क्विन्समा नयाँ नेता, २८ वर्षीया युवतीले अन्त्य गरिदिइन् क्राउली राज

क्विन्समा नयाँ नेता, २८ वर्षीया युवतीले अन्त्य गरिदिइन् क्राउली राज
एलेक्जेन्द्रिया आकासियो कोर्टेज । तस्वीर– एजेन्सी

न्यूयोर्क । जुन २६ को साँझसम्म पनि क्विन्स र ब्रोङ्स क्षेत्रमा बसोवास गर्ने डेमोक्रेटिक पार्टीका अगुवा नेताहरु ढुक्क थिए– आगामी नोभम्बरमा हुने हाउस (संसद्)को चुनावमा वर्तमान सांसद जोसेफ क्राउलीलाई नै मतदान गर्न पाइन्छ । दुई दशकदेखि यो क्षेत्रबाट चुनाव जित्दै आएका क्राउली अब सांसद मात्र होइन तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) का सभामुख बन्ने आम अपेक्षा थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति अमेरिकी मतदाताको असन्तुष्टि हाउसको आउँदो चुनावमा प्रतिविम्बित हुने विभिन्न मत सर्वेक्षणहरुले देखाएका छन् ।

डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको अवस्थामा अहिलेकी विपक्षी दलकी नेतृ एवम् पूर्वसभामुख न्यान्सी पिलोसीलाई फेरि सभामुखमा फर्काउन पार्टीभित्र सहमति हुन नसक्ने कारण क्राउलीले अवसर पाउने अनुमान गरिएको थियो । त्यसैको तयारीस्वरुप गत जनवरीमा क्राउली हाउस डेमोक्रेटिक ककसको अध्यक्षसमेत चयन भएका थिए । अब सभामुखसम्म पुग्नका लागि क्राउलीलाई पहिलो चुनौती थियो– आफ्नै दलभित्रबाट नोभेम्बरमा हुने चुनावका लागि टिकट पाउनु । डेमोक्रेटिक पार्टीका क्विन्स अध्यक्षसमेत रहेका क्राउली आफ्नो दुई दशक लामो बर्चस्व र पार्टीभित्रको प्रभावका कारण बाटो नछेकिनेमा ढुक्क थिए ।

तर, जुन २६ को प्राइमरी निर्वाचनले क्राउली र डेमोक्रेटिक पार्टीको संस्थापनलाई नराम्रो झड्का दियो । क्राउलीलाई पार्टीभित्र चुनौती दिएकी २८ वर्षीया एलेक्जेन्द्रिया आकासियो कोर्टेजले सानदार जित निकालिन् । डेमोक्रेटिक पार्टीका रजिष्टर्ड मतदाताले खसाएको भोटमा कोर्टेजले १५ हजार ८ सय ९७ मत पाइन् भने क्राउली ११ हजार ७ सय ६१ मतमा सीमित भए । कोर्टेजले कुल खसेको मतको ५७.४८ प्रतिशत मत पाइन् भने क्राउलीले ४२.५२ प्रतिशत । डेमोक्रेटिक पार्टीका अत्यन्त प्रभावशाली नेताले राजनीतिमा कुनै ठूलो अनुभव नै नभएकी युवतीसँग १५ प्रतिशत बिन्दुको मतान्तरमा हार्नुलाई अमेरिकाका सबै राजनीतिक पण्डित र ठूला मिडियाले यो प्राइमरीको सबैभन्दा अप्रत्याशित नतिजाको संज्ञा दिएका छन् ।

क्राउलीले सन् १९९९ देखि यो क्षेत्रको सांसदको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । पहिलो न्यूयोर्क–७ कंग्रेसनल डिस्ट्रिक्ट (निर्वाचन क्षेत्र) अन्तर्गत रहेको यो भूभाग सन् २०१६ मा गरिएको नयाँ सीमाङ्कनपश्चात् न्यूयोर्क–१४ कंग्रेसनल डिस्ट्रिक्टअन्तर्गत राखिएको थियो । यो निर्वाचन क्षेत्रमा पूर्वी ब्रोङ्स एवम् क्विन्सको उत्तर मध्य भूभाग पर्छ । न्यूयोर्कमा रहेका अधिकांश नेपालीसमेत यही क्षेत्रमा बस्छन् । उनीहरुमध्ये अधिकांश अहिले क्राउलीलाई नै भोट हाल्दै आएका थिए । तर, यो प्राइमरमा धेरै नेपाली (विशेषगरी महिला) कोर्टेजतिर तानिए ।

आप्रवासीहरुको बलियो बसोवास रहेको यो क्षेत्रमा डेमोक्रेटिक पार्टीको जबर्जस्त बहुमत छ । पछिल्ला तीन दशक यताका हरेक चुनावमा डेमोक्रेटिक उम्मेदवारले ८० प्रतिशत हाराहारी मत पाउँदै आएका छन् । क्राउलीले नेपाली लगायत यहाँको आप्रवासी जनसंख्यासँग पनि नजिकको सम्बन्ध राखेका कारण डेमोक्रेटिक पार्टीका एक्लो नेताका रुपमा यहाँ दुई दशकसम्म राज गरेका थिए । अहिले तिनै आप्रवासीले कोर्टेजलाई क्राउलीको विकल्प छनोट गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ५० प्रतिशत स्पेनिसभाषीको बसोवास छ । त्यसपछि १८ प्रतिशत गोरा, १६ प्रतिशत एसियन, ११ प्रतिशत काला, ४ प्रतिशत अन्य र झण्डै दुई सयमा एक जना आदिवासी अमेरिकीको बसोवास छ ।

ल्याटिनो मूलकी कोर्टेज ब्रोङ्सका स्थानीय पिता र पोरेतो रिकोबाट आएकी आमाको कोखबाट सन् १९८९ को अक्टोबरमा दक्षिणी ब्रोङ्समा जन्मिएकी थिइन् । उनी अश्वेत एवम् स्पेनिस मूलभाषी रहेकै कारण यहाँका आप्रवासी मतदाताको विश्वास जित्न सफल भएको टिप्पणी धेरैले गरेका छन् । तर, कोर्टेज आफैं भने यो भनाइसँग सहमत छैनन् । उनी प्रत्येक मूल एवम् समुदायका व्यक्तिले आफूलाई सहयोग गरेको दाबी गर्छिन् । यो निर्वाचन क्षेत्रका हरेक घर–घर पुगेर आफूले भोट मागेको उनले बताएकी छिन् । उनको जितबारे अनेक परिचर्चा भएपछि केही दिन अघि उनले तलुवा छिँड परेको थोत्रा एक जोर जुत्ताको फोटो ट्विटरमा राख्दै लेखिन्– ‘धेरैले मलाई निर्वाचन क्षेत्रको जातीय सन्तुलनका कारणले जितेको टिप्पणी गरेका छन् । यो मूलतः गलत हो । हामीले सबै समुदायबाट सहयोग पाएका छौं । नपत्याए मेरा यी एक जोर जुत्ता हेर्नुहोस् । मैले यी जुत्ता लगाएर पाइतालामा पानी नछिरुन्जेल घरका ढोकाहरु ढक्ढक्याइरहें । सत्यलाई स्वीकार्नुहोस् । यो प्रतिस्पर्धाका लागि हामीले धेरै मेहनत गरेका थियौं । त्यसैले जित हात पा¥यौं ।’

प्राइमरी निर्वाचन अभियानमा भोट माग्न उनले दुई मिनेटको भिडियो बनाएर ट्विटरमा राखेकी थिइन् । त्यसमा उनले आफ्नो संक्षिप्त पृष्ठभूमिसहित राजनीतिमा आउनुका कारण खुलाएकी छिन् । एक सामान्य कामकाजी परिवारका पक्षमा राजनीतिले कहिल्यै ध्यान नपु¥याएको आरोपलाई उनको मध्यमवर्गीय पारिवारिक विगतले बल दिएको छ । उनका आर्किटेक्ट पिता सन् २००८ मा क्यान्सरका कारण बितेका थिए । न्यूयोर्कमै हाइस्कुल अध्ययन गरेकी कोर्टेजले बोस्टन विश्वविद्यालयबाट अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छिन् । विश्वविद्यालयबाट ग्राजुएट भएपछि उनले आमालाई घर चलाउन सघाउन बार टेन्डरको काम गरेकी थिइन् । त्यहीँ काम गर्दागर्दै आफू जस्तै कामकाजीहरुको पक्षमा आवाज उठाउने अठोटका साथ उनी राजनीतिमा हाम फालेकी हुन् ।

उनले सबैका लागि मेडिकेयर, आवासलाई मानवअधिकारको अंग, युवालाई सरकारी रोजगारीको सुनिश्चितता, बन्दुक नियमन एवम् घातक हतियारमा प्रतिबन्ध, कलेजमा निशुल्क पढाइ, जलवायु परिवर्तनविरुद्ध एकता, कर्पोरेट दाताबिनाको चुनावी अभियान, महिला अधिकार लगायतका मुद्दा अघि सारेकी छिन् । अमेरिकामा लोककल्याणकारी राज्यको जबर्जस्त बहस चलाइरहेका समाजवादी सिनेटर बर्नी स्यान्डर्सको बलियो पक्षधरका रुपमा कोर्टेजले आफूलाई प्रस्तुत गरेकी हुन् ।

उनी आफूलाई सोसियलिष्ट डेमोक्रेटका रुपमा चिनाउन चाहन्छिन् । उनी डेमोक्रेटिक सोसलिष्ट अफ अमेरिकाकी सक्रिय सदस्यसमेत हुन् । यो समूहले सन् २०१६ को राष्ट्रपति निर्वाचनको डेमोक्रेटिक प्राइमरीमा स्यान्डर्सलाई सहयोग गरेको थियो । स्यान्डर्सको चुनावी अभियानमा कोर्टेज आफैं पनि सक्रिय अभियन्ता थिइन् । २०१६ को राष्ट्रपति निर्वाचनपछि मानव अधिकारको वकालत गर्दै उनले कारमार्फत अमेरिकाभर यात्रा गरिन् । फ्लिन्ट वाटर क्राइसिस, डकोटा एक्सेस पाइप लाइन लगायतबाट मानव अधिकार हनन भएको तर्फ उनले घटनास्थलमै पुगेर विरोध जनाएकी थिइन् । उनी आफू एक ‘अर्गनाइर’ र ‘एजुकेटर’को रुपमा चिनिन चाहन्छिन् । उनले गैर नाफामूलक नेसनल हिस्पानिक इन्स्टिच्युटमा ‘एजुकेटर’को रुपमा काम पनि गरेकी थिइन् । बोस्टन विश्वविद्यालयको विद्यार्थी रहेका बेला म्यासाच्युसेट्सका तत्कालीन सिनेटर टेड केनेडीको फरेन अफेयर्स एण्ड इमिग्रेसन अफिसमा इन्टर्नको अवसर पाएकी थिइन् । त्यही बेलादेखि उनको राजनीतिप्रतिको झुकाव मजबुत हुँदै गएको हो । 

प्राइमरी चुनावमा उनलाई पार्टीका ठूला नेता कसैको पनि साथ थिएन । न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुम्बो, न्यूयोर्कका दुबै जना सिनेटर चक स्हुमर, क्रिष्टिन गिल्लीब्रान्ड, न्यूयोर्क सहरका मेयर बिल डि ब्लाजियो, ११ जना युएस हाउस अफ रिप्रेजेन्टेटिभ, ३१ स्थानीय निर्वाचित अधिकारी, २७ ट्रेड युनियन लगायतले क्राउलीको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । कोर्टेजलाई डेमोक्रेटिक सोसलिष्ट अफ अमेरिकाका अलावा आगामी संसद्मा डेमोक्रेटिक पार्टीका युवा एवम् प्रोग्रेसिभ उम्मेदवारलाई जिताउने अभियान चलाइरहेको जस्टिस डेमोक्रेटको साथ थियो । साथै, स्यान्डर्सको चुनावी अभियानका स्टाफहरुले सञ्चालन गरेको ब्राण्ड न्यु कंग्रेसले पनि कोर्टेजलाई इन्डोर्स गरेको थियो ।

उनको समर्थनमा जसरी पार्टीका ठूला नेता थिएनन् एवम् ग्रासरुटबाट उम्मेदवार बनेकी थिइन् । निर्वाचन तयारीका लागि संकलन भएको उनको रकम पनि उस्तै न्यून थियो । उनले कुनै पनि कर्पोरेट दाताबाट चन्दा नलिने घोषणा आफ्नो उम्मेदवारीसँगै गरेकी थिइन् । क्राउलीले १४ लाख ८५ हजार अमेरिकी डलर चन्दा उठाउँदा कोर्टेज क्याम्पेनले ३९ हजार डलर मात्र संकलन गरेको थियो । त्यसमा पनि अझै उनको खातामा ८ हजार डलर बचत रहेको छ । कोर्टेजको प्रचार तडकभडक र हल्लाखल्लाभन्दा घरघर पुगेर मतदातालाई आफ्नो एजेण्डा बुझाउनुमा नै थियो ।

अब आम निर्वाचन अघि मतदाताको रुपमा रजिष्टर्ड हुन बाँकी नागरिकमा चेतनामूलक कार्यक्रम सञ्चालनको घोषणा उनले गरिसकेकी छिन् । नोभम्बरमा हुने हाउसको चुनावमा उनले रिपब्लिकन उम्मेदवार एन्थोनी पाप्पाससँग प्रतिस्पर्धा गर्नेछिन्् । डेमोक्र्याटको एकछत्र रहेको निर्वाचन क्षेत्रमा पाप्पासको उम्मेदवारी औपचारिकतामा सीमित हुनेछ । र, कोर्टेजले आउँदो जनवरीमा सम्भवतः सबैभन्दा कान्छी सांसदको रुपमा शपथ लिनेछिन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक रहेका क्राउलीको पराजयप्रति ट्रम्पले खुसी मनाएका छन् । ट्रम्पले ट्विट गर्दै आफ्ना राष्ट्रपतिलाई सम्मान गर्न नसक्ने क्राउलीले अहिले भेटेको बताएका थिए । तर, क्राउलीलाई रिप्लेस गरेकी कोर्टेज ट्रम्पप्रति झनै आक्रामक छिन् । राष्ट्रपति ट्रम्पले लिएका हरेक नीतिलाई उनले चुनौती दिएका छिन् । त्यति मात्र होइन, ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव हाउसमा आए आफूले समर्थन गर्न सक्ने अभिव्यक्तिसमेत उनले दिइसकेकी छिन् । वास्तवमा कोर्टेज, ट्रम्प र रिपब्लिकनलाई मात्र होइन डेमोक्रेटिक संस्थापनकै लागि कडा वैचारिक चुनौती बन्ने निश्चित छ । उनको जितले अमेरिकी मूलधारको राजनीतिमा समाजवादी चिन्तन थप जोडदार रुपले उपस्थित हुन पुगेको छ । यो नतिजाले २०२० को राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार चयनलाई नै फरक दिशा दिन सक्ने आँकलन हुन थालेको छ ।

एजेन्सीको सहयोगमा

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार