नरकाजीको प्राज्ञिक छलाङ

नरकाजीको प्राज्ञिक छलाङ
डा. नरकाजी गुरुङ ।
  • जन्म स्याङ्जा, कर्म अमेरिका
  • अमेरिकी विश्वविद्यालयमा अध्यापन
  • ओबामा र ट्रम्पद्वारा सम्मान

 

न्यूयोर्क । पशु विज्ञान अध्यापन एवम् अनुसन्धानरत डा. नरकाजी गुरुङको योगदानको कदर गर्दै अमेरिकी राष्ट्रपति कार्यालयले लगातार दुई वर्ष पुरस्कृत गरेको छ । स्याङ्जाको माझकटेरीमा जन्मिएका गुरुङ हाल अलाबामास्थित तस्किगी विश्वविद्यालयमा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत छन् । एनिमल साइन्स अध्यापन गर्ने गुरुङ विश्वविद्यालयका स्मल रुमिनान्ट रिसर्च युनिटका निर्देशकसमेत हुन् । त्यसबाहेक उनले तस्किगी क्याप्रिन रिसर्च एण्ड एजुकेशन युनिटको रिसर्च र एक्सटेन्सन÷आउटरिच कार्यक्रमको समेत नेतृत्व गरेका छन् ।

सन् सन् १९७८ मा भारतको पञ्जाव कृषि विश्वविद्यालयबाट स्नातक गरेसँगै उनको उच्च शिक्षामा नयाँ उडान सुरु भयो । सन् १९८५ मा अष्ट्रेलियाको युनिभर्सिटी अफ मेलबर्नबाट एनिमल न्युट्रिसनमा एमएस गरेका गुरुङले सन् १९९२ मा ह्युवर्ट हम्फ्रे स्कलरको रुपमा युनिभर्सिटी अफ क्यालिफोर्निया डाभिसमा काम गर्ने मौका पाए । सन् १९९७ मा अमेरिकाको अलाबामास्थित औबर्न विश्वविद्यालयबाट एनिमल न्युट्रिसनमा पीएचडी गरेसँगै तस्किगी विश्वविद्यालयमा उनको आबद्धता सुरु भएको हो ।

उनी एनिमल एण्ड पोल्ट्री साइन्स, एप्लाइड एनिमल न्युट्रिसन, न्युट्रिसनल टोक्सिकोलोजी लगायत आधा दर्जन बढी विषय अध्यापन गर्दै आएका छन् । त्यसबाहेक उनी पशु विज्ञानसम्बन्धी स्वतन्त्र अनुसन्धानमा पनि संलग्न छन् । गुरुङले पशु विज्ञान, स्वास्थ्य र खानासम्बन्धी झण्डै दर्जन जर्नल आर्टिकलसमेत प्रकाशित गरेका छन् । त्यसबाहेक बेलायती कम्पनीले प्रकाशन गरेका पशु विज्ञानसम्बन्धी दुई किताबमा उनी ‘को–राइटर’ रहेका छन् ।

प्राज्ञिक जिम्मेवारीका अलावा पशुपालन र अनुसन्धानसम्बन्धी विभिन्न संघसंस्थामा समेत उनको संलग्नता रहेको छ । उनी सन् २०१६ मा अमेरिकन गोट एसोसिएसनको सल्लाहकार समिति सदस्यमा मनोनित भएका थिए । उनी लगातार उक्त भूमिकामा कार्यरत छन् । त्यसबाहेक सन् २००७ बाट निरन्तर अलाबामा फार्मर्स फेडरेसनका सल्लाहकार रहेका छन् । उनले रिसोलुसन कमिटी अफ द साउदर्न सेक्सन अफ अमेरिकन सोसाइटी अफ एनिमल साइन्सेसको सन् २०१५ देखि २०१६ सम्म अध्यक्षता गरेका थिए । तस्किगी विश्वविद्यालयको एनिमल केयर र युज कमिटी कोचेयरको रुपमा उनी सन् २०१३ देखि लगातार छन् । त्यसबाहेक सष्टेनेबल स्मल रुमिनान्ट प्रोडक्सन इन द साउथइस्टर्नको सन् २०१६ मा अध्यक्षता गरेका थिए ।

उनले अमेरिका मात्र होइन विभिन्न मुलुक पुगेर पशु विज्ञान र पशुपालनसम्बन्धी तालिम एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । यही क्रममा सन् २०१५ मा हाइटी गएर त्यहाँका ४० जना प्राविधिकलाई ‘मिट गोट प्रोडक्सन’सम्बन्धी तालिम दिएका थिए । स्वयम्सेवा अभियानमार्फत उनी मातृभूमि नेपालसँग पनि जोडिएका छन्  । उनले फार्मर्स टु फार्मर्स भोल्युन्टर कार्यक्रमअन्तर्गत सन् २०१५ मा ‘इम्प्रुभ्ड गोट फार्मिङ फर युथ’ तालिम लमजुङमा सञ्चालन गरेका थिए । यही कार्यक्रमअन्तर्गत सन् २०१६ मा बंगलादेशमा ‘इम्प्रुभ्ड स्मल स्केल गोट रिसर्च टेक्निक्स फर युथ आन्त्रप्रेनरसिप डेभलपमेन्ट’ शीर्षकमा तालिम दिएका थिए । यो कार्यक्रमअन्तर्गत गत डिसेम्बर र जनवरीमा पनि उनले ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्र्यु डेभलपमेन्ट फर एनिमल न्युट्रिसन ल्याबरोटरी इन नेपाल’ शीर्षकमा पनि तालिम दिएका थिए । यी कार्यक्रमको प्रवद्र्धन युएसएआईडी र विनरक एसियाले गरेका थिए ।

नेपाल र बंगलादेशमा यिनै स्वयंसेवी कार्यक्रम सञ्चालन गरेवापत सन् २०१६ र १७ मा उनले युएस प्रेसिडेन्सियल सिल्भर अवार्ड प्राप्त गरेका थिए । सन् २०१६ मा राष्ट्रपति बाराक ओबामा र २०१७ मा डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको अवार्ड उनले प्राप्त गरेका हुन् ।

उनी नेपाली समुदायका विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय छन् । उनले सन् २०१३ देखि २०१७ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको सल्लाहकारको भूमिका निभाएका थिए । अहिले उनी नेप्लिज एसोसिएसन अफ साउदर्न अमेरिकाको सल्लाहकार छन् । अमेरिकामा रहेका नेपाल समुदायको विकास र उन्नतिका लागि सिर्जनात्मक सुझाव दिनेमा उनी अग्रज विज्ञमा पर्छन् ।

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार