काठमाडौं–न्यूयोर्क सिधा उडानको तयारी

काठमाडौं–न्यूयोर्क सिधा उडानको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलो वाइड बडी विमानको व्यावसायिक उडानपछि काठमाडौंबाट अमेरिकाको न्यूयोर्कसम्म सिधा हवाई उडानको तयारी गरेको छ । वाइड बडी विमानको व्यावसायिक उडान असारसम्ममा गर्ने तयारी नेपाल वायुसेवा निगमले गरेको छ । निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गर्ने सम्झौता गरेका दुई वाइड बडी जहाजमध्ये एउटा जहाज अर्को हप्ता नेपाल आइपुग्ने बताइएको छ । नेपाल आएलगत्तै नेपाल एयरलाइन्सले पहिलो वाइड बडी जहाजबाट व्यावसायिक उडान थाल्नेछ । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अबको केही हप्ताभित्रै पहिलो वाइड बडी जहाज आउने र उडान अनुमति लगायतका प्रक्रिया पूरा गरेपछि व्यावसायिक हिसाबले उडान शुरु गरिने जानकारी दिएका छन् । दुवै जहाज नेपाल आइसकेपछि न्यूयोर्कको उडानका विषयमा निर्णयमा पुग्ने अधिकारीहरुले बताएका छन् ।

नेपाल वायुसेवा निगमले आफ्नो उडान क्षेत्र बिस्तारका लागि सबैभन्दा लामो गन्तव्यका रुपमा अमेरिकाको न्यूयोर्कलाई विशेष प्राथमिकतामा राखेको छ । निगमले अहिले अमेरिकाको न्यूयोर्कमा जहाज पु¥याउने गरी व्यवस्थापकीय योजना बनाइरहेको छ । अन्य देशमा उडानको अनुभव लिदै निकट भविष्यमा अमेरिकाको न्यूयोर्कमा उडान भर्नु सबैभन्दा ठूलो प्राथमिकताको विषय भएको कंसाकारले बताएका छन् । उनले भने– ‘हाम्रो मुख्य उद्देश्य अमेरिकाको न्यूयोर्क र काठमाडौंलाई जोड्ने हो । हामीले व्यवस्थापकीय काम गरिरहेका छौं । तर, अहिले नै कहिलेदेखि अमेरिका उडान गर्छौं भन्ने कुरा तय भएको छैन । हामी निरन्तर योजनामै छौं ।’ निगमले लण्डन, जापान, दक्षिण कोरिया र अष्ट्रेलियालाई पहिलो प्राथमिकतामा राखेको छ । विश्वबजारमा नेपाल एयरलाई स्थापित गर्नका लागि र व्यावसायिक प्रतिस्पर्धी बनाउनका लागि नेपाली नागरिकको मुख्य तथा आकर्षक गन्तव्यमा उडान भर्नुपर्नेमा कंसाकारले जोड दिएका छन् ।

नेपाल वायुसेवा निगमले दुवै जहाज आइसकेपछि अमेरिकाको न्यूयोर्क, दक्षिण कोरिया, लण्डन, जापान र अष्टे«लियामा उडान भर्नेछ । यी ठाउँमा पहिलो जहाज आएपछि उडान गरिनेछ । तर, अमेरिकाको न्यूयोर्कसम्मको उडानका लागि भने अर्को जहाज आउनुपर्नेमा निगम व्यवस्थापनले जोड दिएको छ । त्यसो त नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानअन्तर्गत भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।

अमेरिकी कम्पनीसँग एक वर्षअघि दुईवटा वाइड बडी जहाज किन्ने सहमति निगमले गरेको थियो । २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइड बडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता भएपछि पहिलो जहाज एक हप्तापछि आउने तयारी छ । दुईवटा विमान २१ अर्ब ९० करोड रुपैयाँमा खरिद गर्ने सम्झौता भएको थियो । अप्रिल र मे महिनामा दुवै जहाज आउनुपर्नेमा व्यवस्थापकीय कमजोरीका कारण अर्को महिना अर्थात् असारसम्ममा पहिलो जहाज आइपुग्नेछ । दुवै जहाज २ सय ८० सिट यात्रु क्षमताका छन् ।

नेपाल वायुसेवा निगमले आन्तरिक विभिन्न दुई दर्जन ठाउँमा उडान गरिरहेको छ । केही ठाउँमा दैनिकजसो उडान भैरहेको छ भने केही ठाउँमा आंशिक रुपमा उडान भरिरहेको छ । निगमले अबको झण्डै एकवर्षमा नयाँ आठवटा जहाज ल्याउने योजनासमेत सार्वजनिक गरेको छ । वाइड बडी जहाजबाहेक अन्तर्राष्ट्रिय उडानका लागि दुई साघुँरो बडी जहाज खरिद गर्ने तयारीमा निगम रहेको छ । पुराना विमान प्रतिस्थापनको कामसमेत यही बीचमा गर्नेगरी निगमले योजना बनाएको छ । पछिल्लो समय सन् २०१५ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ए ३२०–२०० सिरिजका दुई विमान खरिद गरेको थियो । 

निगमले विभिन्न काण्डका कारण गुमेको आफ्नो छवि सुधार गर्ने प्रयास गरेको छ । पछिल्लो समय निगमले कछुवा गतिमै भए पनि आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न खोजिरहेको छ । पहिलो चरणमा निगमले दक्षिण कोरिया, साउदी अरब र जापानमा उडान भर्ने तयारी गरेको छ । नेपाल वायु सेवा निगमले पहिलो चरणमा दक्षिण कोरिया, जापान र साउदीमा उडान भरेपछि दोस्रो चरणमा अष्ट्रेलिया र बेलायतमा समेत उडान भर्ने तयारी गरेको छ । यी दुई देशमा उडान भर्नका लागि केही नीतिगत तथा अनुमति लिनुपर्ने जटिलता निगमसामु देखिएको छ । प्राविधिक हिसाबले पनि मर्मत सम्भार, परीक्षण लगायतका काममा पनि निगमले ध्यान दिइरहेको छ ।

नेपाल वायु सेवा निगम विगतमा लगभग बन्द जस्तै बनेको अवस्थाबाट अहिले भने बिस्तारै प्रगति भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उडानहरु बढाए पनि प्रभावकारी प्रगति गर्न सकेको छैन । यात्रुलाई गर्ने व्यवहार राम्रो हुन सकेको छैन भने समयमा उडान गर्ने र यात्रुलाई दिने सुविधामा कर्मचारीहरुले चरम लापरबाही गर्ने गरेका छन् । क्षमताभन्दा बढी टिकट काट्नेदेखि सिट खाली हुँदासमेत टिकट नदिनेसम्मको चरम लापरबाही भइरहेको छ । आन्तरिकतर्फ धनगढी, नेपालगञ्ज, भैरहवा, चितवन, मेघौली, बारा, विराटनगर, भद्रपुर र पहाडी क्षेत्रका धेरै ठाउँमा नेपाल वायुसेवा निगमले उडान भरे पनि टिकटिङको सहजता नहुँदा निगमले उच्च प्रगति गर्न सकेको छैन । 

नेपालमा अहिले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा छ । काठमाडौंबाहेक लुम्बिनी, पोखरा र बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चले पनि कामले गति लिन सकेको छैन । चर्चामा रहेकामध्ये लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको काम भने अहिले धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले विवादका कारण केही महिना काम रोके पनि अहिले धमाधम विमानस्थल निर्माणको काम गरिरहेको छ । सन् १९५८ जुलाई मा शाही नेपाल वायु सेवा निगमका रुपमा स्थापना भएको यस कम्पनीलाई गणतन्त्रपछि भने नेपाल वायु सेवा निगम भनेर नामाकरण गरिएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको काठमाडौंमा प्रधान कार्यालय छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय उडान तथा अवतरणको समय थपिएको छ । १८ घन्टासम्म सञ्चालनमा सीमित भएको विमानस्थल अहिले २१ घन्टा सञ्चालनमा रहेको छ । तर रातीको समयमा अत्यन्तै कम उडान हुने गरेका छन । उडान तथा अवतरणको पिकआवरमा आकाशमै दर्जनौं जहाज होल्ड गर्नुपर्ने बाध्यता हटेको छैन । विमानस्थलमा दैनिक ४ सयको हाराहारीमा उडान तथा अवतरण हुने गरेका छन् । मार्च महिनादेखि जुन महिनासम्म उच्चसंख्यामा उडान तथा अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ । अहिले बिहान तीन बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द रहने गरेको छ ।

विमानस्थलको सुधारको कामलाई समेत प्राथमिकतामा राखिएको छ । अहिले प्रतिघन्टा १३ सय यात्रु एकसाथ बस्नसक्ने गरी कुर्सी राखिएको छ । आन्तरिक जहाज काभ्रेबाट उडान तथा अवतरण गर्ने व्यवस्था मिलाउनका लागि सरकारले वार्षिक बजेटमा समेत रकम छुट्याएको छ । पोखरा र बाराको निजगढ विमानस्थल सञ्चालनका लागि सरकारले प्राथमिकतापूर्वक काम गरिरहेको जनाए पनि कामले गति लिने अवस्था देखिएको छैन । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले पनि उल्लेख्य गति लिन सकेको छैन ।

काठमाडौं उपत्यकाको मौसमका कारण पनि बेलाबेलामा समस्या पर्ने गरेको छ । धावनमार्ग ३ हजार ३० मिटरको रहेको छ । दुवैतर्फबाट जहाजको उडान तथा अवतरण गर्न सकिन्छ । तर ससाना समस्याले गर्दा पनि विमानस्थल पटक पटक अवरुद्ध हुने गरेको छ । यस्ता समस्या नेपाल वायु सेवा निगमका लागि चुनौती बन्ने गरेका छन् । बेलाबेलामा मौसममा आउने खराबीको व्यवस्थापन अर्को समस्याका रुपमा देखा पर्छ । बिहान १० बजेदेखि दिउँसो २ र बेलुकी ७ बजेदेखि राति ११ बजेसम्म विमानस्थल अति व्यस्त हुने गरेको छ । यस्ता व्यवस्थापन गर्नुपर्ने चुनौती पनि कम छैनन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार