संघर्षले दिलाएको सुनिताको खुसी

संघर्षले दिलाएको सुनिताको खुसी

अमेरिकी विदेशमन्त्रीद्वारा नेपाली चेली सम्मानित

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले दिएको अवार्ड लिंदै गर्दा उनले आफ्नो विगत झल्झली सम्झिइन् । जतिबेला उपचार गर्न अस्पताल पुग्दा डाक्टर र नर्सहरुले २/३ वटा पन्जा खप्टिएर लगाएर मात्रै उनलाई छुन्थे । एचआईभी/एड्स लागेकी केटी भनेर परिवार, आफन्त र समाजले मात्र होइन राज्यले नै उनलाई घृणा गरेको महसुस हुन्थ्यो ।

हो, तिनै घृणा र तिरस्कार खेपेकी सुनिता दनुवारले आज अमेरिकासम्म आएर अवार्ड थापौंला भन्ने सायदै कल्पना गरेकी थिइन् । त्यति मात्र होइन अवार्ड प्रदान गर्दै विदेशमन्त्री पम्पियो र इभान्काले हातेमालो गरेर गला मिलाउँदा उनी हर्ष विभोर भइन् । जीवनमा अमेरिकी राष्ट्रपति निवाससम्म पुगेर सम्मान ग्रहण गरौंला भन्ने उनले कहिल्यै सोंचेका थिएनन् । ‘तर, आफूले सोच्दै नसोंचेको खुसी पनि मिल्दो रहेछ,’ उनले भनिन्– ‘आफ्नै अस्तित्वका लागि निरन्तर लडाइ र संघर्षले मलाई आज यो सफलता दिलाएको हो ।’

नेपालमा मानव बेचबिखनविरुद्ध सक्रिय रहेकी शक्ति समूहकी संस्थापक सदस्य दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गर्दै अवार्ड प्रदान गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री पोम्पियो र इभान्काले ‘ट्राफिकिङ इन पर्सन रिपोर्ट हिरो २०१८’ अवार्डले सम्मान गरेका हुन् । अमेरिकी सरकारद्वारा स्थापित विश्वकै प्रतिष्ठित मानिएको उक्त अवार्ड ग्रहण गर्नका लागि उनी नेपालबाट गत जुन २३ मा मात्रै अमेरिका आइपुगेकी हुन् ।

उनको विगतको जीवन भोगाइ र संघर्ष निकै कठिन थियो । सन् १९९५ मा जतिबेला उनलाई दलालले फसाएर बम्बईको कोठीमा बेचिदिएको थियो । ती कहालीलाग्दा दिनहरु उनी सम्झन चाहान्नन् । १६÷१७ वर्षको कलिलो उमेरमै उनले आफ्नो जीवनबाट हरेस खाइसकेकी थिइन् । त्यतिबेला जीवन अब त्यो नर्कमै सिद्धिन्छ भन्ने लाग्थ्यो उनलाई । कोठीबाट बाहिर निस्कन पाउनु त उनका लागि असम्भव थियो । कहिलेकाहीँ त्यस्तो भवितव्य पर्ने रहेछ, जसले असम्भवलाई पनि सम्भव बनाउने रहेछ । जुन सुनिताले आफ्नै जीवनमा भोगेकी छिन् ।

भारतको बम्बईमा १८ वर्षमुनिका बालिका र किशोरीहरु बेचिएको सूचना पाएपछि भारत सरकारले तत्कालीन महाराष्ट्र प्रहरीलाई बम्बईका सम्पूर्ण कोेठीमा छापा मार्न आदेश दिएको थियो । त्यही आदेशअनुसार छापा मारेर प्रहरीले उनी लगायत १८ वर्षमुनिका ५ सय चेलीलाई उद्धार गरेको थियो । त्यसमध्ये २ सय नेपाली थिए । त्यतिबेला नेपालबाहेक बंगलादेश र अन्य मुलुकका किशोरीहरुको पनि उद्धार भएका थिए । प्रहरीले उद्धार गर्नासाथ उनीहरुलाई आ–आफ्नो देशले जिम्मा लियो ।

‘नेपाल सरकारले नेपालमा एड्स भित्रिन्छ भनेर हामीलाई स्वीकार गरेन । यिनीहरु नेपाली नै होइनन्सम्म भन्यो,’ उनी सुनाउँछिन््– ‘त्यतिबेलै हामीले राज्यले गरेको घृणा र तिरस्कार खेपेका थियौं ।’ सरकारले जिम्मा नलिएपछि उनी लगायत करिब २ सय नेपाली चेलीहरु भारतकै सरकारी गृहमा बस्नु प¥यो । विभिन्न मानव अधिकारवादी संस्थाहरुको जोडबल र पहलमा उनीहरु ७ महिनापछि मात्रै नेपाल फर्किएका थिए । नेपालमा पुगेर स्वास्थ्य जाँच गर्दा धेरैलाई एचआईभी/एड्स देखियो । ‘अब हामी मर्ने भयौं भनेर निराशा सबैमा छायो । शारीरिक मात्र होइन मानसिक रुपमा पनि हामी अस्वस्थ भइसकेका थियौं,’ उनले भनिन्– ‘त्यसमाथि समाज, आफन्त र इष्टमित्रको दुव्र्यवहारले आलो घाउमा नुन छर्किएको महसुस हुन्थ्यो ।’

त्यस्तो अवस्थाबाट गुज्रिएका उनीहरुलाई केही गर्ने आँट थिएन । त्यतिबेला महिला अधिकारकर्मी रेणु राजभण्डारीले उनीहरुलाई समाजमा पुनस्र्थापना गराउने ठूलो आँट र भरोसा दिलाएकी थिइन् । अधिकारकर्मी राजभण्डारीले तत्कालै स्वास्थ्य चेतना सम्बन्धी तीनदिने तालिमको आयोजना गरिन् । ‘त्यो तालिम लिइसकेपछि हामीले पनि समाजमा केही गर्न सक्ने रहेछौं भन्ने चेत भएको थियो । त्यतिबेलै हामीले ‘शक्ति समूह’ स्थापना गरेका हौं,’ उनले भनिन्, ‘शक्ति समूह बेचिएका चेलीहरुको संगठन हो । यसमा बेचिबिखनमा परेकाहरुले मात्र सदस्यता लिन पाउँछ ।’

शक्ति समूहमार्फत उनले निरन्तर बेचबिखनमा परेकाहरुलाई उद्धार गर्ने, उनीहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम गराउने, मानव बेचबिखनविरुद्ध आवाज उठाउने, पीडक पक्षलाई कारबाही गराउने लगायत काम गरिरहेकी छिन् ।

बेचबिखन प्रभावित महिलाहरुको संलग्नतामा स्थापना भएको शक्ति समूह विश्वकै पहिलो संस्था हो । अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा पनि बेचबिखन प्रभावितहरुको पहिलो संस्थाको सूचीमा शक्ति समूह परेको छ । दनुवारले मानव बेचबिखनविरुद्धको अभियान र बेचबिखन प्रभावितहरुलाई सशक्तीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

२० वर्षदेखि उनले गरेको यो सामाजिक कामको सम्मान गर्दै अमेरिकाले उनलाई सम्मान गरेको हो । अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्ट्रमध्येबाट १० जना अधिकारकर्मीलाई उक्त अवार्ड प्रदान गर्दै आएको छ । शक्ति समूहकै संस्थापक सदस्य चरीमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । अमेरिकी विदेश मन्त्रालयले प्रत्येक वर्ष मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध जनचेतना जगाउँदै उद्धार र पुनस्र्थापना तथा कानुनी लडाइँमा सफलता प्राप्त गर्ने विश्वभरका अभियन्ताबाट १० जनालाई ‘हिरो’ छनोट गर्दछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार