सिङ्गापुरमा ट्रम्प र किम

सिङ्गापुरमा ट्रम्प र किम

सिङ्गापुर, (एजेन्सी) । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतीक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुगेका छन् ।

ट्रम्प–किमबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने विषय प्रमुख मुद्दा हुनेछ । जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भनेका छन् । कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धबिरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका हुन् । ‘यदि सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिङ्गापुरको प्रयास ऐतिहासिक बन्नेछ,’ किमले विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा भनेका छन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भई आइतबार नै सिङ्गापुर पुगेका छन् । दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलन स्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षा प्रबन्ध गरेको बताएका छन् । शिखर सम्मेलन जुन १२ मा शुरु हुनेछ ।

यसैबीच सम्मेलनका लागि १ करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि सिङ्गापुरले १ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताए ।

खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ । उनले सिङ्गापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित हुनेमा जोड दिएका छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा