नाकाबन्दीको विरोध गर्ने र गराउने एकै ठाउँमा छन्

नाकाबन्दीको विरोध गर्ने र गराउने एकै ठाउँमा छन्
उमाकान्त चौधरी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

उमाकान्त चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । बारा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित उनी पूर्वमन्त्रीसमेत हुन् । प्रष्ट वक्ता चौधरी कांग्रेसको तराई–मधेश क्षेत्रको प्रतिनिधि पात्रका रुपमा समेत परिचित छन् । अमेरिका भ्रमणमा आएको समयमा चौधरीसँग नेपालको राजनीतिक अवस्था, कांग्रेसको भूमिका र भोलिको बाटो लगायत विषयमा केन्द्रित भएर सुरज भण्डारीले गरेको कुराकानी—

सरकारको गतिविधिलाई कसरी हेर्नुभएको छ ?

केपी ओली सरकारको सय दिन पुगेको छ । यो बीचमा बजेटसमेत आएको छ । चुनाव जित्नुअघि र जितिसकेपछि सरकार बनाउने समयमा गरिएका प्रतिबद्धता सुन्दा देश स्वर्ग नै बन्छ भन्ने थियो । जनतामा आश्वासन बाँडिएको थियो, सबैमा  अब के–के न हुन्छ भन्ने थियो । प्रधानमन्त्रीले मात्रै होइन मन्त्रीहरुले पनि गरेका प्रतिबद्धता सुन्दा धेरै गर्छन् क्या हो भन्ने थियो ।

तर, बजेटले त्यो सबै कुरा झुटा रहेछन् भन्ने प्रष्ट्याएको छ । बजेट हेर्दा ती सबै भ्रमको पोका मात्रै हो भन्ने प्रमाणित भएको छ । विकास निर्माणमा जुन खालको अपेक्षा थियो, तर त्यो हुने न कुनै ठोस संयन्त्र छ, न त त्यो होला भन्ने आधार पनि खासै देखिएको छैन । सरकारको श्वेतपत्र, चुनावी घोषणापत्र र आएको बजेट कहींकतै म्याच हुँदैन । विकासको कुरा गर्दा यो बजेट पूरै निराशाजनक नै छ । यसको एउटा उदाहरण दिन चाहन्छु, मैले प्रतिनिधित्व गरेको बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम केही वर्ष अघि सुरु भएको हो । तर, त्यही बाराको निजगढ विमानस्थलको बारेमा त यो बजेटले केही बोलेकै छैन । अरु केही ठाउँमा यति वर्ष, उति वर्ष भनिएको छ, तर यसको बारेमा त कहीं पनि कुरै छैन । यो राष्ट्रिय गौरवको योजना हो, यसको नामोनिसानै म सुन्दिन । अर्को फास्ट ट्र्याक दु्रत मार्गको छ, त्यसको डीपीआर पनि तयार भएको छैन । पाँच वर्षमा गर्छु भनिएको त छ, तर कसरी गर्ने आधार देखाइएको  छैन । यस्ता धेरै विकासका योजनाहरुमा यो बजेट बोलेकै छैन । विगतमा बाँडिएका सपनाहरु खासै यसमा परेको देखिन, जनताले विश्वास गर्ने अवस्था नै म देख्दिन ।

५ वर्षे सरकार भएकाले दुई वर्षपछिको बजेटले चुनावमा गरिएका प्रतिबद्धताअनुरुप नै दिशा लिने अर्थमन्त्रीले बताउनुभएको छ त ?

हेर्नुहोस्, मर्निङ सोज द डे भनिन्छ । सुरुवातले भोलिको भविष्य देखाउँछ । तर, अहिले कुनै त्यस्तो संकेत देखिन सकेको छैन । विगतमा बाँडिएका वाचाहरु केवल सपना मात्र थिए भ्रम मात्र रहेछ भन्ने देखाएको छ । दुई वर्षमा केही भन्ने आशा भरोसा गर्ने कुनै आधार नै छैन ।

सरकारले अब ५ वर्षे म्यान्डेट पाएकै छ, तपाईंहरुको भूमिका प्रतिपक्षीय नै हुने होला होइन ?

हामी लोकतन्त्र र संसदीय व्यवस्था मान्ने दल हौ । हामी लोकतन्त्रवादी भएका कारणले जनताको जनादेश हामीले स्वीकार्नैपर्छ र स्वीकारेकै छौं । अहिले सरकार चलाउन जनताले उनीहरुलाई बहुमत दिएका छन् । त्यसैले संसदीय व्यवस्थामा विश्वास राख्ने हामी अहिले हेर्ने, राम्रो काम गरे सपोर्ट गर्ने हो । हामी प्रतिपक्षमा छौं भनेर खाली विरोध मात्र गर्ने होइन । राम्रो गरे सहयोग समर्थन रहन्छ, खराब गरे खबरदारी रहन्छ ।

राम्रो गरे त ५ वर्षपछि पनि गाह्रो पर्ला नि होइन ?

अहिले नै के होला अड्कल नगरौं । भर्खर सुरुवात भएको छ । अहिले काम गर्न दिऔं । जनताले पनि जनादेश दिएका छन् । सपना बाँडेकाले जनताले पनि केही गर्लान् भन्ने ठानेर मत दिएको अवस्था छ । त्यसैले यो सबै विषय समयसँगै जनताले बिस्तारै मूल्यांकन गर्छन् । जनताले पनि बुझ्न थालिसकेका छन् । राम्रो गर्छन् भन्ने आशा छैन । बिस्तारै सबै विषय जनतामा छर्लङ्ग हुनेछ । म पनि जनताको जनादेश पाएरै आएको हुँ ।  जनताले राम्रो गर्ने–नगर्ने छु्ट्याइहाल्छन् ।

भनेपछि कांग्रेस रचनात्मक वा भनौं प्रतिरक्षात्मक अवस्थामा अगाडि बढ्छ ?

हामी देशको विकास र समृद्धिका पक्षधर हौं । देशको हितमा काम हुन्छ भने हामीले कुशल प्रतिपक्ष बनेर सहयोग गर्छांै । तर सत्तालाई दुरुपयोग गरेर जनता, समाज र देशविरोधी काम गरे हामी चुप बस्दैनौं । बहुमतको घमण्ड बढेर कुनै पनि बहानामा अधिनायकवाद लाद्न सकिन्छ, तानाशाह लाद्न सकिन्छ भन्ने लागेर स्वेच्छारी बनेर काम गरे वा त्यस्तो दुष्प्रयास गरे हामी चुप बस्दैनौं । तर आज पनि त्यस्तो हुँदैन भन्ने आशामा छौं । यदि त्यस्तो ठाने घाटा उनीहरुलाई नै हुनेछ । इतिहासलाई हामी हेर्न सक्छौं जनताका विरुद्ध अगाडि बढ्ने दुष्प्रयास गरेकाहरु आफैं नासिएका छन्, त्यो गर्छु भनेर अरुले पनि नसोचे हुन्छ ।

के कांग्रेसले अधिनायकवादको खतरा देखेको हो ?

होइन अधिनायकवादको खतराभन्दा पनि त्यस्तो त अहिले सम्भव पनि छैन । यदि कसैले सोच्छ भने पनि त्यो जनताले स्वीकार्ने छैनन् । तर दुई तिहाई वा बहुमतको घमण्ड भने बढेको देखिएको छ । त्यस्तो आभास सुरु भइसकेको छ । अहिले प्रशासनतन्त्र डामाडोल छ । सरकार बन्ने समयमै हेरौं एउटा कर्मचारीले प्रधानन्यायाधीशलाई हटाउने पत्र काट्छ, यसपछिका धेरै घटनाहरु हामी हेर्न सक्छौं यो सरकारमा दम्भ बढिरहेको छ । वरिष्ठ सचिवहरुलाई जगेडामा राखिएको छ । तर, हामी यति भन्न चाहन्छौं दुई तिहाइ वा बहुमतको घमण्ड कसैले नदेखे हुन्छ । विगतमा हामीले पनि दुई तिहाइ पाएका थियौं, पटक–पटक बहुमतको सरकार बनाएका थियौं । जनताको मतको सम्मान गर्छौं । विगतमा पनि माओवादी पहिला भएकै हुन्, त्यसपछि तेस्रो बन्न पुगे । त्यसैले को पहिलो, को दोस्रो भन्ने कुरा भविष्यले बताउला । अहिले कसैले दुई तिहाइको घमण्ड नदेखाएकै राम्रो हुन्छ । जनताले मूल्यांकन गर्दै जानेछन् ।

सरकारको आलोचना त प्रतिपक्षले धर्म ठान्ला, अनि आफ्नै पार्टीमा चाहिं यति धेरै बेमेल किन ?

कहाँ बेमेल छ, मैले त बेमेल देखेको छैन । पार्टी त एउटै छ । हो, केही मुद्दाहरुमा मत मिल्नेहरु एक ठाउँ हुन सक्लान् । अर्को कुरा लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । पार्टीभित्र समूहहरु हुनु राम्रो हो, यसले आन्तरिक प्रतिस्पर्धा हुन्छ । मैले बुझ्न सकेको छैन, यसलाई किन गलत मानिएको छ । हो, पार्टीले लिने निर्णय कार्यान्वयन तहमा जाँदा हामी मिलेर जाने हो । नत्र पार्टीमा त विचारहरु फरक आउनु प¥यो नि म त यसलाई लोकतन्त्रको गहना ठान्छु । पार्टीमा आन्तरिक लोकतन्त्र रहेन भने त नेतृत्व तानाशाह हुन्छ । यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । म पनि चुनावमा एउटा समूहबाट कोषाध्यक्ष लडेको हुँ । जीत–हार फरक कुरा हो । जित्नेलाई हार्नेले सहयोग गर्नुपर्छ र जित्नेलाई सबैलाई मिलाएर लग्न सक्नुपर्दछ ।

तर पार्टीभित्र त नेतृत्वको नै आलोचना बढेर गएको छ त ?

पक्कै पनि नेतामा कमी–कमजोरी छन् । कमी–कमजोरी हँुदैन भन्ने होइन । खासगरी चुनावी परिणामपछि केही चिन्ता बढेको छ । अप्रत्याशित खालको नतिजाले सबैलाई चिन्ता बढाएको हो । तर, हामीले चुनाव हारे पनि कांग्रेसले जितेको छ । कांग्रेसकै नेतृत्वमा संविधानसभाको निर्वाचन भयो, संविधान बन्यो, कांग्रेसकै नेतृत्वको सरकारले स्थानीय, प्रदेश र संघीय निर्वाचन गराएको छ । यो हाम्रो जित हो । तर परिणाम हाम्रो अनुकूल आएको छैन । ठूलो हार व्यहोर्नुपरेको छ  । हो, हारेपछि नेतृत्वले  स्वीकार्नुपर्दछ । जिम्मेवारी लिनुपर्दछ । मेरो तहबाट लिनुपर्ने  जिम्मेवारी म लिन्छु । बोर्डका साथीहरुले लिनुपर्ने जति लिनुपर्दछ । पदाधिकारीहरुले पनि लिनुपर्दछ । सभापतिले पनि जिम्मेवारी लिनुपर्दछ । उहाँले के सोच्नुभएको छ भगवान् जानोस्, नैतिक बल भनेकै जिम्मेवारी लिनु हो, लोकतन्त्रमा हार–जितलाई सामान्य रुपमा लिनुपर्दछ ।

तपाईं मधेश बुझेको नेता, के तपार्इंलाई लाग्दैन मधेशमा कांग्रेसको रणनीति फेल खाएको थियो भन्ने ?

रणनीति वा कार्यनीति जे भनौं यसमा कमजोरी भएकै हो । विगतमा कांग्रेस मधेश भनेको एकअर्काका पर्यायवाची शब्द थियो । हामी इतिहास हेर्न सक्छौं जब मधेशले साथ दिँदा कांग्रेस  सरकारमा गएको छ । बहुमत पनि प्राप्त गरेको छ । मधेशको मुद्दा बोक्ने पार्टी कांग्रेस मात्रै थियो । मधेशको मुद्दा कांग्रेसले बोक्दै आएको छ, विगतमा पनि त्यही मुद्दा कांग्रेसले बोकेकै कारण केपी ओली राष्ट्रवादी बन्नुभयो, उहाँहरुको मधेश हेर्ने दृष्टिकोण नै फरक थियो । तर, कांग्रेसले बीपीको समयदेखि नै हिमाल, पहाड, तराई मधेश एउटै हो भनेर हिँडेको हो । कांग्रेस मधेश मुद्दाबाट कहिल्यै बिचलित भएन, तर मधेशविरोधी त्यही मुद्दाकै कारण एमालेले जित्यो । सरकारमा रहँदा कांग्रेसले एमालेले विरोध गर्दा पनि मधेशका जायज मागलाई लिएर संविधानमा संशोधन पनि  ग¥यो  ।

तर विडम्बना त्यो बेला नाकाबन्दी गर्ने र नाकाबन्दीको विरोध गर्ने दलहरु एक ठाउँमा छन् । सरकारमा पनि छन् । हो, यो कुरामा भने कांग्रेस चुक्यो । यो रणनीतिमा कांग्रेस चुक्यो । लोकतान्त्रिक गठबन्धन बनायौं तर त्यस्तो वाम जस्तो बनेन । हामीले गलत रणनीति लियौं, हामीले गरेको गठबन्धन कस्तो भयो भने मधेशकै नेता महन्थ ठाकुर, उपेन्द्र यादवलाई हामीले जिताउनुपर्ने । डा. बाबुराम भट्टराई, कमल थापा, पशुपति शमशेर राणा उठेको ठाउँमा हामीले उम्मेदवार नउठाउने तर हाम्रा नेताहरु सिटौला उठेको ठाउँमा अर्को उम्मेदवार लडाउने, बिमलेन्द्र निधिसँग राजेन्द्र महतोलाई उठाउने र सबै मिलेर जिताउने हामीले यस्तो गठबन्धन बनायौं । महतोदेखि राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गरेर जिताउने काम भएको छ । एमालेलाई पनि भित्रभित्र सहयोग भएको थियो भन्ने कुरा अहिले पुष्टि भएको छ । मधेशका मसिहा ठान्नेहरु अहिले जसरी सरकारमा गएका छन्, त्यसैले उनीहरु ढोंगी रहेको प्रमाणित भएको छ । पद र पैसाका लागि जनताले यसरी पनि झुक्याउँदा रहेछन् । तर पनि हाम्रोबाट कमजोरी भएकै हो, हाम्रो रणनीतिमा कमजोरी भएकै हो ।

भनेपछि अब कांग्रेस एक्लै हिंड्छ होइन ?

खासगरी अब मुलुकमा दुई धुव्र देखिएको छ । वामपन्थीहरु एक ठाउँ आइरहेका छन् । आफूलाई लोकतन्त्रवादी ठान्नेहरुसँग मिल्न कांग्रेस तयार नै छ । पार्टी भन्ने फरक कुरा हो । लोकतन्त्रको मूल्य, मान्यता र पद्धतीमा विश्वास राख्नेहरु मिलेर जान सकिन्छ । विगतमा कांग्रेसबाट फुटेर खुलेका मधेशी पार्टीहरु पनि कांग्रेसमा मिलिरहेका छन् । विजय गच्छदार पनि फर्किएका छन् । अरु प्नि फर्किने क्रम जारी छ । महन्थ ठाकुरजी पनि कांग्रेसबाटै जानुभएको हो, उहाँहरु लोकतन्त्रको मूल्य–मान्यतामा विश्वास राख्नुहुन्छ मिलेर जान सकिन्छ । तर, कांग्रेस को आउँछ, कसले सहयोग गर्छ भनेर चिन्ता लिंदैन । जनताले जुन म्यान्डेट दिएका छन् त्यसमा रहेर कांग्रेस अघि बढ्छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार