मिस नेपाल नर्थ अमेरिकामा २० सुन्दरीको प्रतिस्पर्धा

मिस नेपाल नर्थ अमेरिकामा २० सुन्दरीको प्रतिस्पर्धा

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकाको पहिलो चरणमा २० जना प्रतियोगीहरु छनौट भएका छन् । उत्तर अमेरिकाका विभिन्न देशबाट आएका ३६ वटा आवेदनको जाँच गर्दै स्काइपमार्फत प्रत्यक्ष अन्तरवार्ता लिएपछि २० प्रतियोगीहरु छनौट भएको आयोजक समूहका को–फाउण्डर शैलेश श्रेष्ठले जानकारी दिए । उन्नत इन्टरनेसनल र ड्रिम्स युनिभर्सलको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको ‘ग्रान्ड फिनाले’ अगष्ट ११ मा न्यूयोर्कको मेलरोज बलरुममा हुँदै छ ।

कार्यक्रमको नियमअनुसार १८ वर्षदेखि २७ वर्षका नेपाली आमाबाबुका छोरीले आवेदन गरेका थिए । नेपाली नागरिकता भएका अथवा बाबु–आमा नेपाली हो भन्ने पहिचान खुलेका, अविवाहित, ५ फिट २ इञ्च अग्ला र कम्तीमा हाइस्कुलको अध्ययन गरेका युवतीहरुको आवेदनलाई मात्रै छनौट प्रक्रियामा पारिएको थियो ।

क्यानडाबाट ३ र अमेरिकाका विभिन्न राज्यबाट १७ गरी २० जना छनौट भएका हुन् । छनौटमा परेका सबै सुन्दरीहरु अगष्ट ५ मा न्यूयोर्क आइपुग्नेछन् । अगष्टको ६ देखि १० सम्म उनीहरुलाई विशेष तालिम दिइनेछ । त्यसपछि ‘ट्यालेन्ट राउण्ड शो’ हुनेछ । प्रतियोगीहरुका लागि आवश्यक ड्रेसको व्यवस्थापन गर्न नेपालबाट ड्रेस डिजाइनर श्वेता आचार्य र ममता गुरुङ आएका छन् । उनीहरुले प्रतियोगीलाई चाहिने सम्पूर्ण ड्रेस तयार पार्नेछन् ।

प्रतियोगीले तालिम शुल्क ५ सय अमेरिकी डलर बुझाउनुपर्नेछ । यसभित्र एक हप्ताका लागि आवश्यक खाना, फोटो सेसन, भिडियो सुट, मेकअप, ड्रेस डिजाइन, न्यूयोर्क टुर लगायतको सुविधा पाउनेछन् । ‘यसैका लागि हामी सम्पूर्ण तयारी गरिरहेका छौं,’ कार्यक्रमका को–फाउण्डर श्रेष्ठले भने, ‘प्रतियोगीहरु पनि उत्साहित छन् ।’

लैङ्गिक समानताको विकास र नेपाली महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले ‘मिस नेपाल नर्थ अमेरिका’ आयोजना गरिएको हो । प्रतियोगीहरुको लुकेर रहेको प्रतिभालाई बुझेर त्यसलाई प्रोत्साहन गर्ने, उनीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि काम गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो । २०१८ की विजेतालाई नेपालमा शिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी काम गरिरहेको गैरसरकारी संस्थाहरुको ‘गुडविल एम्बेस्डर’ बनाएर नेपालमा काम गर्न पठाइने आयोजकले जनाएको छ ।

अमेरिकामा नेपालीद्वारा स्थापित यी दुई संस्थाको संयुक्त आयोजनामा विगत ८ वर्षदेखि ‘मिस नेपाल अमेरिका’ गरिँदै आएको थियो । अमेरिका मात्र नभएर उत्तर अमेरिकाका सबै नेपाली युवतीहरुलाई समेट्ने उदेश्यले ‘मिस नेपाल नर्थ अमेरिका’ आयोजना गरिएको हो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार