मन्त्रीहरुको ध्यान बढी गफमा केन्द्रित भएको छ

मन्त्रीहरुको ध्यान बढी गफमा केन्द्रित भएको छ
देवेन्द्र पौडेल, नेता, नेपाल कम्युनिष्ट पार्टी

कुनै समय डा. बाबुराम भट्टराई निकट रहेका देवेन्द्र पौडेल केही समय बाबुरामले नै नेतृत्व गरेको नयाँ शक्तिमा रहे । पछिल्लो समय बाबुरामको साथ छाडेका पौडेल अब बाबुराम पनि यही भँगालोमा मिसिनुको विकल्प नभएको बताउँछन् । पौडेलसँग समसामयिक राजनीति, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आगामी रणनीति लगायत विषयमा मोहन बास्तोलाले गरेको कुराकानी–

 

स्थापनाको करिब ६८ वर्षपछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यो एकतालाई तपाईंले कसरी लिनुभएको छ ?

यो ऐतिहासिक अवसर हो । हिजोका दिनमा जनताले विभिन्न खाले अधिकार प्राप्तिका लागि निकै लामो संघर्ष र आन्दोलन गर्नुप¥यो । विगतमा गरेका ती आन्दोलन र संघर्षको एकमुष्ट प्राप्तिका रुपमा पनि यो एकीकरणलाई हेर्नुपर्छ भन्ने लागेको छ । त्योसँगै विकास, समृद्धि र सुशासनको कार्यक्रमसहित समाजवाद उन्मुख राज्य प्रणाली निर्माण गर्नका लागि यी दुई पार्टी बीचको एकता कोसेढुंगा साबित हुनेछ भन्ने मैले ठानेको छु । आम नेपालीले पनि यो एकीकरणलाई यही रुपमा बुझ्नु भएको छ भन्ने मैले ठानेको छु ।

तपाईंहरु दुई ठूला कम्युनिष्ट पार्टी मिल्दै गर्दा तल्लो तहमा वा माथिल्लै तहमा पनि भावनात्मक एकताचाहिं अझै नभएको हो कि भन्ने पनि आशंकाहरु व्याप्त छन् । यसलाई कसरी लिनुभएको छ ?

यो बिलकुल गलत आशंका हो । हामी दुई पार्टी एक हुँदै गर्दा भावनात्मक रुपमा पनि एक भएका छौं । अझ माथिल्लो तहमा भन्दा पनि तल्लो तहका कमिटी र संगठनहरुमा भावनात्मक एकता भएको हामीले बुझेका छौं । हामीले निर्वाचनका बेलामा जसरी एउटै संयुक्त घोषणापत्र लिएर जनताको घर–दैलोमा गएका थियौं । त्यसैबेलादेखि नै तल्लो तहका कमिटी र संगठनमा भावनात्मक एकताको जग बसिसकेको थियो । अहिले त्यो झन् बलियो भएको छ । निर्वाचनको प्रचारका सन्दर्भलाई नै हेर्ने हो भने पनि सबै कार्यकर्ता भावनात्मक रुपमा एक भएर नै खटेको देखिएको थियो । बरु उहाँहरुले एकता प्रक्रियामा भएको ढिलाइमा चाहिँ किन ढिलाइ भयो ? छिटो एकता गर्नुप¥यो भनेर हामीलाई घच्घच्याइरहनु भएको थियो । त्यसैले भावनात्मक रुपमा एकता नहोला कि भन्ने कुनै पनि आशंका कसैलाई पनि नराख्न म आग्रह गर्छु । हो, कतिपय कमिटीहरु समायोजन गर्ने कुरामा केही जटिलता अवश्य छन् । तर, त्यस्ता जटिलतालाई पनि हामी जिम्मेवार ढंगले समाधान गरेर अघि बढ्नेछौं ।

तर, तपाईंले यसो भन्दै गर्दा पूर्व माओवादी नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी दिने सन्दर्भमा पनि केही हेलाहोचो भएको भन्ने खालका आशंकाहरु पनि बेलाबेलामा सुनिने गरेको छ नि ?

एक वृत्तबाट अर्को वृत्तमा आएका नेता–कार्यकर्तालाई अर्को वृत्तका नेता–कार्यकर्ताले होच्याउने, जिम्मेवारी नदिने, सम्मान नगर्ने भन्ने कुनै पनि गुञ्जायस पार्टीमा रहँदैन । हामी अलग–अलग पृष्ठभूमिबाट हुर्किएका पार्टीबीच एकता भएको छ । हाम्रा आ–आफ्नै पृष्ठभूमि र इतिहास छन् । ठूलो कार्यकर्ताको पङ्ति पनि यी दुई पार्टीमा छन् । त्यसैले एकले अर्कालाई हेला–होचो गर्ने, हेप्ने भन्ने हुँदैन । एमाले पृष्ठभूमिका नेता–कार्यकर्ताले माओवादी र माओवादीका नेता–कार्यकर्ताले एमाले पृष्ठभूमिका नेता–कार्यकर्तालाई असाध्यै धेरै सम्मान गर्नेछन् । हामी सबै यसमा विश्वस्त छौं । हामी अहिले अन्तरघुलनको प्रक्रियामा छौं ।

६८ वर्षको इतिहासलाई हेर्ने हो पहिलो पटक दुई ठूला कम्युनिष्ट पार्टी एक भएका छन् । यी दुई कम्युनिष्ट पार्टी एक भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनताले धेरै अपेक्षा गरेका छन् । यो अपेक्षा पूरा होला ?

तपाईंले भने जस्तै करिब ६८ वर्षको इतिहासमा दुई ठूला कम्युनिष्ट पार्टी एक भएका छन् । यी दुई कम्युनिष्ट पार्टी एक भएपछि एक ढंगको तरंग पनि उत्पन्न भएको छ । नेपालको सन्दर्भमा मात्र नभएर संसारभरका श्रमिक र उत्पीडित जनताको  प्रसङ्गलाई हेर्ने हो भने पनि यो दुई ठूला कम्युनिष्ट पार्टीको एकता कोसेढुंगा साबित हुनेछ । अहिले हामी दक्षिण एसियाको सबैभन्दा ठूलो र एसियाको तेस्रो ठूलो दल बनेका छौं । अब हामीलाई यसले पनि थप जिम्मेवार बन्नुपर्ने दायित्व थपेको छ । नेपालका कम्युनिष्ट पार्टीको स्थापना गर्दा कमरेड पुष्पलालले जुन सपना देख्नुभएको थियो अहिले त्यो सपना पूरा भएको छ । उहाँले आफ्नो जीवनकालभरि यति शक्तिशाली कम्युनिष्ट पार्टी देख्न पाउनुभएन । फेरि पनि भन्छु उहाँको जीवनकाल पछि उहाँको सपना पूरा भएको छ । यसमा पनि हामी खुशी छौँ । पुष्पलालको यो सपना पूरा हुनु भनेको आम नेपाली जनताको चाहना र सपना पनि पूरा हुने दिशामा हामी गएका छौँ भन्ने संकेत हो । अब देश समृद्ध बन्ने मार्गमा अघि बढेको छ । म सबैलाई ढुक्क हुन आग्रह गर्छु । अब नेपाली जनताले केही समयपछि नै नयाँ नेपाल निर्माणको सपना पूरा भएको महसुस गर्नेछन् ।

अहिले वाम गठबन्धनको नेतृत्वमा सरकार छ । तर, वाम गठबन्धनका मन्त्रीहरु अहिले काममा भन्दा बढी गफमा केन्द्रित भए भन्ने पनि गुनासो छ । यो जनताको गुनासोलाई चाहिं तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

यो तपाईंको प्रश्न जायज छ । यो सरकारप्रति जनताको अपेक्षा अध्यधिक थियो र छ । जनताको अपेक्षाअनुरुप मन्त्रालय र मन्त्रीहरुले काम गर्नुपर्छ । उहाँहरुका कार्यसम्पादन पनि त्यही अनुरुपका हुनुपर्छ । तर, अहिलेसम्मको अवस्थालाई हेर्दा जनअपेक्षा अनुरुप काम हुन नसकेको हो कि भन्ने आशंकाहरु उत्पन्न भएका छन् । हामीले मन्त्रीज्युहरुसँगको भेटघाटमा पनि यी कुराप्रति सजग रहन आग्रह गर्दै आएका छौँ । हामीले उहाँहरुलाई परिणाम निस्कने गरी काम गर्न सुझाव दिएका छौँ । गफ होइन परिणाम देखाउने गरी मूर्त र ठोस रुपमा अघि बढ्नु होला भन्ने अनुरोध पनि हामीले गरेका छौँ । जन अपेक्षाअनुरुप अहिलेसम्म काम हुन नसकेको सत्य हो । तर, पाँच वर्षका लागि बनेका स्थायी सरकार भएकाले तत्कालै परिणाम खोज्नु पनि त्यति धेरै सान्दर्भिक नहोला कि भन्ने पनि लागेको छ । आगामी दिनमा जनताको आशा–भरोसालाई केन्द्रमा राखेर नै काम अघि बढ््नेछन् । अर्को एउटा सत्य कुरा के हो भने फेरि यो पाँच वर्षमा आकाश–पाताल नै हल्लिने गरी यो सरकरले काम गरोस् भन्ने कुरा पनि त्यति अर्थपूर्ण नहोला । हामीले सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा आधारित भएर काम गर्नुपर्छ । मन्त्रीहरुले पनि त्यहीअनुरुप नै योजना बनाएर अघि बढ्नुको अर्को विकल्प छैन ।

कुनै समय तपाईं डा. बाबुराम भट्टराई निकट हुनुहुन्थ्यो । बाबुरामले नयाँ पार्टी गठन गर्दा तपाईं त्यतै लाग्नुभयो । पछि फेरि फर्किनुभयो र अहिले नेपाल कम्युनिष्ट पार्टीमा हुनुहुन्छ । यो भँगालोमा बाबुरामचाहिं नअटाउनुको कारण के होला ?

तत्कालीन परिस्थितिलाई बुझेर, जनताको भावनालाई बुझेर अघि बढ्न नसक्ने हो भने जुनसुकै पार्टी पनि जनताको बीचमा स्थापित हुन सक्दैन । अहिले हामीले नयाँ ढंगले विकास गरेर अघि बढ्नुपर्ने बाध्यता छ । सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याएर समृद्ध नेपाल निर्माण गर्ने दायित्व पनि हाम्रो काँधमा छ । यो अभियानमा हामी अहिले पनि बाबुरामजीलाई एकैसाथ हिडाउँ भन्नेमा छौँ । हामीले उहाँलाई हार्दिकतापूर्वक अपिल पनि गरेका छौँ । यो अभियानमा आउने–नआउने भन्ने उहाँको कुरा हो । त्यो कुराचाहिँ उहाँलाई नै सोध्नुहोला ।

नयाँ शक्तिमा रहँदा जनताका अपेक्षा पूरा गर्न सकिन्न भनेर नै तपाईं यता आउनुभएको हो ?

व्यक्तिगत रुपमा म कसैलाई पनि आरोप लगाउने पक्षमा छैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि हुँदैनन् । हामीले इतिहासमा निकै टुटफुट र विभाजनलाई सामना गरेका छौं । अब सबै एक भएर आर्थिक समृद्धिको सपना पूरा गर्नुको अर्को विकल्प छैन । यो अभियानमा बाबुरामजी पनि जोडिनुपर्छ भन्ने मेरो मान्यता छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार