ।

कार्यक्रममा १८ वर्ष भन्दा माथिका महिलाको मात्रै उपस्थिति थियो । कार्यक्रम हलभित्र क्यामेरा पर्सन, टेक्निसियन, डिजे र होटलका केही स्टाफ मात्र पुरुष थिए । अन्य पुरुष र बालबालिकालाई कार्यक्रम हलभित्र छिर्न अनुमति थिएन । कुनै जाति, वर्ग, क्षेत्र, राजनीतिक दल, ठूलो–सानो केही नहेरी सबै महिला समान हुन् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदै आएको आयोजकले जनाएको छ ।

सन् २०१२ देखि महिलाहरु सहभागी गराएर कार्यक्रम गर्न सुरु गरिएको हो । कार्यक्रमबाट उठेको रकमको मुनाफाबाट नेपालको विभिन्न ठाउँ र अमेरिकामा पनि सामाजिक सेवामा लगाउँदै आएको उनले जानकारी दिइन् । सन् २०१३ मा नेपालकी मृगौलापीडित साबिका थापालाई मृगौला प्रत्यारोपणका लागि सहयोग गरेको थियो । सन् २०१४ मा न्यूयोर्कमा बसोवास गरिरहेकी प्राशा तुलाधरलाई फोक्सोको उपचारका लागि सहयोग गरेको थियो भने एनआरएनको निर्वाचन हुनुअघि महिला उम्मेदवारहरुको अन्तरक्रिया, गोर्खाल्याण्ड आन्दोलनका पीडितहरुलाई राहत पु¥याउन पनि आयोजक समूहले सहयोग गरेको थियो । आयोजक समूहले प्रत्येक वर्ष नेपाली बालबालिकाहरुको किड्स ट्यालेन्ट कार्यक्रम गर्दै आएको छ ।

यस कार्यक्रमलाई छैटौं वर्षसम्म निरन्तर सञ्चालन गरी नेपाली महिलाको सशक्तीकरण र विकासमा योगदान पु¥याएकोमा उच्च मूल्याङ्कन गर्दै जर्सी सिटी काउन्सिल प्रेसिडेन्ट रोलाण्डो लाभारोले ‘सिटी साइटेसन’द्वारा सम्मान गरेका छन् । उक्त सम्मान आयोजक समूहलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा फेशन शोका लागि कोरियोग्राफी नेपालकी पूर्व मोडल डेजी शेर्पाले गरेकी थिइन्् भने आयोजक समूहका निमा लामा, मिरा गुरुङ, करुणा शर्मा, चित्रा गुरुङ लगायतले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएका थिए ।

अन्य सम्पूर्ण सहभागी, आर्टिस्ट, मोडल, सबैको उत्साह, जागरुकता र सहयोगले नै कार्यक्रम सफल भएको संयोजक राईले बताइन् । कार्यक्रमलाई क्लासिकल डान्स, राई फेसन शो, सारी फेशन शो, ड्रेस फेशन शो, नाटक गरी विभिन्न विधामा बाँडिएको थियो ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार