बाजेको सेकुवा न्यूयोर्कमा

बाजेको सेकुवा न्यूयोर्कमा

न्यूयोर्क । अमेरिका यस्तो मुलुक हो, जहाँ संसारभरका मान्छेहरु मात्र आएका छैनन् आफू सँगसँगै आफ्नो मुलुकको खानाको स्वाद पनि भित्र्याएकै छन् । न्यूयोर्कको ज्याक्सन हाइट्स वरपर नेपालीले रेस्टुरेन्ट सञ्चालन गरेर अमेरिकन र विभिन्न देशका विदेशीलाई समेत आफ्नो खानाको स्वाद चखाइसकेका छन् ।

थोरै क्षेत्रफल र सीमित ग्राहकको लक्ष्य राखेर आफूखुसी व्यवसाय सञ्चालन गर्नेहरु त दिन–प्रतिदिन बढिरहेकै छन् । तर, नेपालीहरुको उत्साह र जाँगर त्यतिमै मात्र सीमित छैन । व्यवसायका नयाँ–नयाँ तरिका र योजनाहरु ल्याएर धेरैभन्दा धेरै ग्राहक तान्ने होडबाजी पनि चलिरहेकै छ । नेपालमा निकै पुरानो नाम चलेको (ब्राण्ड) रेस्टुरेन्ट ‘बाजेको सेकुवा’ले ‘फ्रेन्चाइज’ सुविधा लिएर विश्वबजारमा आफ्नो व्यवसाय विस्तार गरिसकेको छ । अन्य रेस्टुरेन्टको तुलनामा निकै स्तरीय र ग्राहकको सन्तुष्टिमा विशेष ख्याल गर्दै आएको यस रेस्टुरेन्टले अमेरिकामा पहिलो पटक सेवा सुरु गरेको हो । न्यूयोर्कको सन्निसाइडमा भर्खरै मात्र बाजेको सेकुवाको ग्रान्ड ओपनिङ गरिएको थियो ।

रेस्टुरेन्टमा विशेष गरी खसीको सेकुवा, भुटन, सुकुटी साँधेको, टाउको फ्राइ, बँदेल डामेको, झानेको सेकुवा, बाजेको सेकुवा खाजा सेट, स्पेसल सेकुवा सेट, लगायतका परिकारहरु पाइन्छन् । टिपिकल नेपाली स्वादको खाना खानका लागि न्यूयोर्क वरपरका नेपालीहरुको भिड लाग्न थालेको छ ।

‘बाजेको सेकुवा खानकै लागि ६–७ घण्टासम्म ‘ड्राइभ’ गरेर ग्राहकहरु आउनुहुन्छ,’ रेस्टुरेन्टका म्यानेजर मनोज देवकोटाले भने, ‘हामीले नेपालकै स्वादमा परिकारहरु बनाएर ग्राहकलाई सन्तुष्टि दिइरहेका छौं ।’ नेपाली परिकारलाई ठ्याक्कै नेपालकै स्वादमा उपलब्ध गराउनका लागि आवश्यक सम्पूर्ण मरमसलाहरु नेपालबाटै ल्याउने गरिन्छ । रेस्टुरेन्टका एक्जुक्युटिभ सेफ सुरेन्द्र रायमाझीले तीन महिना नेपालकै बाजेको सेकुवामा कुकको तालिम लिएर आएका हुन् । यहाँ पनि सेकुवाको सम्पूर्ण परिकार रायमाझी आफैंले बनाउँछन् । नेपाली सेफले नेपाली रेसिपीअनुसार तयार पार्ने परिकारको स्वादमा एकरुपता कायम गरिने म्यानेजर देवकोटाले जानकारी दिए । न्यूयोर्कका अन्य रेन्टुरेन्टहरुमा स्वादको एकरुपता नहुने, परिकारहरु पनि एउटा र अर्कोमा उस्तै–उस्तै हुने भएकाले त्योभन्दा छुट्टै नेपाली स्वाद दिन नेपाली समुदायलाई लक्षित गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । 

ग्राहकहरु पनि नेपालकै बाजेको सेकुवाको स्वाद ठ्याक्कै खान पाइएको बताउँछन् । ‘सेकुवा सेटले त काठमाडौंमा खाएकै याद दिलायो,’ रेस्टुरेन्टमा सेकुवा सेट खाएर फर्किएकी एक ग्राहकले भनिन्, ‘कर्मचारीको व्यवहार र सेवा–सुविधा पनि राम्रो लाग्यो ।’

बाजेको सेकुवा नाम सुनेरै शनिबार, आइतबार बिदाको दिन पारेर बोस्टन, मेरिल्याण्ड, कनेक्टिकट, भर्जिनिया, डिसी, बाल्टिमोर लगायत राज्यबाट सेकुवा खान ग्राहक आउने गरेका छन् । न्यूयोर्कका व्यवसायीहरु सुरेन्द्र रायमाझी, दीपक भण्डारी, पदम गुरुङ, गणेश लम्साल, केदार श्रेष्ठ गरी ५ जनाको समूहले रेस्टुरेन्ट सञ्चालन गरेको हो । न्यूयोर्क सँगसँगै नेपालीको बाक्लो बस्ती भएका राज्यहरु टेक्सास, भर्जिनिया, कोलोराडो लगायत ७ वटा राज्यमा छिट्टै बाजेको सेकुवा सञ्चालन गरिने छ ।

शुक्रबार, शनिबार र आइतबार साँझ गायक–गायिकाको लाइभ म्युजिक प्रस्तुती हुने भएकाले पनि ग्राहकहरु झनै उत्साहित छन् । शुक्रबार र शनिबार गायिका गीता बिर्लाकोटी र गायक जगदिश समालले आफ्नो प्रस्तुती दिनेछन् भने आइतबार लोक पप गायिका संगीता थापा मगर र बिमल डाँगीले लोक गीत, दोहोरी गीतहरु प्रस्तुत गर्नेछन् ।

नेपालमा चार दशकअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघि बाटोमै बसेर सेक्न थालेको सेकुवाले आफ्नै ‘ब्राण्ड नेम’ बनाएर विश्वका विभिन्न मुलुकहरुमा व्यवसाय गरिसकेको छ । बाजेको सेकुवाका फाउण्डर दिनानाथ भण्डारीको दम्पतीले सुरुमा एयरपोर्ट अगाडि चौरमै सेकुवा सेक्न सुरु गरेका थिए । पछि रेस्टुरेन्ट सञ्चालनमा आएपछि उनका छोरा चेतन भण्डारीले यो व्यवसाय सम्हालेका छन् । हाल नेपालका विभिन्न १३ शहरमा बाजेको सेकुवा सञ्चालन भइरहेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार