जे हामीसँग छ, बेच्ने त्यही हो

जे हामीसँग छ, बेच्ने त्यही हो
राजेन्द्र पराजुली

गत अप्रिलको मध्यताका भारतीय चर्चित पत्रिका ‘दि हिन्दु’मा ‘नेपाल घुम्ने भारतीय पर्यटकको संख्यालाई चिनियाँले उछिने’ भन्ने आशयमा एउटा समाचार छापिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ– सन् २०१८ को पहिलो तीन महिना (जनवरी–मार्च) मा १ लाख ४ हजार ६ सय ६४ भारतीय पर्यटकले नेपाल भ्रमण गरे भने सोही अवधिमा चिनियाँ पर्यटकको संख्या १ लाख ६० हजार ८ सय ३२ पुगेको छ । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा उपलब्ध होटल–रेस्टुराँ तथा यातायातको सुविधा बढाउन सक्दा यी दुई विशाल जनसंख्या भएका देशका पर्यटक सहजै नेपाल भ्रमणमा आउनका लागि प्रतिस्पर्धा गर्नेछन् । उसै पनि नेपाललाई समृद्ध पार्ने र स्वदेशमै रोजगारीको अवस्था बनाउने क्षेत्र भनेकै पर्यटन र कृषि हो । 

आफूसँग जे छ बेच्ने त्यही नै हो । जुन चिजले मान्छेको ध्यानाकर्षण गर्न सकिन्छ, पल्काउने त्यसमै हो । अनि, बेच्ने के भनेर जोड दिने वस्तु पनि त्यही हो, जुन वस्तुको माग बढी छ वा धेरैले जेलाई मन पराउँछन् । हामीले बेच्ने भनेका कृषिजन्य पदार्थ तथा सेवा नै हो । सेवा क्षेत्रलाई बृहत् अर्थमा हेर्न सकिन्छ– हेर्नुपर्छ । पर्यटक संख्या बढाउनमा मात्र सीमित रहनुपर्छ भन्ने छैन ।

अनुमान गरिन्छ, सन् २०१७ मा झण्डै १४ करोड चिनियाँ नागरिक घुम्नकै लागि भनेर देश बाहिर गएका थिए । चिनियाँ नागरिकलाई बुद्ध धर्म र लुम्बिनीबारे निकै चासो छ । चिनियाँहरु अधिकांश बुद्ध धर्मावलम्बी छन् । तिनलाई बुद्ध जन्मस्थल लुम्बिनीबारे राम्ररी जानकारी दिने हो भने नेपाल तिनको पहिलो गन्तव्य बन्न सक्छ । घुम्न निस्कने चिनियाँको संख्या दिन–प्रतिदिन बढ्दो छ । त्यसैगरी भारतीय नागरिक पनि घुमफिरलाई निकै महत्व दिन्छन् । सवा अर्ब जति जनसंख्या रहेको त्यस मुलुकमा हिन्दुको संख्या अधिक छ । तिनलाई पशुपति, मुक्तिनाथजस्ता चर्चित धार्मिक क्षेत्रको भ्रमण गराउन सक्दा राम्रो आम्दानी हुन्छ । यसरी पर्यटक आगमनबाट प्राप्त हुने आम्दानी कुनै ठूलो उद्योगधन्दाले दिने प्रतिफलभन्दा दिगो हुन्छ । यस्तो आम्दानी जनस्तरमा फैलन जान्छ, अर्थात् यस्तो पैसा समान वितरण हुने सम्भावना रहन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि निकटतम् छिमेकी भारत र भर्खरै अर्को छिमेकी चीनको भ्रमण सम्पन्न गरेका छन् । ती दुवै भ्रमणबारेका धारणा पनि उही पुरातन नै रह्यो । प्रधानमन्त्रीको भ्रमणलाई सरकारले अत्यन्तै सफल ठान्यो भने प्रतिपक्षले असफल वा तालिकाबद्ध काम भन्यो । गम्भीर ढंगमा भ्रमणको लेखाजोखा कसरी गर्नुपथ्र्यो भन्ने सवालमा सरकारका साथै प्रतिपक्षी पनि चुक्न पुगे । केही मान्छे वा जान्नेसुन्ने, जो दलका संगठनमा कतै छैनन्, तिनले भ्रमणमा जानुअघि र फर्केपछि पनि आफ्नो प्रतिक्रिया दिएका छन् । तर, दुर्भाग्य यस्ता प्रतिक्रिया ओझेल पर्न गएका छन् । किनकि, हामी सम्यक प्रतिक्रियालाई कहिल्यै जायज नठान्ने रोगबाट ग्रसित छौँ ।

कुन प्रतिक्रिया ठीक वा कुन बेठीक भनी केलाउनु यो आलेखको उद्देश्य होइन । यसको उद्देश्य केवल मुलुकका कार्यकारीले छिमेकी देशको भ्रमण गर्दा कस्ता सवालमा केन्द्रित हुनु हितकर हुन सक्छ भन्ने हो । भारत र चीनसँग हाम्रो सम्बन्ध सन्तुलित राख्नुपर्छ भन्ने कूटनीतिज्ञ वा विश्लेषकहरुको लामै सूची बन्न सक्छ । के हो सन्तुलित सम्बन्ध भनेको ? नेपालले ती दुई देशसँग कस्तो सहमति वा समझदारी ग¥यो भने सन्तुलित सम्बन्ध बन्छ ? यसको जवाफ पाउन गाह्रो छ । छिमेकी मात्र होइन कुनै पनि मुलुकसँग नेपालले राख्ने सम्बन्ध भनेको समानताको हो । आफ्नो प्रतिष्ठालाई कायमै राखी सम्बन्ध विस्तार गर्नु वा निर्माण गर्नु आवश्यक छ । यो समय कुनै पनि मुलुक हरेक कुरामा आत्मनिर्भर हुन नसक्ने समय हो । कुनै न कुनै वस्तुमा अरु देशसँग निर्भर नरहने देश अब भेट्न असम्भव छ । कुनै त्यस्तो देश भेटियो भने त्यसलाई अपवाद मानिदिए हुन्छ । र, त्यस देशका जनतालाई अभागी वा अभावमा बाँच्न बाध्य नागरिक मानिदिए हुन्छ । त्यसकारण पनि मित्र राष्ट्रहरुसँगको सम्बन्ध अब अन्तरनिर्भरतामा आधारित हुनुपर्छ । अन्तरनिर्भरताले नै एकअर्काप्रति विश्वस्त बन्ने अवस्था निर्माण गर्छ । परनिर्भरता जति खराब हो त्योभन्दा पनि खराब कुनै एक मुलुकसँगको निर्भरता हुन्छ ।

देशलाई अन्तरनिर्भर बनाउने तथा व्यापारघाटा कम गर्ने र जनजीविकालाई सहज पार्ने उपाय भनेकै आफूसँग भएको वस्तुको विक्रीका निम्ति बजार निर्माण वा त्यसको खोजी गर्नुसँग जोडिएको हुन्छ । के छ नेपालमा, जसलाई कम्तीमा पनि दुई ठूला छिमेकमा बेच्न सकिन्छ ? यो तथ्यमा देशका उच्च अधिकारीहरु नै निश्चित नभई गरिने कुनै पनि भ्रमण र त्यसबखत गरिने सहमति–समझदारी–सम्झौतालाई सफल मान्न सकिन्न । प्रधानमन्त्री ओलीले दुवै छिमेकीसँग नेपालको विकासमा सहयोग गर्न अनुरोध गरेका छन् । चीनले त थुप्रै जलविद्युत् आयोजना, सडक, रेललगायतका क्षेत्रमा लगानी गरिदिने बचन दिएको छ । नेपाललाई चीनसँग नजिक भएको वा चीनले नेपाल र नेपालीको हितको काम गरिदिएको कुरालाई त्यति सहज नमान्ने भारतले पनि नेपालमा उसैगरी पूर्वाधारमा लगानी गरिदिने बताएको थियो ।

दुवै देशले नेपाललाई आआफ्नो सामरिक महत्वको मुलुक मान्छन् । चीन चाहन्छ, नेपाल एक चीन नीतिमा अडिग रहोस् र यो सानो देशबाट चीनविरोधी गतिविधिमा प्रोत्साहन नहोस् । भारत पनि चाहन्छ, नेपाल धेरै आफूतिरै ढल्कियोस् । यो देशमा कुनै पनि महत्वपूर्ण र दूरगामी निर्णय हुँदा आफूसँग परामर्श गरियोस् । भारतको यही पछिल्लो चाहनाका कारण ऊसँग कतिपय नेपाली खुसी छैनन् । चीनलाई नेपालको आन्तरिक मामिलामा उतिविधि चासो छैन, यद्यपि पछिल्लो समय यस्तो चासोमा वृद्धि हुन थालेको महसुस गर्न थालिएको छ ।

यसरी दुई ठूला तथा उन्नतिको तीव्र दौडमा लागेका मुलुकबाट नेपालले कसरी फाइदा लिन सक्छ भन्ने सवालमा सरकार, राजनीतिक दल, कूटनीतिक क्षेत्रलगायतको ध्यान पुग्न नसक्नु हामी सबैको दुर्भाग्य हो । मुलुककै प्रतिनिधित्व गर्दै ती देशमा पुगेका अधिकारीहरुले तिनले जे दिन्छन् त्यसैमा हात थाप्ने होइन, आफूलाई आवश्यक कुरा के हो त्यसको माग गर्ने हो । यस्ता भ्रमणका क्रममा ठूलो कुरो र काम केही पनि गर्नु पर्दैन । यत्ति गरे पुग्छ– हाम्रो कृषि उपज चीन निर्यात गर्नु, भारतीय र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने वातावरण तयार पार्नु । मुख्य रुपमा यही दुई कामका निम्ति नीति–नियम तयार पार्ने र त्यसका लागि सकारात्मक वातावरण बनाउने हो भने नेपालको समृद्धि टाढा छैन ।

चीन यस्तो मुलुक हो जसले चामल, गहुँ, भटमासको तेल, फलफूल आयातमा वार्षिक करिब ४० अर्ब अमेरिकी डलर खर्च गर्छ । नेपालमा यस्ता वस्तुको व्यावसायिक उत्पादन गर्ने र निर्यातमा सहज नीति तयार गर्न चीन सरकारसँग छलफल गर्ने हो भने युवाको ध्यान कृषिमा अवश्य जानेछ । निर्वाहमुखी कृषि छोटो समयमै व्यावसायिक बन्न थाल्नेछ । मधेसका लाखाँै बिघा बाँझो जमिनमा हरियाली आउनेछ, पहाड–हिमालमा फलफूल लटरम्म हुनेछन् । यसले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणबाट चलेको मुलुकको अर्थतन्त्रमा सुधार आउने त छ नै साथमा कृषिप्रति युवाको विश्वास बढ्नेछ । ओली सरकारले आफ्नो चीन भ्रमणका क्रममा यस्ता विषयलाई महत्व दिएको देखिएन । अर्को छिमेकी भारतसँग भने यही असारको पहिलो साता द्विदेशीय कृषिमन्त्रीस्तरीय ‘कृषि क्षेत्रमा साझेदारी र सहकार्य’ गर्ने विषयमा समझदारी भएको छ, यसलाई सुखद सुरुवात मान्न सकिन्छ । अब तत्कालै चिनियाँ अधिकारीहरुसँग पनि यस्तै समझदारी गर्नु आवश्यक छ । 

चीन वा भारतले रेल नेपालमा ढिलो–चाँडो पक्कै पनि चलाइदेलान्, थुप्रै सडक पनि बनाइदेलान् । जलविद्युत्को उत्पादन तिनकै सहयोगमा भरपूरै होला र त्यसलाई बेच्न बजार खोज्नुपर्ने दिन पनि आउला । तर, त्यसले मात्र नेपाल र नेपाली नागरिकको उन्नतिको मापन गर्न सकिने छैन । ती सडक र त्यो रेलमा नेपालमा उत्पादित कृषिजन्य वस्तु विशेषगरी उत्तरतर्फ जानुपर्छ । लाखौँ भारतीय र चिनियाँ पर्यटक रेल चढेर नेपाल आउनुपर्छ । नेपालको समृद्धि यात्रा त्यसपछि नै तय हुनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार