नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला हेटौँडामा, देउवा पक्षलाई सकस

नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला हेटौँडामा, देउवा पक्षलाई सकस


काठमाडौँ, असार ५ । १३ औं महाधिवेशनमा तीन गुटमा विभाजन भएको नेपाली कांग्रेसमा यतिबेला महामन्त्री शंशाक कोइराला, नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला एक ठाउँमा भेला भएर सभापति शेरबहादुर देउवाले पार्टीलाई एक्लै अघि बढाउन खोजिरहेको आरोप लगाउन थालेका छन् । देउवाकै टीमबाट महामन्त्री उठेका अर्जुननरसिंह केसीसमेत संस्थापन भन्दा बाहिरी कित्तामा उभिएपछि संस्थापन पक्ष अहिले निक्कै कमजोर देखिएको छ । संस्थापन पक्ष कमजोर देखिएकै बेला आजदेखि हेटौडामा नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कोइराला, पौडेल र सिटौला पक्षका सभापतिहरु एकै एजेन्डा उठाएर छलफलमा सहभागी हुँदैछन् । यसले पनि संस्थापन पक्षलाई यो भेला फलामको चिउरा सरह हुने आकलन गरिएको छ । यद्यपी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने यो भेला एकताको सन्देश दिन र पार्टीलाई सुदृढिकरण गराउन केन्द्रित रहने बताउँछन् ।  

प्र्रवक्ता शर्माले कांग्रेस एकताबद्ध भएर अघि बढ्ने र जिल्ला सभापतिको भेलाले पनि कांग्रेसलाई मजबुद बताउने बताउँदै गर्दा जुम्लाका जिल्ला सभापति दिपबहादुर शाहीले भने नेतृत्वले गुटबन्दी छैन भनेपनि व्यवहार त्यस्तो नभएको गुनासो गरे ।  उनले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेले हात उठाएर एकताबद्ध छौं भनेर मात्र नहुने भन्दै त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।  

जिल्ला सभापति भेलामा सहभागी डढेल्धुराका सभापति कर्णबहादुर मल्लले पनि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउँदै हेटौंडा भेलाले पार्टी भित्रका मतमतान्तर अन्त्य गर्ने दाबी गरे ।  
भेलामा कांग्रेसका भोलिका नीति तथा कार्यक्रम के हुने भन्ने विषयमा छलफल केन्द्रित गराउने योजना रहेको कास्कीका जिल्ला सभापति कृष्ण केसीले घटना र विचारलाई जानकारी दिए ।  
हेटौंडामा आजदेखि शुुरु ७७ वटै जिल्ला सभापतिको भेलामा पार्टी संगठन, पार्टीको विद्यान र वर्तमान रानीतिक परिस्थितिका बारेमा छलफल हुँदैछ । तीन दिन सम्म चल्ने भेलाले कांग्रेस भित्रको गुटबन्दी अन्त्य गर्ला वा अझैँ झाँगिदै जाला त्यो भने प्रतिक्षा गर्नै पर्ने हुन्छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार