साना सडक, साना जलविद्युत्

साना सडक, साना जलविद्युत्

पहाड बढी र समथर भूभाग कम भएको स्थानमा ठूला सडक निर्माण निकै कठिन हुन्छ । त्यो खर्चालु त हुन्छ नै साथमा घुम्ती, उकालो–ओरालोका कारण निर्माण कार्यसमेत जोखिमपूर्ण बन्ने गर्छ । त्यसमाथि चालक तथा व्यवसायीमा यात्रु सुरक्षाप्रतिको जिम्मेवारीबोधको अभावका कारण ठूला सडकमा दुर्घटना बढी हुने गरेको हाम्रो अनुभव छ । यसको अर्थ नेपालका कुनै पनि स्थानमा चौडा सडक बन्नु हुँदैन भन्न खोजिएको होइन, केही समथर क्षेत्रमा आवश्यकता हेरेर त्यसो गर्न सकिन्छ । तर, नेपालको समग्र भूबनोटलाई दृष्टिगत गर्ने हो भने धेरै वटा सडक आवश्यक देखिन्छ, न कि बहुलेनका चौडा सडक । उदाहरण हेर्न टाढा जानै पर्दैन, केही वर्षअघि निर्मित माइतीघर–सूर्यविनायक सडकलाई सम्झँदा पुगिहाल्छ । त्यो सडकको कोटेश्वर, बानेश्वर, लोकन्थली र माइतीघर खण्डमा ट्राफिक जाम हुनु अब सामान्य हुन थालिसकेको छ । यसकारण पनि हाम्रो आवश्यकता ठूला सडक होइन, धेरै सडक हो । काठमाडौं उपत्यकामै पनि थुप्रै नदीनाला छन्, तिनको दायाँबायाँ (रिभर करिडोर) सडक बनाउनु व्यावहारिक हुन्छ । चौडा सडक बन्दैमा ट्राफिक जाम नहुने हो भने आज माइतीघर–सूर्यविनायक खण्डमा घन्टौं जाम व्यहोर्न सर्वसाधारण बाध्य हुने थिएनन् ।

नारायणगढ–मुग्लिङ सडकलाई हामीले ‘लाइफलाइन’ विशेषण दिँदै आएका छौँ । उक्त सडक खण्ड ठूलो पार्न सुरु गरिएको लामो समय भइसकेको छ । काम पूरा हुन सकिरहेको छैन । तोकिएको समयमा यस्ता भौतिक निर्माण सम्पन्न नहुनु पनि अब सामान्य घटना हुन थालेका छन् । उक्त सडक ठूलो पार्ने काम जुन गतिमा भइरहेको छ, त्यही गतिमै पहिरो जाने क्रम पनि बढ्न थालेको छ र विशेषगरी वर्षायाममा दिनहुँजसो अवरोध हुन थालेको छ । उता, केही वर्ष शान्त रहेको कृष्णभीरको पहिरोले पुनः यात्रुलाई सताउन थालेको छ । नारायणगढ–मुग्लिङ खण्ड होस् या कृष्णभीरको अवरोधको निरन्तरताको मुख्य कारण भनेको वैकल्पिक सडकको अभाव हो ।

देशको पूर्वी भेगका सवारी बीपी राजमार्गबाट आवतजावत गर्न सक्ने अनि हेटौँडा, वीरगन्जलगायतका स्थानका सवारी फर्पिङ–दक्षिणकालीको बाटो निर्वाध चल्न सक्ने अवस्था नहुँदा नै समस्या पर्न गएको हो । यी सडकलाई ६ लेन वा ८ लेनको बनाइरहनु आवश्यक छैन, यिनलाई दुइटा ठूला सवारी निर्वाध चल्न सक्ने खालको बनाउँदा पुग्छ । यस्ता वैकल्पिक तथा साना सडकले सर्वसाधारणको जीवन सहज बनाइदिन्छ । सडक आवतजावतको माध्यम मात्र होइन, यो ‘कनेक्टिभिटी’को सबल तत्व पनि हो । साना सडक सञ्जालले मुलुकका दूरदराजलाई राजधानीसँग जोड्न सक्ने हो भने ग्रामीण भेगका बासिन्दाको आर्थिक अवस्थामा कायापलट आउन सक्छ । हाम्रा ग्रामीण भेग फलफूल, तरकारी, दूध उत्पादनका निम्ति उर्बर छन् । गाउँका बासिन्दाले उत्पादन गरेका यी वस्तु सडक नहुँदा त्यसै कुहिने वा अत्यन्तै कम मूल्यमा बेच्नुपर्ने अवस्थामा पुगेका छन् । त्यस्ता ठाउँमा सडक सञ्जाल बन्ने हो भने तिनको पसिनाको मूल्य उठ्नेछ, तिनको जीवन सहज बन्नेछ ।

फेरि फर्कौं नारायणगढ–मुग्लिङ सडकतिरै । उक्त सडक बिस्तार गर्दा छेउछाउका पहाड काटिएको छ । पहाड काट्दा त्यसको माटो र बनोटमा नकारात्मक असर पर्न गई सानै झरीमा पहिरो जाने समस्या अहिले उत्पन्न भएको छ । यसले वातावरण विनास त गरेको छ नै, साथमा ठूलो बिपत्ति ल्याउन सक्ने देखिन्छ । राजधानीसँग प्रत्यक्ष सरोकार राख्ने उक्त सडकमा अवरोध आउँदा धेरै क्षेत्रमा असर पर्न थाल्छ । त्यसबाट पनि के बुझ्न सकिन्छ भने नारायणगढ–मुग्लिङ सडक चौडा पार्दैमा समस्या समाधान हुँदैन । त्यो सडकको स्तरोन्नति गर्दै अन्य वैकल्पिक तथा साना सडक निर्माणमा सरकारका ध्यान जानु व्यावहारिक कदम हुनेछ । अग्ला पहाड, चट्टानी बनोटजस्ता कारणले नेपालमा ठूला सडक निर्माण अत्यन्तै महँगो हुन पुग्छ । समविकास, जनताबीचको सम्बन्ध विस्तार, सरकारप्रतिको विश्वास, श्रम तथा उत्पादनको सम्मानित मूल्यका निम्ति पनि साना सडकले देशका हरेक क्षेत्र जोडिनु जरुरी छ । प्राकृतिक प्रकोपका बखत राहत वितरणमा होस् या राज्यद्वारा प्रदान गरिने सेवा–सुविधा सहज पु¥याउनका निम्ति पनि देशका हरेक क्षेत्रलाई सडक सञ्जालबाट जोडिनु अत्यावश्यक छ । यस्ता सडकले आर्थिक समृद्धि ल्याउने मात्र होइन, सांस्कृतिक सेतुको काम पनि गर्छ । आखिर समृद्धिको अर्थ आर्थिक उन्नति वा पैसासँग मात्र जोडिएको पनि त छैन ।  

साना जलविद्युत्

बिजुली बेचेर देश धनी बनाउने सपना हामीलाई विभिन्न सरकारले देखाउन थालेको दशकौँ भइसकेको छ । हामी भने अझै पनि लोडसेडिङको सिकार बनिरहेका छौं । घरेलु उपयोगमा बिजुली अब पुग्ने अवस्था आउन थाले पनि औद्योगिक प्रयोजनका लागि अझै अभाव नै छ । यसरी लोडसेडिङ घट्दै जानुमा स्वदेशमै उत्पादित बिजुली होइन, भारतबाट किनिएको बिजुलीको बढी भूमिका छ । भारतले बिजुली दिने सवालमा सधैँ किचलो निकाल्दै आएको छ, भर्खरै पनि उसले बिजुलीको भाउ बढाउने प्रस्ताव राखेको छ । बिजुलीमा परनिर्भरता हटाउन पनि सानासाना जलविद्युत् आयोजना निर्माण आवश्यक छ । विकट भौगोलिक बनोटका कारण पश्चिम नेपालमा उत्पादन भएको बिजुली पूर्वी नेपालका जनताले उपयोग गर्न निकै गाह्रो छ । कतिपय आयोजनाले उत्पादन गरेको बिजुली अहिले पनि खेर गइरहेको छ । प्रसारण लाइनको अभावमा यस्तो हुन गएको हो ।

हामीसँग प्रशस्त नदीनाला छन् । ती नदीनालाबाट उत्पादन हुने बिजुलीले सर्वप्रथम सम्बन्धित आयोजनाबाट प्रभावित स्थान लाभान्वित हुनु आवश्यक छ । त्यसपछि केन्द्रीय वा अन्य प्रसारणलाइनमा जोडिनु व्यावहारिक हुन्छ । यसले आयोजनाप्रति स्थानीयको अपनत्व वृद्धि गराउँछ । सानासाना जलविद्युत् आयोजनाहरु निर्माण हुँदा सम्बद्ध आयोजना क्षेत्रको विकासमा समेत सकारात्मक असर पर्न जान्छ । एउटै ठूलो आयोजना बन्दा त्यसले गर्ने असर तुलनात्मक रुपमा कम हुन जान्छ । हजार मेगावाटको एउटा आयोजना बनाउनुभन्दा ५० मेगावाटको २० आयोजना बन्दा नागरिकमा पर्ने सकारात्मक असर ठूलो हुन्छ । सानै आयोजना भए पनि सम्बद्ध क्षेत्रमा सडक सञ्जाल पुग्छ र त्यसले त्यस स्थानमा उत्पादित कृषिजन्य वस्तु विक्रीका लागि सहर बस्तीसम्म पु¥याउन सहज हुन्छ । त्यस क्षेत्रमा आर्थिक गतिविधि बढ्न थाल्छ ।

अर्को कुरा, नेपालमा बिजुलीको खपत उतिविधि बढेर गएको देखिँदैन । घरेलु प्रयोगलाई मनग्गे बिजुली भयो भने थप आवश्यकता निकै कम हुन्छ । कारण के हो भने पछिल्लो समय उद्योगधन्दा खुल्ने क्रम उत्साहजनक छैन । उत्पादनमुखी उद्योगको संख्या नबढीकन बिजुली खपतमा उल्लेखनीय बढोत्तरी आउँदैन । स्वदेशी लगानीकर्ता नै उत्पादनमुखी काममा आकर्षित नभएको यो समयमा वैदेशिक लगानी भित्रन कठिन छ । अहिले त सरकारी गलत नीतिका कारण लगानीकर्ताहरुले आफूलाई उत्पादनमुखी उद्योगबाट क्रमशः ट्रेडिङतिर ‘सिफ्ट’ गर्नेमा ध्यान दिइरहेका छन् । ट्रेडिङले राज्यको राजस्व वृद्धि गरे पनि बिजुली खपत र रोजगारी सिर्जनामा कुनै सुधार ल्याउँदैन । यतिमात्र होइन, हामी लामो समयदेखि नेपालमा उत्पादित बिजुली भारतले खरिद गर्छ भन्ने सपनामा रमाइरहेका छौँ । जबकि, अहिले हामी उपलब्धमध्ये आधाभन्दा बढी बिजुली भारतबाट आयात गरेर देश उज्यालो पारिरहेका छौँ । हामीले मनग्गे बिजुली उत्पादन गरेर भारतलाई बेच्ने भन्ने कुरो अब धेरै टाढाको विषय भइसकेको छ । ठूलो परिमाणमा बिजुली उत्पादन गर्न लगानी पनि ठूलै चाहिन्छ । यस हिसाबले पनि ठूला आयोजना होइन साना आयोजनाको निर्माण गर्नु, स्थानीयस्तरमा त्यसको खपतको योजना बन्नु अपरिहार्य छ । स्थानीयस्तरमै बिजुली खपत हुनु भनेको सम्बन्धित स्थानमा साना तथा मझौला उद्योग स्थापनालाई प्रोत्साहन गर्नु पनि हो ।

अन्त्यमा,

नेपाल भूगोलमा सानो छ । जनसंख्या वृद्धिको अवस्था पनि सामान्य नै छ । यो सानो मुलुकमा सम्भावना भने निकै ठूलो छ । सम्भावनाहरुको व्यावहारिक तथा व्यावसायिक दोहन गर्न सक्दा नै मुलुक र मुलुकवासीको जीवन सुखमय बन्ने हो । पानीजहाज, मोनोरेल, नेपाल–भारत–चीन जोड्ने रेल अनि आगामी केही वर्षमै १० हजार मेगावाट बिजुली उत्पादन गरी विक्री गर्नेजस्ता ठूला कुरा सरकारले गरिरहनु आवश्यक छैन । साना कुरा गरौँ । साना, तर धेरै सडक बनाउँ । साना जलविद्युत् आयोजनातर्फ ध्यान पु¥याउँ । यिनै साना काम गर्न सक्दा हामी सानै उपलब्धिमा रमाउन सक्ने नेपाली खुसी र समृद्ध हुनेछौँ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार