एनआरएन अमेरिकाद्वारा युथ लिडरसिप छात्रवृत्ति विजेता घोषणा

एनआरएन अमेरिकाद्वारा युथ लिडरसिप छात्रवृत्ति विजेता घोषणा

न्यूयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाले ‘युथ लिडरसिप अवार्ड २०१८’का ४ विजेता घोषणा गरेका छन् । अमेरिकामा अध्ययनरत जेहेन्दार नेपाली विद्यार्थीलाई लक्षित गरी स्थापित सो अवार्ड नर्थइस्टबाट शिष्टटा पौडेल, साउथ रिजनबाट पुजन दाहाल, मिडवेस्टबाट असिमविक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटाले प्राप्त गरेका हुन् ।

पौडेल फेयरलिहाई डिकिन्सन विश्वविद्यालय (एफडीयू), न्युजर्सीमा इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्यनरत जुनियर छात्रा हुन् । उनी ‘द फ्युचर वल्र्ड लिडर’ अवार्डबाट समेत सम्मानित भइसकेकी छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी संघको सचिव र बहुसांस्कृतिक काउन्सिलको उपाध्यक्ष हुँदा उनले नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने धेरै सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकी थिइन् । हाल उनी  स्टुडेन्ट गभर्मेन्ट एसोसिएसन (एसजीए)का उपाध्यक्ष छिन् । यो संस्थाले विश्वविद्यालयभित्रका ६० भन्दा बढी संस्थाहरुको कार्यक्रम र गतिविधि निरीक्षण गर्दछ ।

त्यसैगरी दाहाल लुजियाना मोनरो विश्वविद्यालयमा कम्प्युटर र सूचना प्रविधिका सिनियर विद्यार्थी हुन् । उनी नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नेपाली विद्यार्थी एसोसिएसनका साथै स्टुडेन्ट गभर्मेन्ट एसोसिएसनसँग संलग्न छन् । हाल उनी आगामी शैक्षिक वर्षका लागि ‘क्याम्पस एक्टिभिटी बोर्ड’को कोषाध्यक्ष छन् । नेपाल विद्यार्थीमाझ परिचित उनी ‘विशिष्ट वारहक पुरस्कार’, ‘चाल्र्स मैकडोनाल्ड क्याम्पस अधिवेशन पुरस्कार’ र अन्य छात्रवृत्ति पुरस्कारद्वारा सम्मानित भइसकेका छन् ।

त्यस्तै, सापकोटा हाल आइडाहो स्टेट युनिभर्सिटीमा बिजनेस विषयमा अध्यनरत छन् । स्टुडेन्ट गभर्मेन्ट एसोसिएसनको  सिनेटरका रूपमा नियुक्त उनी व्यक्तिगत र सामूहिक प्रयासद्वारा विद्यार्थीहरुको सेवा गर्न प्रतिबद्ध छन् । उनी नेपाल र आफू पढ्दै गरेको यूनिभर्सिटीको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ‘विन्टर यूथ सम्मेलन’मा पनि सहभागी भएका थिए ।

यस्तै, मिनेसोटा स्टेट युनिभर्सिटीका मेकानिकल इन्जिनियरिङ विद्यार्थी असिमविक्रम अधिकारी पनि अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी एसोसिएसन, नेतृत्व संघ, अमेरिकन सोसाइटी अफ मेकानिकल इन्जिनियर लगायतका संस्थामा संग्लग्न छन् । उनी हालै मिनेसोटा स्टेट युनिभर्सिटीअन्तर्गत इन्टरनेसनल सेन्टरद्वारा प्रदान गरिने प्रतिष्ठित छात्रवृत्ति पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

१ हजार डलरसहितको युथ लिडरसिप अवार्डका लागि  अमेरिकाको चार वटै क्षेत्रका ४८ विश्वविद्यालयबाट कुल ६२ जना सहभागी भएका थिए । छात्रवृत्ति समितिले जनवरीदेखि आफ्नो काम सुरु गर्दै जुनको पहिलो साता नतिजा घोषणा गरेको हो । समितिमा सुमन कार्की, कुशल पोखरेल, सुलभ पौडेल, क्रितिना बाँस्कोटा, जुबिन राजभण्डारी, डा. प्रतीक केसी, डा. समिता लिम्बु र राजेन्द्र जोशी तथा निर्णायक कमिटीमा डा. निरज बस्नेत, डा. सुमन सत्याल र डा. विनोद पाण्डे रहेका छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार