अमेरिकामा नेपालीको विश्वकप क्रेज

अमेरिकामा नेपालीको विश्वकप क्रेज

न्यूयोर्क । अरुबेला फुटबलमा त्यति चासो नदिने ज्याक्सन हाइट्सकी रिता गुरुङ यतिबेला ‘फिफा वल्र्डकप’मा चुर्लुम्मै डुबेकी छिन् । गत बिहीबारदेखि सुरु भएको विश्वकपका कुनै पनि प्रदर्शन हेर्न उनले छुटाएकी छैनन् । दुई वटा बच्चाकी आमा, काम, घरपरिवार, न्यूयोर्कको ब्यस्त जीबनशैलीमा समय ब्यवस्थापन गर्न उनलाई निक्कै अफ्ठेरो छ । तर, भन्छिन्, ‘मनले चाहेपछि सारा काम छोडेर पनि हेर्छु ।’ उनको विश्वकपप्रतिको यो क्रेज अहिले मात्रै होइन । पोखरा घर भएकी गुरुङ स्कुल पढ्दादेखि नै विश्वकप भनेपछि हुरुक्कै हुन्थिन् । ‘म सानोमा अर्जेन्टिनाको फ्यान थिएँ । त्यतिबेला अहिलेजस्तो जहाँसुकै जर्सी किन्न पाइन्नथ्यो, लगाउने चलन पनि थिएन । साथीको लहलहैमा अनेक उट्पट्याङ गथ्र्यांै । स्कुल जाँदा लगाउने सेतो सर्टमा निलो मसीले धर्का कोरेर अर्जेन्टिनाको जर्सी जस्तै बनाएर लगाउथ्यौं,’ उनले आफ्नो स्कुलेजीवन सम्झिइन्, ‘त्यतिबेला म्याराडोना निकै चर्चामा थिए । सर्टको पछाडि ११ नम्बर बनाएर म्याराडोना पनि लेख्थ्यौं ।’ समय परिवर्तनसँगै उनको च्वाइस पनि बदलिएको छ । अहिले उनी ब्राजिलको सपोर्टर हुन् । ‘ब्राजिलको फुटबल टिम बलियो छ । उनीहरुको खेल्ने तरिका मन पर्ने भएकाले म फ्यान भएँ,’ उनी  भन्छिन् । आइतबार भएको ब्राजिल र स्वीट्जरल्याण्डको खेल बराबरीमा टुङ्गिए पनि उनलाई आफूले समर्थन गरेको मुलुकले विश्वकपको ट्रफी हात पार्ने विश्वास छ– ‘एउटै खेलमा अनुमान गर्नु गलत हुन्छ, समय निकै बाँकी छ हेर्दै जाऊँ ।’ 

सान फ्रान्सिस्कोका शिव ढकाल काममै जाँदा पनि मोबाइलमा फुटबल हेरिरहेका हुन्छन् । गोर्खाका ढकाल विद्यार्थी जीवनमै फुटबलको क्याप्टेन थिए । फुटबलप्रति रुची नहुने कुरै भएन त्यसमा पनि ४÷४ वर्षका आउने विश्वकप हेर्ने ‘एक्साइटमेन्ट’को त कुरै नगरौं । उनी काममै जाँदा पनि फुटबल हेर्न छुटाउँदैनन् । समय व्यवस्थापन कसरी गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘कामका विभिन्न प्रकृति हुन्छन् । काममै छँदा पनि मलाई फुटबल हेर्न मिल्छ । मोबाइलमै एप डाउनलोड गरेर विश्वकप फुटबलप्रति अपडेट भइरहेको हुन्छु । मोबाइलमा डाइरेक्ट टिभी कनेक्ट गरेर पनि हेर्न मिल्छ ।’

पहिले त उनी ब्राजिलको फ्यान थिए । तर, अहिले खेल हेर्दै जाँदा अर्जेन्टिना मन पर्न थाल्यो । अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सी र पोर्चुगलका रोनाल्डोले नेपालमा सामाजिक क्षेत्रमा काम गरेको थाहा पाएपछि उनीहरुप्रतिको माया र सम्मानमा अर्जेन्टिनालाई सपोर्ट गरेको हुँ,’ उनी भन्छन्, ‘अर्जेन्टिनाले जित्नेमा म ढुक्क छु ।’ तर, शनिबार भएको आइसल्याण्ड र अर्जेन्टिनाको खेलमा चर्चित खेलाडी मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपछि नरमाइलो लागेको बताउँछन् । ‘खेलमा यस्ता खालका गतिविधि हुन्छन्, हारजीत पनि हुन्छ, तर शनिबारको अर्जेन्टिनाको प्रदर्शन सन्तोषजनक लागेन ।’ उनले आफूले समर्थन गरेको मुलुकले उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै उनले गुनासो गरे ।

उनीहरु मात्र होइन यतिबेला संसारभरका फुटबल पारखीहरुको ध्यान विश्वकप ट्रफी कसले हात पार्ला भन्नेतिरै खिचिएको छ । ‘स्पोट्र्स’मा त्यति चाख नराख्नेहरुले पनि ४ वर्षमा आउने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेरेर मज्जा लिइरहेका छन् । आफ्नो समर्थक मुलुकको जर्सी लगाएर विपक्षी मुलुकलाई सक्दो गाली गर्नसमेत भ्याउँछन् । आफूले समर्थन नगरेको मुलुकले राम्रो प्रर्दशन गर्न नसक्दा खुच्चिङ बजाउँदै सामाजिक सञ्जाल भरी छताछुल्लै पारिदिन्छन् । विश्वकपको उपाधि कसले हात पार्छ भन्ने सवालमा त यिनीहरुको होडबाजी (गेम्लिङ) नै चल्छ । साथीहरुसँग बसेर फुटबल हेर्ने, खाने, रमाइलो गर्ने र होडबाजी गरेर वल्र्डकपको यो अवसर मनाइरहेका छन् ।

रसियाको राजधानी मस्कोमा बिहीबार विश्वकप सुरु हुनुअघि नै अमेरिकामा रहेका नेपालीहरु पनि आफ्नो मन पर्ने देशको जर्सी लगाएर सामाजिक सञ्जालमा उत्रिए । कामको व्यस्तता एकातिर छँदै छ । अर्कोतिर फुटबलको क्रेज । अमेरिकी समयअनुसार मध्यान्न १२ बजे सुरु हुने भएकाले दैनिक काममा जानेहरुका लागि समय व्यवस्थापन गर्न निकै कठिन छ । तर, पनि हेरिरहेकै छन् । केही नेपालीले भने मस्कोको रंगशालामै पुगेर नेपालको झण्डा फहराएको विषयले निकै चर्चा कमाइरहेको छ । शनिबार विश्वकपमा अर्जेन्टिना र रसिया भिड्दा फुटबल हेर्न मस्कोको लुजुइकी रंंगशाला पुगेका केही नेपाली समर्थकहरुले खेल प्रदर्शन भइरहेका बेला नेपालको झण्डा देखाएका थिए ।

फिफा विश्वकप २०१८ मा विश्वका ३२ राष्ट्रहरु भिड्दैछन् भने उनीहरुले ६४ वटा खेल प्रदर्शन गर्नेछन् । गत बिहीबारदेखि रसियामा जारी २१औं संस्करणको विश्वकपमा दैनिक तीन वटा खेल प्रदर्शन भइरहेका छन् । नेपाली समयअनुसार राति ८ः१५ बजे भएको उद्घाटन समारोहमा स्पेनिस पूर्व कप्तान इकर कासियासले विश्वकपको ट्रफी मैदानमा ल्याएलगत्तै विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै विश्वकप सुरु गरिएको थियो । विश्वकपमा सहभागी ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर अहिले समूह चरणका खेल प्रदर्शन भइरहेका छन् । आगामी जुन २८ मा समूह चरणका सम्पूर्ण खेल सम्पन्न हुनेछन् । प्रत्येक समूहबाट दुई÷दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् । त्यसपछिका खेल नकआउट शैलीमा हुनेछन् । अन्तिम १६ मा एक समूहको विजेता र अर्को समूहको उपविजेताबीच खेल हुनेछ । जुलाई ३ तारिखमा अन्तिम १६ का खेल सम्पन्न हुनेछन् र आठ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । जुलाई ६ र ७ तारिखमा क्वार्टरफाइनलका ४ खेल हुनेछन् । त्यसपछि जुलाई १० र ११ मा सेमिफाइनल र जुलाई १४ मा तेस्रो स्थानका खेल प्रदर्शन हुनेछन् । र, जुलाई १५ मा फाइनल खेल भएसँगै विश्वकपको उत्सव समापन हुनेछ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार