चीनमा अधिकांश वृद्धवृद्धा सुखी

चीनमा अधिकांश वृद्धवृद्धा सुखी

बेइजिङ, (एजेन्सी) । चीनको ग्रामीण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुसीसाथ जीवनयापन गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।

चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष पार गरेका २ लाख २२ हजार ७ सय व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ््यौलीका बाबजुद पनि आफूहरू खुसीसाथ जीवनयापन गरेको बताएका थिए । पछिल्लो सर्वेक्षण सन् २०१५ मा गरिएको भए पनि नतिजा भने हालै मात्र सार्वजनिक गरिएको हो ।

सन् २००० को सर्वेक्षणमा जम्मा ४८.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवनयापन गरेको बताएका भए पनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६०.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणले बुढ्यौलीका बीच पनि खुुसी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ ।

उच्च शिक्षा आर्जन गरेका बूढाबूढी निम्न शिक्षा पाएका बूढाबूढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ । सर्वेक्षणमा जम्मा ५२.१ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए, तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए ।

सर्वेक्षणमा कुनै पनि व्यक्ति बुढो हुँदै गएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षणअनुसार ६०–६४ उमेर समूहका ६२.३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५.७ प्रतिशत बूढाबूढीले सुखसाथ बाँचेको बताए ।

यसैगरी ६०–६४ उमेर समूहका ५.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७.६ प्रतिशत बूढाबूढीले आफूहरूलाई सहज जीवनयापन नहुने गरेको बताए ।

कुनै पनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालिकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो ।

आफ्नै सन्तानसँग बस्न रुचाउँछन्

अधिकांश चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पछिल्लो सर्वेक्षण चिनियाँ एक सर्वेक्षणले देखाएको छ । सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ शहरी तथा ग्रामीण दुवै क्षेत्रमा बसोवास गर्ने वृद्धवृद्धाबीच सन् २०१५ मा गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत वृद्धवृद्धाले बुढ्यौलीमा आफ्नै सन्तानको रेखदेख रहोस् भन्ने चाहने गरेको बताएका थिए भने २५ प्रतिशतले भने अन्य विचार दिएका थिए ।

त्यसैगरी चीनको शहरी इलाकामा बसोवास गर्ने वृद्धवृद्धाको तुलनामा ग्रामीण क्षेत्रमा बस्ने पाका उमेरका नागरिकले सन्तानले बुढ्यौलीमा हेरचाह गर्नुपर्ने बताएका छन् । शहरमा बसोवास गर्ने वृद्धवृद्धाको तुलनामा गाउँमा ४.१ प्रतिशत बढी पाका उमेरका नागरिकको रूची आफ्ना सन्तानप्रति बढी देखिएको सर्वेक्षण प्रतिवेदनमा छ । सर्वेक्षणमा पुरुषको तुलनामा महिलाहरू आफ्नो जीवनको उत्तराद्र्धतिर सन्तानको मायाको बढी अपेक्षा गर्ने गरेको पाइएको छ ।

चीनमा वृद्धवृद्धाले आफ्ना सन्तानसँग बस्ने र सन्तानले आफ्ना वृद्ध बाबुआमालाई हेर्ने अभ्यासलाई परम्परागत जिम्मेवारीका रूपमा लिने गरिन्छ । सर्वेक्षणमा ८१.४ प्रतिशत चिनियाँ ज्येष्ठ नागरिकले सन्तानद्वारा अभिभावकप्रति देखाउने दया र मायाप्रति सन्तुष्टि व्यक्त गरेका निष्कर्ष निकालिएको छ । यस सन्दर्भमा ८० वर्ष माथिका १४.८ प्रतिशत ज्येष्ठ नागरिकले भने नकारात्मक धारणा राखेका थिए ।

सन् २००० पछि हरेक पाँच–पाँच वर्षमा गरिने सर्वेक्षणमा ६० र ६० वर्ष माथिका २ लाख २२ हजार ७ सय चिनियाँ नागरिकलाई सहभागी गराइएको थियो ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार