न्यूयोर्कमा महावाणिज्यदूतको पद खारेज

न्यूयोर्कमा महावाणिज्यदूतको पद खारेज
मधुकुमार मरासिनी ।

न्यूयोर्क । न्यूयोर्कको नेपाली महावाणिज्यदूतको कार्यालयमा अब महावाणिज्यदूत रहने छैनन् । आइतबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले न्यूयोर्कका लागि महावाणिज्यदूत (कन्सुल जनरल)को पद खारेज गर्ने निर्णय गरेको छ । साथै, हाल महावाणिज्यदूतको जिम्मेवारी सम्हालिरहेका मधुकुमार मरासिनीलाई नेपाल सरकारले फिर्ता बोलाएको छ । अब महावाणिज्य दूतावास कार्यबाहक महावाणिज्यदूत (एक्टिङ कन्सुल जनरल)ले सम्हाल्नेछन् । सरकारले २०७४ वैशाख ३ मा मन्त्रिपरिषद्को बैठकबाटै न्यूयोर्कमा महावाणिज्यदूतको दरबन्दी राख्ने र मरासिनीलाई महावाणिज्यदूत पदका लागि अमेरिका पठाउने निर्णय गरेको थियो । मरासिनीले २०७४ असार २० (जुलाई ४, २०१७)देखि अमेरिकाको न्यूयोर्कस्थित महावाणिज्य दूतावासमा आफ्नो जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रिपरिषद् आफैँले गरेको निर्णय एक वर्षभित्रै उल्ट्याउँदै महावाणिज्यदूतको पद खारेज गरी मरासिनीलाई नेपाल फिर्ता बोलाएको हो ।

एक वर्षको अवधिमा उनी दूतावासको नियमित कामकाजसँगै विभिन्न क्षेत्रका काममा पनि सक्रिय थिए । नेपालको पर्यटन प्रवद्र्धनमा लगानी भित्र्याउने, वर्षौं अघि नेपालबाट चोरी भएका भगवान बुद्ध र उमा महेश्वरको मन्दिर नेपाल फिर्ता पठाउने, अमेरिकन राजनीतिज्ञहरुसँग भेटघाट गर्ने, नेपालको पर्यटकीय स्थलबारे जानकारी गराउने, न्यूयोर्क टाइम्सले आयोजना गरेको ट्राभल शो नेपालको संस्कृति, पहिचान र पर्यटकीयस्थलबारे बोलेका थिए । विशेष गरी नेपालको पर्यटन प्रवद्र्धन प्रचारप्रसार गर्ने काममा उनी सक्रिय थिए ।

‘मन्त्रिपरिषद्को निर्णयले पद खारेज भएको सूचना पाएका छौं, तर पत्र पाइसकेका छैनौ,’ कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले भने, ‘महावाणिज्यदूत आएपछि यहाँ धेरै काम भएका छन् । उहाँले गर्दै आएका कामलाई हामी निरन्तरता दिन्छौं ।’

महावाणिज्य दूतावासको कार्यालय कार्यबाहक महावाणिज्यदूतले नै सम्हाल्नेछन् । महावाणिज्य दूतावास कार्यलयमा सरकारका उपसचिवले कार्यबाहक महावाणिज्यदूतको जिम्मेवारी पाउँछन् भने सहसचिवले महावाणिज्यदूतको जिम्मेवारी सम्हालेको हुन्छ । मरासिनी एक वर्षभित्रै नेपाली समुदायमाझ परिचित भइसकेका थिए । अमेरिकामा विभिन्न १ सय १५ वटा मुलुकका महावाणिज्य दूतावास छन् र तिनीहरु सबैमा महावाणिज्यदूत छन् । नेपाल सरकारको पद खारेजको निर्णय सुनेर नेपाली समुदाय नै अचम्ममा परेको छ ।

अमेरिकामा रहेर विभिन्न मुलुकका कूटनीतिक व्यक्तिहरुसँग भेट्दा, अमेरिकी सरकारका विशेष कार्यक्रमहरुमा उपस्थित हुँदा महावाणिज्यदूत र कार्यबाहक महावाणिज्यदूत हुनुमा ठूलो फरक पर्ने विज्ञहरु बताउँछन् । अधिकार क्षेत्र र शक्ति प्रदर्शन गर्नुपर्ने अवस्था आएमा महावाणिज्यदूतले कार्यबाहकको भन्दा धेरै गर्न सक्नेछ । ‘तर, सरकारले किन यस्तो निर्णय ग¥यो हामी नै छक्क प¥यौं,’ नेपाली समुदायका एक अगुवाले भने, ‘कलकत्ता, ल्हासा, हङकङ, ग्वान्जाउ, जेद्दाह, न्यूयोर्क गरी छ वटा मुलुकमा नेपाली महावाणिज्य दूतावासको कार्यालय छ र ती सबैमा महावाणिज्यदूतको दरबन्दी छ । मन्त्रिपरिषद्ले न्यूयोर्कको मात्रै पद खारेज किन ग¥यो ?’

महावाणिज्य दूतावासले पार्सपोर्ट वितरण, हस्तलिखित पासपोर्टलाई एमआरपी बनाउने, पासपोर्ट नवीकरण गर्ने, उपलब्ध कागजातलाई रुजु गर्नका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय पठाउने, जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, सर्टिफिकेट प्रमाणित, नेपाल जानका लागि भिसा उपलब्ध गराउनेजस्ता थुप्रै काम गर्दै आएको छ । नेपालमा घरजग्गा, सम्पत्ति किनबेच गर्दा व्यक्ति उपस्थित हुन नसक्दा अधिकृत वारेसनामा चाहिन्छ । त्यो वारेसनामा उपलब्ध गराउने काम पनि दूतावासले गर्दै आएको छ । ट्राभल डकुमेन्ट स्वीकृत गर्ने, कोही नेपाली मृत्यु भएमा शव नेपाल पठाउनका लागि स्वीकृति दिने लगायत काम गर्दै आएको छ । यी सम्पूर्ण काम सँगसँगै महावाणिज्यदूतले गरिरहेका काममा निरन्तरता दिने दूतावासले जनाएको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार