विश्वकप फुटबल ट्रफी फेरि पनि युरोप–दक्षिण अमेरिकाकै पोल्टामा

विश्वकप फुटबल ट्रफी फेरि पनि युरोप–दक्षिण अमेरिकाकै पोल्टामा

न्यूयोर्क । विश्वकप फुटबलअन्तर्गत प्रिक्वार्टरफाइलनसम्ममा युरोप र दक्षिण अमेरिकाबाहेक सबै टोली बाहिरिएका छन् । एसियाली मुलुक जापान एवम् उत्तर अमेरिकी मेक्सिको अन्तिम १६ बाट बाहिरिएसँगै विश्व फुटबलमा राज गरिरहेका दुई महादेशले नै यस पटकको पनि ट्रफी हत्याउने पक्का भएको हो ।

जापानले विश्वकपको दाबेदार मानिएको बेल्जियमसँग सनसनीपूर्ण दुई गोलको अग्रता लिए पनि अन्तिमसम्म नतिजा जोगाउन सकेन । सोमबार सम्पन्न खेलको दोस्रो हाफ सुरु हुनेबित्तिकै जापानले बेल्जियमको पोष्टमा लगातार दुई गोल छिराएको थियो । तर, खेलको ८० मिनेटभित्रै बेल्जियमले गोल फर्कायो र अतिरिक्त समयको अन्तिम मिनेटमा काउन्टर एट्याकबाट एक गोल गर्दै जापानलाई घर जाने टिकट काट्न बाध्य पा¥यो ।

यस्तै सोमबारै सम्पन्न ब्राजिलविरुद्धको खेलमा मेक्सिकोले कडा टक्कर दिए पनि पाँच पटकको विश्व विजेताको डिफेन्स लाइन छिचोल्न सकेन । दोस्रो हाफमा दुई गोल खाँदै मेक्सिको घर फर्कन बाध्य भयो । युरोप र दक्षिण अमेरिकाबाहेकबाट विश्वकपको अन्तिम १६ मा यिनै दुई मुलुक पुगेका थिए । मेक्सिको लगातार सातौं पटक अन्तिम १६ बाट बाहिरिएको हो भने जापान तेस्रो पटक समूह चरण पार गर्न सफल भयो । सन् २००२ र २०१० मा पनि जापानले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

यसअघि सन् २००२ मा घरमै भएको खेलमा दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा गर्नु नै कुनै पनि एसियाली टोलीको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो । तर, यस पटक एसियाली टोलीले केही अप्रत्याशित नतिजा भने निकाल्न सफल भए । कोरियाले समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई २–० गोलको अन्तरले हराउँदै घर फर्कन बाध्य पा¥यो भने इरानले अफ्रिकी पावर हाउस मोरोक्कोलाई हरायो । जापान दक्षिण अमेरिकी शक्ति कोलम्बियालाई हराएर एवम् अफ्रिकाको सेनेगललाई बराबरीमा रोकेर दोस्रो चरण पुगेको थियो । तर, यी नतिजाले क्षणिक आनन्द दिए पनि एसियाली, अफ्रिकी या उत्तर अमेरिकामा विश्वकप ट्रफी भित्रिन भने अझै लामै समयको प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

सोमबारसम्म दुई दक्षिण अमेरिकी र चार युरोपेली टोली क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् भने चार टोलीको भाग्य फैसला मंगलबार हुँदै छ । जसमा तीन युरोपेली र एक दक्षिण अमेरिकी छन् । स्विडेन र स्विजरल्याण्ड एवम् कोलम्बिया र बेलायतको खेलबाट जितेर अघि बढ्ने दुई टोली क्वार्टरफाइनलमा भिड्नेछन् । त्यसबाहेक फ्रान्स र उरुग्वे, रसिया र क्रोयसिया, ब्राजिल र बेल्जियमको क्वार्टरफाइनल भिडन्त सोमबारसम्ममा टुंगो लागिसकेको छ । अन्तिम १६ मा पुगेका दक्षिण अमेरिकी टोलीमध्ये दुई पटकको विजेता अर्जेन्टिना भने फ्रान्ससँग ४–३ गोल अन्तरसहित पराजित भएको छ ।

विश्वकपका २० संस्करणमध्ये ९ ट्रफी दक्षिण अमेरिकी टोली र ११ युरोपेली टोलीले हात पारेका छन् । विश्वकपको स्थापनादेखि युरोप र दक्षिण अमेरिकी टोलीले आलोपालो ट्रफी जित्ने संयोग रहँदै आएकोमा सन् २००२ यता तोडिएको छ । २००२ मा ब्राजिलले विश्वकप उचालेयता कुनै पनि दक्षिण अमेरिकी टोली विजयी बन्न सकेका छैनन् । २०१४ मा अर्जेन्टिना फाइनल पुगे पनि अन्तिम समयमा जर्मनीसँग पराजित हुँदै उपविजेतामा सीमित भयो ।

यसपाली समूह चरणमा अहिलेसम्म विश्वकप जित्न नसकेका टोलीले केही उत्साहजनक नतिजा निकाले पनि प्रिक्वार्टरफाइनलसम्म पुग्दा त्यो कायम रहन सकेको छैन । घरेलु टोली रसियाले सन् २०१० को विश्व विजेता स्पेनलाई पेनाल्टी सुट आउटमा घर फर्कन बाध्य पारे पनि ट्रफी जोगाउन सक्नेमा फुटबल पण्डितहरु विश्वस्त छैनन् । त्यस्तै, धेरै अपेक्षा गरिएको एवम् विश्व बरियताको तीन नम्बरमा रहेको बेल्जियमको जापानसँगको खेल आधारमा विश्वकप जित्ला भनेर पत्याउन सक्ने आधार देखिएको छैन । फुटबलको सुपर पावर ब्राजिललाई क्वार्टरफाइनलमा पाखा लगाउन बेल्जियमले जादु देखाउन सक्नेमा विश्लेषकहरु आश्वस्त छैनन् । त्यसैले अहिलेसम्मको खेल आधारमा यो पटकको ट्रफी पनि पूर्वविजेताहरु ब्राजिल, फ्रान्स, बेलायत या उरुग्वेकै पोल्टामा पर्ने विश्लेषण हुन थालेका छ ।

साथै वर्तमान विश्व फुटबलका महान् हस्तीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको विश्वविजेता बन्ने सपनामा यसपाली पनि तुषारापात भएको छ । उमेर ३० नाघिसकेका यी खेलाडीलाई आगामी विश्वकपमा देख्न पाइने–नपाइने पनि निश्चित छैन ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार