अमेरिकामा फुटबल भन्दा बुझ्दैनन्

अमेरिकामा फुटबल भन्दा बुझ्दैनन्

लेखकलाई मैले दुई प्रकारमा विभाजन गरेको छु । लेख्नै परेपछि लेख्ने र लेख्नका लागि लेख्ने । लेख्नै परेपछि लेख्न सजिलो हुन्छ, किनकि विषयबस्तु हुन्छ । दोस्रोमा मनगढन्ते बढ्ता हुन्छ । जुन कारणले लेखे पनि ‘लेख लेख्न’ मलाई असाध्यै चुनौतीपूर्ण लाग्छ । हरिवंश आचार्यले ३० वर्ष कलाकारिता गरिसकेपछि पनि ‘मञ्चमा उक्लिँदा अझै कताकता नर्भस हुन्छु’ भनेझैं मलाई पनि करिब २०० आर्टिकल लेखिसक्दा पनि अझै केही मिलेन कि ? अध्ययन पुगेन कि ? भनेर चिन्ता भइरहन्छ ।

शुरुवातमा पाठकको ध्यान झ्वाट्ट खिच्न सकिन कि ? त्यसपछि दोस्रो प्याराग्राफसम्म लैजानको लागि अलि रोचक अंश जोडिन कि ? अर्को अनुच्छेद जानकारीमूलक भएन कि ? ज्ञानबद्र्धक वा मनोरञ्जनात्मक भएन कि ? लेखको अन्त्यसम्म पाठकलाई जोडिराख्ने सन्दर्भसामग्री वा उदाहरण पुगेन कि ? अन्त्यमा मेरो निष्कर्ष एवम् राय चित्तबुझ्दो भएन कि ? भनेर शंकाले मथिंगल घेरिरहन्छ । बोलिचालीको भाषालाई लेखमा उतार्दा फिल्मको निर्देशकले घरभित्रको र बाहिरको मान्छेबीच भएको संवादलाई पर्दामा उतारेको जस्तो अथवा कलाकारले सम्झेको पललाई दर्शकसमक्ष सम्झिरहेझैं भान हुने प्रस्तुतीकरण गरे जस्तै मलाई पनि सहज भाषामा छोटो–छरितो प्रस्तुतीकरण गर्न दिनदिनै सिकिरहेछु झैं लाग्छ ।

एक पटक अमर न्यौपानेको सेतो धर्ती पढ्दै थिएँ । पर्च अरे । भनेसी ओलान्त । हुन्च ओला । मार्चन् केरे । जस्ता शब्दहरु पढिरहँदा म आफै पात्रसँग त्यो गाउँले परिवेशमा पुगेको आभास गरेथें । पाठकलाई पात्र र चरित्रभित्र पसाएर अनुभूति गराउन सक्ने उनको लेख्ने काइदाको फ्यान बनें । नेपाली भाषा साहित्यको गहनता अझै बुझ्ने यत्न गरें । गाउँघरतिर सुनिने दख रुप्पे, भन्याख होला, ग¥याख त ? भो प¥या खैन । जस्ता शब्दहरु हाम्रो टिपिकल एक्सेन्ट हो । अमेरिकाभित्रैको अंग्रेजी फरक–फरक हुन्छ । बेलायतीले बोलेको अंग्रेजी अमेरिकीले बुझ्दैनन् भने नेपाली भाषाभित्रको विविधतामा धक मान्नु पर्दैन । भाषा लेख्दा शुद्ध लेख्नुपर्छ तर बोल्दा जसरी चलेको छ त्यसरी बोल्दा हुन्छ । लाइबेरियनहरु लेख्दा शुद्ध अंग्रेजी लेख्छन् तर बोल्दा पाटवा (ब्रोकन अंग्रेजी) बोल्छन् । त्यसैले बोल्नु र लेख्नु दुई फरक चिज हुन् ।

जननी भाषाको झर्रा लवजपछि सिकेर सिकिँदैन । जन्मेदेखि ७ वर्षको उमेरसम्म जुन भाषा पहिलो भाषाको रुपमा बोल्दछ त्यही नै उसको पहिलो एक्सेन्ट बन्दछ । हामीले छिप्पिएको जिब्रो लिएर अमेरिकीले जस्तो अंग्रेजी पारेर ५०औं वर्ष अभ्यास गरे पनि यतै जन्मेहुर्केका अमेरिकीले तुरुन्तै थाहा पाउँछ । मैले एक पटक एकजना अमेरिकीलाई भनें कि– ‘म मेरो अंग्रेजी बोल्दा निस्कने एक्सेन्टमा गर्व गर्छु ।’ उनले सोध्यो– ‘किन ?’ मैले भनें– ‘अंग्रेजी बोल्दा यदि कसैको एक्सेन्ट हुनुको अर्थ यो हुन्छ कि उसले अंग्रेजीभन्दा राम्रो अर्को भाषा बोल्न जानेको छ ।’ मैले अझ थपें– ‘२६ ओटा अक्षरले थामेको भाषा सम्पूर्ण भाषा हुन सक्दैन । यो व्यापारिक भाषा हो । नेपालीमा स्वर–वर्ण मात्रै १६ ओटा हुन्छ, जबकि तिमीहरुको स्वर–वर्ण मुख्य ५ ओटा र आंशिक २ ओटा छ ।’ त्यसपछि उसले ‘अंग्रेजी स्पिकरलाई मेन्डारिन सबैभन्दा जटिल भाषा हो’ भनेर पन्छियो ।

कतिपय नेपाली शब्द जीवनभर प्रयोग गरिसक्दा पनि त्यसको वास्तविक स्वरुपको ज्ञात कतिपय नेपालीलाई भएको हुँदैन । जस्तै ‘तु’ । तु आउनु । तु गर । यहाँ ‘तु’ भित्र ‘तुरुन्तै’ लुकेको हुन्छ । आआफ्नै । दुई पटक ‘आफ्नै आफ्नै’ नभनेको । सप्रमाण– प्रमाणसहित भन्न खोजेको हो । सुविचार– सुन्दर विचार ।

भाषा आफैँमा ज्ञान हो । भाषाको सौन्दर्य प्रयोगकर्ताको शिल्पीमा भर पर्दछ । हामी नेपालीहरु अन्य भाषाको शब्द सापटी लिन अन्कनाउँछौं । जबकी अंग्रेजीले ग्रीक, ल्याटिन, फ्रेन्च आदि भाषाबाट धेरैजसो शब्द सापटी लिएको छ । अझ नेपालीबाट हिमालयन, शेर्पा, याक, कर्मा, योगा आदि शब्दहरुसमेत समेटिसके । अमेरिकीहरुले दैनिक प्रयोग गर्ने बफे Buffet, क्याब्रे Cabaret, गोर्मे Gourmet, भ्याले Valet, डिपो Depot आदि फ्रेन्च शब्दहरु गर्वले प्रयोग गर्छन् । अन्य भाषाको गहकिलो शब्दलाई सापट लिएर भाषा बिग्रँदैन ।

यसपटक लेख लेख्ने विषयवस्तु र भूमिका खोज्दाखोज्दै लेख सकिएछ । जीवन नबोलेको लेख मलाई आदर्श र दर्शनको थुप्रो लाग्छ, त्यसैले जनजीवन मिसाउने प्रयत्न गर्दछु । बोलीचालीको भाषा र लेखाइको अनुभवलाई अलिकति पेश गरें । समग्रमा भन्दा यसपटक लेख्नको लागि लेखें । सक्करको कुम्भमेलामा थोरै समय लिएँ ।

पुनश्चः अमेरिकामा फुटबल भनेर कसैले बुझ्दैन । सक्कर वा फिफा फुटबल भन्नुपर्छ ।

ygshdngl@yahoo.com

 

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार