चिनियाँ रेल, नेपालको समृद्धि र ओझेल पारवहन मुद्दा

अघिल्लो पटक प्रधानमन्त्री रहेका बेला चिनियाँ अधिकारीहरुसँगको औपचारिक भेट सम्पन्न भएपछि केपी ओलीले बेइजिङस्थित नेपाली दूतावासमा पत्रकारहरुसँग भनेका थिए– ‘नेपाल अब ल्याण्डलक्ड मुलुकबाट ल्याण्ड कनेक्टेड बनेको छ ।’ भारतको नाकाबन्दी खुलेलगत्तै चीन पुगेका ओलीले उत्तरी छिमेकीसँग पारवहन सन्धि गरेपछि उक्त धारणा सार्वजनिक गरेका थिए ।

दुईवटा देशसँग सीमा जोडिएको नेपालले तेस्रो मुलुकसँगको व्यापारमा एकतिरबाट मात्र पारवहन सुविधा लिइरहेको अवस्थामा चीनसँगको उक्त सन्धि बहुप्रतीक्षित थियो । ओलीको उक्त कदमले भारतले अघोषित नाकाबन्दी लगाएको पीडामा कलमकै कामसमेत ग¥यो । प्रधानमन्त्री ओलीले पनि आफ्नो उक्त कदमलाई जनमानसमा राम्रैसँग प्रचार गरे । अझ सत्तासाझेदार तत्कालीन एनेकपा माओवादीले कांग्रेससँग गठबन्धन कायम गरी आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारेपछि विपक्षीलाई उत्तरी छिमेकीसँगको फराकिलो सम्बन्ध पचाउन नसक्ने लम्पसारवादी जस्ता आरोप उनले लगाए । भारतसँगको एकतर्फी निर्भरता अन्त्य गराउन खोज्दा आफूलाई प्रधानमन्त्रीबाट हट्न बाध्य पारिएको दाबी उनले कुनै पनि चुनावी सभामा सुनाउन छोडेनन् ।

जनताले ओलीको दाबीलाई पत्याए पनि । स्वाभाविक पनि हो दक्षिणी छिमेकीबाट अनेक हस्तक्षेप र प्रताडना खेपेका अधिकांश नेपालीलाई भारतले भन्दा चीनले धेरै माया दिन्छ भन्ने विश्वास छ । आन्तरिक मामलामा खासै नबोल्ने र भारतले पेलेका बेला सानोतिनो सहयोग दिएका कारण नै चीनप्रतिको हाम्रो सोचाइ हार्दिक बन्न पुगेको हो । हिमालय शृङ्खलाको भीमकाय सिमानाका कारण उत्तरी छिमेकीसँग हाम्रो दक्षिणतिर जस्तो सहज आवागमन छैन । भाषा, संस्कृति, लवाइखवाइमा पनि उत्ति प्रभाव पर्दैन जति बलिउड चलचित्रका नायक–नायिकाले कुनै नयाँ डिजाइनका कपडा लगाए त्यसको फोटोकपी साताभित्रै काठमाडौंका सडकमा हिँड्ने तन्नेरीको आङमा सजिन पुग्छ । यही निकटता नै भारतसँगको हाम्रो दूरीको मूल कारण हो कि ? हामी सांस्कृतिक रुपले नजिक छौं तर सार्वभौम छिमेकीलाई राजनीतिक रुपले होच्याउने व्यवहार कदापि पच्दैन ।

त्यसमाथि तात्तातो नाकाबन्दी त झन् भुल्ने कुरै आएन । नाकाबन्दीविरुद्धको प्रतिबद्ध गर्जन नै हो ओलीलाई अहिले सत्ताको भ¥याङ चढाउने मूल कारण । किनभने नाकाबन्दीपश्चात् चीन पुगेर उनले गरेको पारवहन सन्धिले अब दक्षिणले नाका अवरोध गरे उत्तरबाट आपूर्ति र तेस्रो मुलुक व्यापारको ढोका खुल्छ भन्ने विश्वास जनताले लिए । तर, उक्त विश्वासमा अहिले नराम्रोसँग तातो पानी खन्याएर रेलको भुलभलैयामा अल्मल्याउन खोजिएको छ । चीन र भारतबाट रेल आउने र त्यसैले समृद्धि ल्याउने प्रचारबीच छायाँमा पारिएको पारवहनको मुद्दाबारे चासो उठेको छैन ।

२०७२ सालमा संविधान जारीपश्चात् भारतले नाकाबन्दी लगाएको भए पनि व्यापार र आवागमनमा दुःख भने बेलाबेला बल्झाइरहने गरेको छ । कहिले अदुवा नकिनिदिने त कहिले बन्दरगाहमा आइपुगेका सामानलाई ल्याउन–लैजान अवरोध गरेर भारतले आफ्नो स्वार्थ स्वीकार्न नेपाललाई बाध्य पार्छ । यस्तो अवस्थामा हामीले उत्तरतिरको बाटोबाट समुद्रको पहुँच पाउन सक्दा दक्षिणको एउटा ठूलो बार्गेनिङ टुल क्षतविक्षत बन्न पुग्ने थियो । स्वाभाविक हो, अघिल्लो पटक ओलीले चीनसँग गरेका सन्धि–सम्झौतामा भारतलाई सबैभन्दा पोलेको विषय पारवहन नै थियो । त्यसैले यो मुद्दा अगाडि नबढोस् भन्ने उसको चाहनालाई प्रधानमन्त्री ओलीले यसपटकको चीन भ्रमणमा पूरा गरिदिएका छन् । त्यसबेला सन्धिको रुपमा सैद्धान्तिक सहमति भएको पारवहन सुविधाको मुद्दालाई प्रधानमन्त्रीले यो भ्रमणमा सम्झौता गरेर कार्यान्वयनमा लैजालान् भन्ने विश्वास थियो । तर, यसबारे कुनै ठोस प्रगति भएन । यसमा प्रधानमन्त्रीको नियतै हो या साँच्चिकै प्रक्रिया टुङ्गिन बाँकी थियो ? भविष्यको व्यवहारले थप पुष्टि गर्दै जानेछ । यदि यो विषय नियतबस बिर्सन खोजिएको हो भने त्यो जनविश्वास र जनमतमाथि साँच्चिकै ठूलो धोका हुन जानेछ ।

नेपालमा समृद्धिको भोक नराम्रोसँग जागेको छ । त्यसका निश्चित कारण छन् । पहिलो कारण त तल्लो वर्गका नेपालीहरुले पाएको तेस्रो मुलुकको पहुँच नै हो । खाडी र मलेसिया लगायत मुलुकमा रोजगारी गर्न गएका आम नेपालीले त्यहाँको राजनीतिक प्रणाली, कर्मचारीतन्त्र लगायत आन्तरिक कुरा धेरै नबुझे पनि फराकिला र चिल्ला सडक, ठूल्ठूला पार्क, बिल्डिङ र शहरबजारमा राम्रोसँग आँखा बिछ्याउन पाएका छन् । बिस्तारै मध्यमवर्गमा उक्लिँदै गरेको यो जमात जब घर फर्कन काठमाडौं एयरपोर्टमा ओर्लिन्छ धुँवा र धुलोले आँखा टट्याउन थाल्छ, श्वास निस्सासिन पुग्छ । त्यस्तै अरबमै श्रम गरेर भए पनि छोराछोरीलाई राम्रो स्कुल पढाउने र उच्च शिक्षाका लागि विदेश पठाउने अविभावकको संख्या पनि ठूलो भइसकेको छ । यो बिन्दुमा अविभावक र सन्तान दुबैको मत मिल्छ कि जसले समृद्धिको नारा दिन्छ उही प्रिय नेता बन्छ ।

यही कारण अहिले रेलको भुलभुलैयाले नेपालीलाई छपक्कै छोपेको हो । चाहे ती स्वदेशमा बस्ने हुन् या विदेश । रेल आए के गर्ने ? त्यसले ल्याउने समृद्धि कस्तो हुने र कसरी हुने ? यी प्रश्नमा घोत्लिनेबित्तिकै पारवहन सन्धि पूर्णताको विषय अगाडि आउँछ । पक्कै पनि हिजो खासाबाट गरिने व्यापारको निरन्तरताका लागि मात्र रेल आए त्यसले क्षणिक र देखावटी समृद्धि मात्र ल्याउनेछ । नेपालले आफ्ना उत्पादन उत्तरी बाटोबाट तेस्रो मुलक पठाउन या तेस्रो मुलुकबाट आयातित सामान सोझै काठमाडौं झार्ने सपना नदेख्ने हो भने रेल आउनु र जानुको कुनै तुक हुने छैन । सायद चिनियाँ रेल काठमाडौं पुग्यो भने नेपालबाट छुटेको मालगाडी साता–दुई सातामा समुन्द्री बन्दरगाह पुग्न सक्छ । यसले लागत र समय दुबै बचाएर तेस्रो मुलुकसँगको व्यापार सस्तो र सहज बन्न पुग्नेछ । भारतको एकलौटी दबदबा पनि अन्त्य हुनेछ । त्यसैले चीनसँग थाती पारवहन सम्झौताको शीघ्र कार्यान्वयन समृद्धिको दिशामा पहिलो शर्त हो । नेपालवासी मात्र होइन विदेशमा बसेर नेपालमा समृद्धिको सपना देख्ने र बाँड्नेहरुले समेत यो तथ्य मनन गर्न जरुरी छ । किनभने तब मात्र नेपाल व्यवहारमै ल्याण्डलक्डबाट ल्याण्ड कनेक्टेड मुलुकमा रुपान्तरित हुन सक्नेछ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार