विकास र समृद्धिमा सहकार्य गर्न चाहन्छौं

विकास र समृद्धिमा सहकार्य गर्न चाहन्छौं
कुल आचार्य, उपाध्यक्ष, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्

कुल आचार्य गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन् । नेपाल पर्वत जिल्ला जन्म घर भएका उनी २० वर्षदेखि बेलायतमा छन् । रेष्टुराँ व्यवसायमा आबद्ध आचार्य लामो समयदेखि एनआरएनएमा सक्रिय छन् । उनी एनआरएनए उत्तर अमेरिका क्षेत्रीय विज्ञ सम्मेलनका क्रममा अमेरिका आएको समयमा सुरज भण्डारीले उनीसँग गरेको कुराकानी प्रस्तुत गरेका छौं–

तपाईंका प्रवासका सुरुवाती दिनहरु कस्तो रह्यो ?

हेर्नुहोस् मलाई लाग्छ आफ्नो जन्मभूमि देशबाट कर्मका लागि अर्को देशलाई कर्मभूमि बनाइरहँदा सबैजसोको सुरुवाती दिनहरु संघर्षमै बित्छन् । र, यसको अर्थ अहिले संघर्ष छैन भन्ने होइन । तर, सुरुवाती दिनहरुको संघर्षका कथा एउटा व्यथा जस्तै रहन्छ र मेरो लागि पनि त्यो त्यही थियो । तर त्यसमा मलाई अब्जेक्सन भने छैन । म नेपालमा रहँदा टिचर थिएँ । म निर्धक्कसाथ भन्छु म जब बेलायत आएँ मैले सुरुमा रेष्टुरेन्टमा सामान्य काम गरें । त्यही सामान्य काम गर्दै केही सिक्दै आफ्नो केही गर्न सक्ने भएँ र १३ वर्ष अघिबाट रेष्टुरेन्ट व्यवसायमा छु । कसरी बाँच्ने भन्ने मात्र होइन पक्कै पनि यसबाहेकका धेरै संघर्षका विषयहरु रहन्छन् । सेटलमेन्टको कुरा रहन्छ, भिसाको कुरा रहन्छ, परिवार ल्याउने कुरा रहन्छ, अध्ययन सक्ने कुरा रहन्छ यस्ता धेरै विषयहरु संघर्षका पिरियड पर्न जान्छ । तर पनि त्यो समयमा अहिलेभन्दा प्रक्रियाहरु सरल र सजिलो थियो जे होस् म फेरि भन्छु संघर्षका कथा व्यथा जस्तै छ ।

त्यो समय र आजको समयमा आफूलाई कत्ति फरक मान्नुहुन्छ ?

होइन मैले त्यस्तो कहिल्यै मानिन । कहिल्यै केही आफूमा फरक देखिन । हिजो र आज म एउटै छु, मेरो भावना सधैं नै एउटै छ । अहिले पनि मलाई कसैले तपाईंको घर कहाँ हो भन्दा म पर्वत नै भन्छु । पर्वत मात्रै मेरो घर हो जस्तो लाग्छ । भलै अहिले बेलायतमा बस्छु । परिवार पनि सबै उतै छन् । नेपालमा पनि काठमाडौंमा बसाइँ रहन्छ । तर कहिल्यै अन्त भन्न आउँदैन, पर्वत नै मेरो जन्मघर भने पनि, घर भने पनि त्यही हो । व्यक्तिलाई समयले कता पु¥याउला, अवसर भनौं वा बाध्यताले अन्य कतै गइएला तर आफ्नो जन्म ठाउँ भनेको जन्म ठाउँ नै हो । पहिलाभन्दा केही आर्थिक प्रगति भयो होला । तर, म जे हिजो थिएँ त्यही नै आज हुँ र यस्तै रहन मन पराउँछु ।

एनआरएनएको अभियानमा हुनुहुन्छ, एनआरएनहरुमा पनि वर्गीकरण जस्तो देखिन्छ नि ?

यसलाई वर्गीकरण नै नभनौं तर कामको प्रकृति र क्षेत्रको आधारमा तीन–चार वटा समूहमा हामी यसलाई बुझ्न सक्छौं । कोही साथीहरु यहाँ पेशागत रुपमा समेत स्थापित हुनुहुन्छ, डाक्टर, प्राध्यापक, इन्जिनियर लगायत धेरै यस्ता क्षेत्रमा लाग्ने नेपालीको एउटा समूह रहेको छ । व्यवसायमा संलग्न रहेको समूह पनि छ । अर्को भनेको बेलायतमा गएको एउटा समूहलाई लिन सक्छौं, गोर्खा फौजको परिवारहरु सामूहिक रुपमा जानुभएको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, जापान लगायतका ठाउँमा गई अध्ययन पूरा गरेर त्यहीँ सेटल हुनुभएका र हुने तयारीमा रहेको अर्को समूह पनि रहेको छ । त्यस्तै निश्चित समयका लागि काम गर्न मिडलइष्टका देशहरु मलेसिया, कतार, दुबईका साथै दक्षिण कोरिया, लाओस लगायतका देशमा जानुभएका एनआरएनहरु पनि हुनुहुन्छ । यसरी एनआरएनहरुको समूह छ भनेर लिन सकिन्छ । यो कामको प्रकृति र क्षेत्रको आधारमा मात्र हो नत्र सबै एनआरएन भनेका एनआरएन नै हुन् ।

भनेपछि एनआरएनमा समेत धनी र गरिबको रेखा बढी नै छ ?

अब यसलाई एनआरएनसँग जोड्ने कि नजोड्ने भन्ने कुरा हो । तर, व्यक्तिगत ढंगले मात्रै बुझ्ने हो भने संसारभर नै धनी र गरिब हुन्छन् । हरेक देशमा यो हुन्छ । संसारभर नै यो टे«ण्ड जस्तो नै देखिन्छ । यसर्थ एनआरएन भएका कारण धनी र गरिब भन्नु सही हँुदैन होला । जसले मेहनत गर्छ, जसले अवसर प्राप्त गर्ने र अवसरको सदुपयोग गर्छ त्यो धनी हुन्छ । यो नै मुख्य कुरा हो । यसलाई एनआरएनसँग जोड्नुभन्दा इन्डिभिजुअल मूल्याङ्कन गर्दा बेष्ट हुन्छ भन्ने लाग्छ ।

यसलाई व्यक्तिगत रुपमै बुझौं, सबै एनआरएनहरुको आर्थिक समृद्धिमा चाहिं एनआरएनएले के गर्न सक्छ र के चाहिं गरेको छ ?

यसमा सबैभन्दा एनआरएनएले गर्न सक्ने भनेको एनआरएनएको जुन संगठन छ, जुन नेटवर्क छ यो यसको ब्युटी पनि हो । यसबाट धेरै कामहरु गर्न सकिन्छ र भएका पनि छन् । सामान्य लाग्ने सहयोगको कामदेखि लिएर नेपालीहरुलाई बिजनेसमा स्थापित गराउनसमेत एनआरएनएको भूमिका देखिन्छ । यसलाई डाइरेक्टलीभन्दा इनडाइरेक्टली हेर्न सक्छौं । एनआरएनएको नेटवर्कका कारण दुई जनाको संयुक्त लगानीदेखि सामूहिक लगानीका कुराहरु विकास भएको छ ।  यसका साथै  मिडलइष्ट लगायतका देशमा निश्चित समयका लागि काम गर्न जाने नेपालीलाई त्यहाँको कामको प्रकृतिअनुरुप त्यहाँको आवश्यकताअनुसारको सीप सिकाएर पठाउनका लागि एनआरएनएले काम गर्न सक्छ, जसले गर्दा त्यहाँ जाने नेपालीले आर्थिक समृद्धि गर्न सक्छन् । युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा अध्ययन वा अन्य कुनै तरिकाले त्यहाँ गई सेटल हुन चाहनेका लागि करियर काउन्सेलिङको काम गर्न सकिन्छ, यो भइरहेको पनि छ ।

यसबाहेक पनि प्रत्येक एनआरएनहरुले केही न केही गरिनै रहनुभएको छ । सानो सहयोगदेखि लिएर सामूहिक ढंगबाट बिजनेश गर्नेतर्फ एनआरएनहरु लागिराख्नुभएको छ, यो पनि एनआरएनएकै कारण  सम्भव भएको म देख्दछु, यसको नेटवर्क नै यसको स्ट्रेन्थ भएकाले त्यसबाट सामाजिक सेवादेखि आर्थिक समृद्धिमा सहयोग पुगेको छ ।

एनआरएनएप्रति टीका–टिप्पणी पनि त सुनिन्छ ?

म यसलाई सकारात्मक रुपमा लिन्छु । संस्थाप्रति चासो र माया भएर नै गाली र आरोप लगाइन्छ । त्यो गालीमा पनि माया देख्छु । यो एउटा सामाजिक संस्था हो यसमा काम गर्दा केही कमी–कमजोरी हुन सक्दछन्, यसलाई लिएर हुने टिप्पणीलाई सकारात्मक रुपमा लिनुपर्दछ । यसको आफ्नो कुनै फण्ड छैन, यो उठाएर यसमा लाग्नेहरुले दिएर चल्ने संस्था हो । परेका बेला दिन सक्नेहरु नै यसमा लाग्ने हो । सहयोग गर्न सक्छु भन्ने अवस्थामा मात्रै यसमा लाग्न सकिन्छ । पक्कै पनि आर्थिक रुपमा अलिकति बलियो हुँदा मात्रै यसमा लाग्न सकिन्छ । ग्लोबल्ली मुभमेण्ट गर्नुपर्दछ यसले गर्दा अलिकति आर्थिक पक्ष पनि जोडिन सक्दछ । तर, जे भए पनि यो संस्था बाहिर रहेका नेपालीका लागि र नेपालको समृद्धिका लागि लागेको संस्था हो । यसका निम्ति सबैले जसले जे दिन सक्छ, पैसा, बुद्धि वा श्रम दिने नै हो, सानादेखि ठूला कामहरु भएका छन्, अझ धेरै गर्न पर्नेछ । यो सामाजिक सेवा नै हो । यसको नेटवर्क स्ट्रेन्थबाट नै सम्भव छ  ।

एनआरएनए मुभमेन्ट सही दिशामै छ त ?

पक्कै पनि लिडरसिपको आफ्नै भिजन हुन सक्दछ । काम गर्ने तरिका फरक हुन सक्दछ । कामका लागि स्रोत परिचालन गर्ने आधार फरक हुन सक्दछ । ससाना विषयहरुमा केही फरक दृष्टिकोण हुन सक्दछ । नेतृत्व भिजन फरक हुन सके पनि संस्थाको मोटो सधैं एउटै छ । बाई नेपाली फर नेपाली यही उद्देश्यअनुसार नै संस्था अगाडि बढेको छ । कहिलेकाहीं तत्कालीन आवश्यकताको क्षेत्रबाहेक हामी हाम्रै उद्देश्यमा अगाडि बढेका छौं । सबैलाई यसमा सहभागी गराएर जानेतर्फ हामी लागिरहेका छौं ।

खासमा एनआरएनहरुले नेपाललाई के दिइरहेका छन् भन्ने लाग्छ ?

म यसलाई ठूलो विषय बनाउन चाहन्न । सामान्य कुरा गरौं तपाईं–हामी जो नेपालको जुन ठाउँबाट आएर प्रवासमा छौं । हामीलाई त्यो ठाउँको विद्यालय, बाटो, पधेंराको माया लाग्छ, थोरै–धेरै जति सकेका छौं, गरेका छौं हामीजस्ता विश्वभर रहनुभएका नेपालीहरुले त्यसै गरिरहनुभएको छ । अहिले संसारभर मिनी नेपाल रहेको छ । यसरी हामी सबैले व्यक्तिगत होस् वा सामूहिक ढंगले केही न केही दिएका छौं, व्यक्तिगत रुपमा आर्थिक प्रगति हुँदा पनि जाने भनेको नेपाल नै हो । साथै, अहिले ठूला–ठूला योजनामा समेत लगानी भइरहेको छ, हुने तयारी रहेको छ ।

एनआरएनएको मुभमेन्टमा मिडलइष्टका नेपालीको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

एनआरएनएको मुभमेन्टमा मात्र होइन नेपालको आर्थिक विकासमा समेत मिडलइष्टमा रहनुहुने नेपालीको विशेष भूमिका र योगदान रहेको छ । अहिले पनि रेमिट्यान्सको ठूलो हिस्सा त्यहीँबाट जान्छ, जसले नेपालको अर्थतन्त्रमा ठूलो अर्थ राख्दछ । त्यहाँका नेपालीको एनआरएन अभियानमा विशेष महत्व छ । एनआरएनएको विभिन्न सभा–सम्मेलनमा पनि यो कुरा उठ्ने गर्दछ । केही सम्बोधन पनि भएको छ । विगतदेखि नै विभिन्न्न पदमा त्यहाँको प्रतिनिधित्व रहेको छ । उपाध्यक्ष पनि भइसक्नुभएको छ । तर, हामीले यो कुरा गरिरहँदा अर्को कुरा पनि बुझ्न जरुरी छ कि त्यहाँ धेरै नेपाली कामदार भिषामा हुनुहुन्छ, आर्थिक होस् या अन्य कारणले ग्लोबल्ली भिजिट गर्न केही अप्ठ्याराहरु पनि छन् । तर पनि त्यहाँ विभिन्न व्यवसायमा संलग्नहरु पनि हुनुहुन्छ, आर्थिक हिसाबले सबलहरु पनि हुनुहुन्छ । प्रतिष्ठित कम्पनीका महत्वपूर्ण पदमा रहनुहुने पनि हुनुहुन्छ, यसको अर्थ मैले के भन्न खोजेको हुँ भने सबै कुराले साथ दिनेहरुमा यसको नेतृत्वमा लाग्दा हुन्छ, कतिपय लागिरहनु नै भएको छ ।

उसो भए सिन्डिकेट नै होइन नि हैन ? 

सिन्डिकेट त पक्कै छैन, यो त हुनै भएन नि, सबैका लागि खोलिएको यो संस्थामा त्यस्तो देखियो भने त संस्था नै धरापमा परिहाल्छ नि ? सामाजिक सेवामुखी नेटवर्क बेसिस संस्था यो सबै गैरआवासीय नेपालीको साझा संस्था हो । हाम्रो स्ट्रेन्थ भनेकै नेटवर्क हो, हाम्रो बढ्दो संस्थाको दायरा हो । यसले आउटकम पनि दिइरहेको छ । जहाँ छौं त्यहाँदेखि लिएर नेपालमा गर्न सक्छौं र साथीहरुले गरी पनि रहनुभएको छ ।

अन्त्यमा, नेपालका राजनीतिक दल र सरकारसँग केही अपेक्षा ?

हामीलाई सधैंभरि नेपाल सरकारले हामै्र नागरिक हुन् भनोस् । हुन त अहिले संविधानले पनि कतिपय विषयहरु सम्बोधन गरिदिएको छ । दोहोरो नागरिकताको कानुन बनेपछि संसारभर रहेका नेपाली सबै नेपाली नागरिक नै रहनेछन् । नेपाल सरकारले बाहिर रहेका नेपालीलाई नेपालमा केही गर्न सरल र सहज व्यवस्था मिलाओस् । अहिले सरकारसमेत स्थिर भएकाले त्यतातर्फ पाइला अगाडि बढाओस्, नेपालको विकास र आर्थिक समृद्धिमा एनआरएनहरुले सक्ने भूमिका खेल्न सक्ने वातावरण बनाओस् । पछि नागरिकता हुँदै नेपाली पासपोर्ट बोकेरै यात्रा गर्न सक्ने अवस्था बनोस् । धेरै देशहरुले यो सुविधा दिएका कारण त्यहाँको विकास र समृद्धिमा त्यसले बल पुगेको छ । हामी टाढा नजाऔं चाइना र भारतले समेत आफ्नो विकासमा कसरी देश बाहिर रहेका आफ्ना नागरिकलाई बोलाएको थियो, वातावरण बनाएको थियो, त्यो नेपाल सरकारले पनि गरोस् । हामी आग्रह गर्न चाहन्छौं, नेपालको विकास र समृद्धिमा सहकार्य गर्न चाहन्छौं ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार