रोचक मोडमा विश्वकप फुटबल

रोचक मोडमा विश्वकप फुटबल

 

होला नयाँ शक्तिको उदय ?

 

न्यूयोर्क । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणका दुई तिहाइ खेल सम्पन्न हुँदा केही रोचक नतिजा हात लागेका छन् । मूलतः अघिल्लो विजेताले खासै गतिलो सुरुवात गर्न नसक्ने सन् २००२ यताको परम्परा यसपाली पनि कायम भएको छ ।

सन् २०१४ को विश्वकप विजेता जर्मनी र उपविजेता अर्जेन्टिना दुबै टोलीले यसपाली गतिलो सुरुवात गर्न सकेका छैनन् । पहिलो खेलमा मेक्सिकोसँग १–० को अप्रत्याशित हार व्यहोरेको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई अन्तिम मिनेटमा गोल गर्न सफल हुँदा अन्तिम १६ प्रवेशको आश भने जीवितै छ । यस्तै पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरी र दोस्रो खेलमा क्रोएसियासँग ३–० को लज्जास्पद हार व्यहोरेको अर्जेन्टिना पनि अन्तिम खेल जितेर दोस्रो चरण पुग्ने आशामा छ । दुबै टिमले अन्तिम खेल तुलनात्मक रुपले कमजोर क्रमशः दक्षिण कोरिया र नाइजेरियासँग खेल्नुपर्ने हुँदा जितको आश गरेका छन् ।

२०१४ विश्वकपका विजेता र उपविजेता मात्र होइन उपाधि दाबेदार मानिएका ब्राजिल, स्पेन लगायत टिमको पनि यसपाली सोचेजस्तो सुरुवात हुन सकेन । छैटौँ पटक उपाधि जितेर आफ्नै पुरानो रेकर्ड तोड्ने लक्ष्यसाथ रसिया पुगेको ब्राजिली टोलीलाई पहिलो खेलमा स्विजरल्याण्ड बाधक बन्यो र १–१ अंक बाँड्न बाध्य तुल्यायो । भलै दोस्रो खेल अतिरिक्त समयमा कोष्टारिकालाई दुई गोल गरेका कारण अन्तिम खेल जितेर दोस्रो चरण पुग्ने ब्राजिलको आश जीवितै छ ।

स्पेन युरोपकै अर्को प्रतिद्वन्द्वी पोर्चुगलसँग पहिलो खेलमा बराबरीमा रोकिन बाध्य भयो । पोर्चुगलमाथि सधैं हावी रहँदै आएको स्पेन यसपाली क्रिष्टियानो रोनाल्डोले अन्तिम समयमा फ्रिकिकबाट गोल गरेपछि अंक बाँड्न बाध्य भएको थियो । अर्को दक्षिण अमेरिकी महारथी कोलम्बियासमेत पहिलो खेलमा जापानसँग २–१ को हार व्यहोर्दै डेन्जर जोनमा पुगिसकेको थियो । भलै दोस्रो खेलमा पोल्याण्डमाथि सहज ३–० को जित निकालेपछि कोलम्बियाको दोस्रो चरण पुग्ने आश जीवितै रहेको छ ।

यसअघि विश्वकप जितिसकेका टोलीमध्ये फ्रान्स, उरुग्वे र बेलायतले मात्र यसपाली सहज सुरुवात गरेका छन् । त्यसबाहेक युरोपेली फुटबलमा पछिल्लो समय शक्तिशाली रुपले उदाए पनि कुनै प्रतियोगिता जित्न नसकेको बेल्जियमले पनि लोभलाग्दो सुरुवात गरेको छ । बेल्जियमलाई गत संस्करणमा पनि दाबेदारको रुपमा हेरिएको थियो । साउदी अरेबिया र इजिप्टमाथि सानदार जित निकालेर दुई खेलबाट अन्तिम १६ को यात्रा तय गरेको आयोजक रसिया समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग निरीह बनेको छ ।

सन् १९९८ को विश्वकप विजेता फ्रान्स सन् २००२ मा समूह चरणबाट बाहिरिएको नजिरसँगै डिफेन्डिङ च्याम्पियनले विश्वकपमा गतिलो गर्न सकेका छैनन् । २००२ को विजेता ब्राजिल सन् २००६ मा क्वार्टरफाइनल पुगेको थियो । फेरि सन् २००६ को विश्वविजेता इटाली सन् २०१० मा समूह चरण काट्न सकेन भने सन् २०१० को विजेता स्पेनको पनि २०१४ मा त्यही हालत भएको थियो । अहिले लगभग त्यही अवस्थामा पुगिसकेको जर्मनी स्विडेनविरुद्ध टोनी क्रुजको लोभलाग्दो गोलले अन्तिम खेलसम्मका लागि जोगिएको छ । दक्षिण कोरियाले बराबरीमा रोक्न सके जर्मनीको यात्रा समाप्त हुनेछ ।

सन् १९३० मा सुरु भएको विश्वकप अहिलेसम्म ७९ मुलुकले खेलिसकेका छन् । तर, त्यसमध्ये आठ भाग्यशाली टोलीले मात्र विश्वकप ट्रफी उचाल्न पाएका छन् । ब्राजिलको पाँच पटक अलावा इटाली र जर्मनीले ४÷४ पटक विश्वकप जितेका छन् । त्यस्तै अर्जेन्टिना र उरुग्वेले २÷२ एवम् बेलायत, स्पेन, फ्रान्सले १÷१ पटक विश्वकप जितेका छन् । नेदरल्याण्डले तीन पटक विश्वकपको फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । युरोप र दक्षिण अमेरिकी टोलीबाहेक अरु महादेशमा विश्वकपको ट्रफी अहिलेसम्म भित्रिन सकेको छैन । विश्वकपको २१औं संस्करणअन्तर्गत यसपाली पनि ट्रफी पुरानै शक्ति मुलुकले हात पार्लान् या नयाँ पावर हाउस जन्मिएला ? अन्तिम नतिजाका लागि अब तीन साता कुर्नुपर्ने हुन्छ ।

 

जे हामीसँग छ, बेच्ने त्यही हो

राजेन्द्र पराजुली

गत अप्रिलको मध्यताका भारतीय चर्चित पत्रिका ‘दि हिन्दु’मा ‘नेपाल घुम्ने भारतीय पर्यटकको संख्यालाई चिनियाँले उछिने’ भन्ने आशयमा एउटा समाचार छापिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ– सन् २०१८ को पहिलो तीन महिना (जनवरी–मार्च) मा १ लाख ४ हजार ६ सय ६४ भारतीय पर्यटकले नेपाल भ्रमण गरे भने सोही अवधिमा चिनियाँ पर्यटकको संख्या १ लाख ६० हजार ८ सय ३२ पुगेको छ । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा उपलब्ध होटल–रेस्टुराँ तथा यातायातको सुविधा बढाउन सक्दा यी दुई विशाल जनसंख्या भएका देशका पर्यटक सहजै नेपाल भ्रमणमा आउनका लागि प्रतिस्पर्धा गर्नेछन् । उसै पनि नेपाललाई समृद्ध पार्ने र स्वदेशमै रोजगारीको अवस्था बनाउने क्षेत्र भनेकै पर्यटन र कृषि हो । 

आफूसँग जे छ बेच्ने त्यही नै हो । जुन चिजले मान्छेको ध्यानाकर्षण गर्न सकिन्छ, पल्काउने त्यसमै हो । अनि, बेच्ने के भनेर जोड दिने वस्तु पनि त्यही हो, जुन वस्तुको माग बढी छ वा धेरैले जेलाई मन पराउँछन् । हामीले बेच्ने भनेका कृषिजन्य पदार्थ तथा सेवा नै हो । सेवा क्षेत्रलाई बृहत् अर्थमा हेर्न सकिन्छ– हेर्नुपर्छ । पर्यटक संख्या बढाउनमा मात्र सीमित रहनुपर्छ भन्ने छैन ।

अनुमान गरिन्छ, सन् २०१७ मा झण्डै १४ करोड चिनियाँ नागरिक घुम्नकै लागि भनेर देश बाहिर गएका थिए । चिनियाँ नागरिकलाई बुद्ध धर्म र लुम्बिनीबारे निकै चासो छ । चिनियाँहरु अधिकांश बुद्ध धर्मावलम्बी छन् । तिनलाई बुद्ध जन्मस्थल लुम्बिनीबारे राम्ररी जानकारी दिने हो भने नेपाल तिनको पहिलो गन्तव्य बन्न सक्छ । घुम्न निस्कने चिनियाँको संख्या दिन–प्रतिदिन बढ्दो छ । त्यसैगरी भारतीय नागरिक पनि घुमफिरलाई निकै महत्व दिन्छन् । सवा अर्ब जति जनसंख्या रहेको त्यस मुलुकमा हिन्दुको संख्या अधिक छ । तिनलाई पशुपति, मुक्तिनाथजस्ता चर्चित धार्मिक क्षेत्रको भ्रमण गराउन सक्दा राम्रो आम्दानी हुन्छ । यसरी पर्यटक आगमनबाट प्राप्त हुने आम्दानी कुनै ठूलो उद्योगधन्दाले दिने प्रतिफलभन्दा दिगो हुन्छ । यस्तो आम्दानी जनस्तरमा फैलन जान्छ, अर्थात् यस्तो पैसा समान वितरण हुने सम्भावना रहन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि निकटतम् छिमेकी भारत र भर्खरै अर्को छिमेकी चीनको भ्रमण सम्पन्न गरेका छन् । ती दुवै भ्रमणबारेका धारणा पनि उही पुरातन नै रह्यो । प्रधानमन्त्रीको भ्रमणलाई सरकारले अत्यन्तै सफल ठान्यो भने प्रतिपक्षले असफल वा तालिकाबद्ध काम भन्यो । गम्भीर ढंगमा भ्रमणको लेखाजोखा कसरी गर्नुपथ्र्यो भन्ने सवालमा सरकारका साथै प्रतिपक्षी पनि चुक्न पुगे । केही मान्छे वा जान्नेसुन्ने, जो दलका संगठनमा कतै छैनन्, तिनले भ्रमणमा जानुअघि र फर्केपछि पनि आफ्नो प्रतिक्रिया दिएका छन् । तर, दुर्भाग्य यस्ता प्रतिक्रिया ओझेल पर्न गएका छन् । किनकि, हामी सम्यक प्रतिक्रियालाई कहिल्यै जायज नठान्ने रोगबाट ग्रसित छौँ ।

कुन प्रतिक्रिया ठीक वा कुन बेठीक भनी केलाउनु यो आलेखको उद्देश्य होइन । यसको उद्देश्य केवल मुलुकका कार्यकारीले छिमेकी देशको भ्रमण गर्दा कस्ता सवालमा केन्द्रित हुनु हितकर हुन सक्छ भन्ने हो । भारत र चीनसँग हाम्रो सम्बन्ध सन्तुलित राख्नुपर्छ भन्ने कूटनीतिज्ञ वा विश्लेषकहरुको लामै सूची बन्न सक्छ । के हो सन्तुलित सम्बन्ध भनेको ? नेपालले ती दुई देशसँग कस्तो सहमति वा समझदारी ग¥यो भने सन्तुलित सम्बन्ध बन्छ ? यसको जवाफ पाउन गाह्रो छ । छिमेकी मात्र होइन कुनै पनि मुलुकसँग नेपालले राख्ने सम्बन्ध भनेको समानताको हो । आफ्नो प्रतिष्ठालाई कायमै राखी सम्बन्ध विस्तार गर्नु वा निर्माण गर्नु आवश्यक छ । यो समय कुनै पनि मुलुक हरेक कुरामा आत्मनिर्भर हुन नसक्ने समय हो । कुनै न कुनै वस्तुमा अरु देशसँग निर्भर नरहने देश अब भेट्न असम्भव छ । कुनै त्यस्तो देश भेटियो भने त्यसलाई अपवाद मानिदिए हुन्छ । र, त्यस देशका जनतालाई अभागी वा अभावमा बाँच्न बाध्य नागरिक मानिदिए हुन्छ । त्यसकारण पनि मित्र राष्ट्रहरुसँगको सम्बन्ध अब अन्तरनिर्भरतामा आधारित हुनुपर्छ । अन्तरनिर्भरताले नै एकअर्काप्रति विश्वस्त बन्ने अवस्था निर्माण गर्छ । परनिर्भरता जति खराब हो त्योभन्दा पनि खराब कुनै एक मुलुकसँगको निर्भरता हुन्छ ।

देशलाई अन्तरनिर्भर बनाउने तथा व्यापारघाटा कम गर्ने र जनजीविकालाई सहज पार्ने उपाय भनेकै आफूसँग भएको वस्तुको विक्रीका निम्ति बजार निर्माण वा त्यसको खोजी गर्नुसँग जोडिएको हुन्छ । के छ नेपालमा, जसलाई कम्तीमा पनि दुई ठूला छिमेकमा बेच्न सकिन्छ ? यो तथ्यमा देशका उच्च अधिकारीहरु नै निश्चित नभई गरिने कुनै पनि भ्रमण र त्यसबखत गरिने सहमति–समझदारी–सम्झौतालाई सफल मान्न सकिन्न । प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँग नेपालको विकासमा सहयोग गर्न अनुरोध गरेका छन् । चीनले त थुप्रै जलविद्युत् आयोजना, सडक, रेललगायतका क्षेत्रमा लगानी गरिदिने बचन दिएको छ । नेपाललाई चीनसँग नजिक भएको वा चीनले नेपाल र नेपालीको हितको काम गरिदिएको कुरालाई त्यति सहज नमान्ने भारतले पनि नेपालमा उसैगरी पूर्वाधारमा लगानी गरिदिने बताएको थियो ।

दुवै देशले नेपाललाई आआफ्नो सामरिक महत्वको मुलुक मान्छन् । चीन चाहन्छ, नेपाल एक चीन नीतिमा अडिग रहोस् र यो सानो देशबाट चीनविरोधी गतिविधिमा प्रोत्साहन नहोस् । भारत पनि चाहन्छ, नेपाल धेरै आफूतिरै ढल्कियोस् । यो देशमा कुनै पनि महत्वपूर्ण र दूरगामी निर्णय हुँदा आफूसँग परामर्श गरियोस् । भारतको यही पछिल्लो चाहनाका कारण ऊसँग कतिपय नेपाली खुसी छैनन् । चीनलाई नेपालको आन्तरिक मामिलामा उतिविधि चासो छैन, यद्यपि पछिल्लो समय यस्तो चासोमा वृद्धि हुन थालेको महसुस गर्न थालिएको छ ।

यसरी दुई ठूला तथा उन्नतिको तीव्र दौडमा लागेका मुलुकबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने सवालमा सरकार, राजनीतिक दल, कूटनीतिक क्षेत्रलगायतको ध्यान पुग्न नसक्नु हामी सबैको दुर्भाग्य हो । मुलुककै प्रतिनिधित्व गर्दै ती देशमा पुगेका अधिकारीहरुले तिनले जे दिन्छन् त्यसैमा हात थाप्ने होइन, आफूलाई आवश्यक कुरा के हो त्यसको माग गर्ने हो । यस्ता भ्रमणका क्रममा ठूलो कुरो र काम केही पनि गर्नु पर्दैन । यत्ति गरे पुग्छ– हाम्रो कृषि उपज चीन निर्यात गर्नु, भारतीय र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने वातावरण तयार पार्नु । मुख्य रुपमा यही दुई कामका निम्ति नीति–नियम तयार पार्ने र त्यसका लागि सकारात्मक वातावरण बनाउने हो भने नेपालको समृद्धि टाढा छैन ।

चीन यस्तो मुलुक हो जसले चामल, गहुँ, भटमासको तेल, फलफूल आयातमा वार्षिक करिब ४० अर्ब अमेरिकी डलर खर्च गर्छ । नेपालमा यस्ता वस्तुको व्यावसायिक उत्पादन गर्ने र निर्यातमा सहज नीति तयार गर्न चीन सरकारसँग छलफल गर्ने हो भने युवाको ध्यान कृषिमा अवश्य जानेछ । निर्वाहमुखी कृषि छोटो समयमै व्यावसायिक बन्न थाल्नेछ । मधेसका लाखाँै बिघा बाँझो जमिनमा हरियाली आउनेछ, पहाड–हिमालमा फलफूल लटरम्म हुनेछन् । यसले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणबाट चलेको मुलुकको अर्थतन्त्रमा सुधार आउने त छ नै साथमा कृषिप्रति युवाको विश्वास बढ्नेछ । ओली सरकारले आफ्नो चीन भ्रमणका क्रममा यस्ता विषयलाई महत्व दिएको देखिएन । अर्को छिमेकी भारतसँग भने यही असारको पहिलो साता द्विदेशीय कृषिमन्त्रीस्तरीय ‘कृषि क्षेत्रमा साझेदारी र सहकार्य’ गर्ने विषयमा समझदारी भएको छ, यसलाई सुखद सुरुवात मान्न सकिन्छ । अब तत्कालै चिनियाँ अधिकारीहरुसँग पनि यस्तै समझदारी गर्नु आवश्यक छ । 

चीन वा भारतले रेल नेपालमा ढिलो–चाँडो पक्कै पनि चलाइदेलान्, थुप्रै सडक पनि बनाइदेलान् । जलविद्युत्को उत्पादन तिनकै सहयोगमा भरपूरै होला र त्यसलाई बेच्न बजार खोज्नुपर्ने दिन पनि आउला । तर, त्यसले मात्र नेपाल र नेपाली नागरिकको उन्नतिको मापन गर्न सकिने छैन । ती सडक र त्यो रेलमा नेपालमा उत्पादित कृषिजन्य वस्तु विशेषगरी उत्तरतर्फ जानुपर्छ । लाखौँ भारतीय र चिनियाँ पर्यटक रेल चढेर नेपाल आउनुपर्छ । नेपालको समृद्धि यात्रा त्यसपछि नै तय हुनेछ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार