नानाले भूकम्पपीडितलाई कृत्रिम अंग उपलब्ध गराउने

नानाले भूकम्पपीडितलाई कृत्रिम अंग उपलब्ध गराउने
२०७२ को भूकम्पपश्चात् उद्धार र राहतका लागि नेपाल पुगेका नानाको स्वयंसेवी टोलीका साथ स्थानीय नर्स, डाक्टर एवम् सुरक्षाकर्मीहरु सिन्धुपाल्चोकको ठूलोभोटाङमा ।

न्यूयोर्क । नेप्लिज अमेरिकन नर्सेस एसोसिएसन (नाना)ले नेपालमा आएको प्रलयकारी भूकम्पका घाइतेलाई कृत्रिम अंग उपलब्ध गराउने भएको छ । यसका लागि नानाले हालै हुमानिटी एण्ड इन्क्लुजन (एचआई)सँग सम्झौता गरेको छ । मानवीय सहायताका लागि प्रसिद्ध संस्था एचआईले सन् १९९७ मा नोबेल शान्ति पुरस्कारसमेत प्राप्त गरेको थियो ।

एचआईका मानव अंग विज्ञले त्यस्तो अंगको आयु दुईदेखि तीन वर्ष रहने बताएबमोजिम आफूहरुले कृत्रिम अंग उपलब्ध गराउन लागेको नानाले जनाएको छ । भूकम्पपीडित घाइते ४० जनालाई कृत्रिम अंग उपलब्ध गराउन लागिएको हो ।

गत जुन ४ मा सम्पन्न सम्झौतामा नानाका अध्यक्ष ङिमा शेर्पा एवम् एचआईका कार्यकारी निर्देशक जेफ मीरले हस्ताक्षर गरेका छन् । आफुहरुले भूकम्प लगत्तै पनि कृतिम अंग आवश्यक पर्ने पिडित खोजी गरेको तर सूचना पाउन कठिन भएको अध्यक्ष शेर्पाले जानकारी दिइन् । ‘हामीले अर्थोपेडिक अस्पतालहरुमा गएर हात–खुट्टा कृत्रिम लगाउनुपर्ने पीडितबारे जानकारी माग्दा त्यस्ता व्यक्ति नरहेको बताइएको थियो,’ उनले भनिन्– ‘अहिले आएर ४० जना त्यस्ता पीडित पहिचान भएको हुँदा अंग उपलब्ध गराउन लागेका हौं ।’

नानाले भूकम्पपीडितको उद्धारका लागि संकलन गरेको रकम कृत्रिम अंग प्रत्यारोपणका लागि एचआईलाई दिएको छ । अब एचआईको प्राविधिक टोलीले नेपाल गएर अंग प्रत्यारोपण गर्नेछ । नानाका स्वयंसेवी नर्सहरु पनि सहयोगका लागि जाने शेर्पाले जानकारी दिइन् ।

नाना अमेरिकामा बसोबास गर्ने नेपाली मूलका नर्सहरुले सन् २०१२ स्थापना गरेको गैर नाफामूलक संस्था हो । संस्थाले २०७२ को भूकम्पपश्चात् नेपालमा विभिन्न मानव कल्याणका कार्यक्रम गर्दै आएको छ । भूकम्पको भोलिपल्टै नानाले आर्थिक संकलन र औषधीजन्य सहयोग सुरु गरेको थियो । भूकम्प गएको एक साताभित्रै संस्थाले राहत र उद्धारका लागि अमेरिकाबाट रजिष्टर्ड नर्सको टोली नेपाल पठाएको थियो । उनीहरुले नर्सिङ एसोसिएसन अफ नेपालको समन्वयमा घाइतेको उद्धार एवम् प्राथमिक उपचार गरेका थिए । साथै संस्थाले अस्थायी आवास शिविर र अस्पतालहरुमा औषधी एवम् स्वास्थ्य सम्बद्ध उपकरणहरु पनि उपलब्ध गराएको थियो ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार