जानकी मन्दिर झलमल्ल पार्न एनआरएनएको ५ करोड

जानकी मन्दिर झलमल्ल पार्न एनआरएनएको ५ करोड

जनकपुरधाम । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनकपुरधामको जानकी मन्दिर झलमल्ल पार्न ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वका हिन्दूहरुको धार्मिक धरोहरका रुपमा रहेको जानकी मन्दिरलाई विद्युतीकरणको माध्यमले सजाउने सम्झौतामा हस्ताक्षर भएको छ । धार्मिक, ऐतिहासिक तथा पर्यटनको केन्द्रबिन्दुको रुपमा रहेको जानकी मन्दिरलाई विद्युतीकरणमार्फत झलमल्ल पार्ने जानकी मन्दिर र एनआरएनए सम्झौतामा हस्ताक्षर भएको हो ।

जानकी मन्दिरको प्राङ्गणमा सोमबार जानकी मन्दिर छुठ गुठी र एनआरएनएबीच मन्दिरको सौन्दर्यकरण गर्नका लागि सम्झौता पत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशन दास वैष्णवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जानकी मन्दिरलाई विद्युतीकरणद्वारा सौन्दर्यकरण योजनासम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर रहेको र यसलाई सौन्दर्यकरण गर्नका लागि एनआरएनएको कार्यको उच्च प्रशंसा गरे । उनले प्रदेश नं २ लाई आकर्षणको केन्द्र बनाउनका लागि सौन्दर्यकरणको कार्यबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रभाव पार्ने बताए ।

ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरका रुपमा रहेको पर्यटकलाई प्रभावकारी ढंगले आकर्षित गर्नका लागि विद्युतीकरणको माध्यमबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले बताए । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको उनले जानकारी दिए । जानकी मन्दिरमा गरिने विद्युतीकरण सोलार र विद्युत दुवैबाट सञ्चालित हुने उनले प्रष्ट पारे ।

एनआरएनका संंस्थापक अध्यक्ष तथा उद्योगपति डा. उपेन्द्र महतोले जानकी मन्दिरलाई सजाउने अभिप्रायले गरिएको सम्झौताले जनकपुरधाम अझै सुन्दर बन्ने कुरामा विश्वस्त  रहेको बताए । उनले संस्कारले नै देशलाई चिनाउने भएकोले संस्कारलाई संरक्षण गर्दै देशलाई अगाडि बढाउनु अहिलेको मुख्य चुनौती रहेको वताए ।

सम्झौताअनुसार गैरआवासीय नेपाली संघद्वारा आफ्नै साधन र स्रोतबाट जानकी मन्दिर परिसरभित्र अत्याधुनिक विद्युतीय प्रकाशमार्फत मन्दिर परिसर प्रज्ज्वलित गरिने, मन्दिर परिसरमा प्रकाश प्रज्ज्वलित गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरी गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतीकरण गर्दा लाग्ने तार, उपकरण, बत्ती आदिको जडानका लागि लाग्ने सबै खर्च एनआरएनएले बेहोर्ने लगायतको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाको प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका सल्लाहकार रामेश्वर साह, उपप्रमुख रिता झा, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, लगायतको उपस्थि िरहेको थियो ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार