अमेरिकामा उबर ड्राइभ गरेर करोड बराबरको परोपकार

अमेरिकामा उबर ड्राइभ गरेर करोड बराबरको परोपकार
थापा दम्पती ।

थापा दम्पतीको दानी हृदय सबैका लागि प्रेरक

न्यूयोर्क । आम देखाइमा समाजसेवा प्रशस्त सम्पत्ति आर्जनपछि प्रतिष्ठा कमाउने विम्ब हो । दुनियाँका सर्वाधिक धनाढ्यदेखि गाउँठाउँसम्मका धनीमानीहरु आफ्नो नाम जीवन्त राख्ने लोभमा समाजसेवाका लागि फाउण्डेसनहरु खोल्न थाल्छन् । स्कुल, बाटोघाटो निर्माणदेखि गरिब दुःखीको हितका लागि दान दातव्य घोषणा गर्छन् । पछिल्लो समय कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीका नाममा व्यावसायिक क्षेत्रले गर्ने यस्तो दान बराबरको रकमलाई सरकारले नै कर छुटसमेत दिन थालेको छ ।

तर, कोही–कोही दानी हेमबहादुर (कुमार) थापा दम्पती जस्ता पनि हुन्छन् । जसलाई आफूले के कमाएँ भनेर होइन अर्कालाई कति सहयोग गर्न सकें भनेर खुसी लाग्छ । उनीहरुलाई न ठूल्ठूला घोषणासभाको जरुरत पर्छ, न आफूले सहयोग गरेपछिको प्रचारप्रसारकै । उनीहरु चुपचाप गरिब र निमुखाहरुको उद्धारमा जुटिरहन्छन्, चाहे दुनियाँले आफूलाई चिनोस् या नचिनोस् ।

१०–१२ वर्षको कलिलो उमेरदेखि नै नजानिँदो ढंगले सामाजिक कामप्रति थापाको मन ढल्कियो । तेह्रथुमको ग्रामीण क्षेत्रमा जन्मिएका थापा सानैदेखि गाउँमा खेलमैदान, बाटोघाटो, पुल निर्माणमा अघि सर्थे । उमेर म्याचोर्ड बन्दै जाँदा गाउँमा सप्ताह पुराण लगाउनेदेखि दिवगंत हजुरबुबा र आमाको नाममा जिल्लास्तरमा फुटबल प्रतियोगितासम्म आयोजना गरे ।

बिस्तारै आफ्नो गरिखाने मेलो पनि मजबुत पार्न जन्मथलो नजिकै मराङ बजारमा पसल गर्न थाले । घरबार राम्रै चल्दै थियो । नजिकै रहेको दलित बस्तीका अधिकांश परिवारको विपन्न अवस्थाले उनको मन पोल्यो । उनले १५ देखि २० दलित परिवारका युवालाई रोजगारीका लागि विदेश जान १० हजारदेखि ७० हजार रुपैयाँसम्म सहयोग गरे । ‘दलित बस्तीका अधिकांश युवा बेरोजगार थिए भने परिवारको अवस्था पनि कमजोर थियो,’ थापा सुनाउँछन्– मैले त्यति सहयोग गरेर उनीहरु विदेश जान पाएपछि अहिले सबैको आर्थिक अवस्था सुध्रिएको छ, सबैले छाना नचुहिने घरमा बस्न पाएका छन्, छोराछोरीलाई राम्रो शिक्षा दिन सकेका छन् ।’ त्यसरी सहयोग गरेका युवामध्ये कसैले स्वेच्छाले फिर्ता ल्याएर दिएको बाहेक आफू उधारो उठाउन नगएको उनी सुनाउँछन् । त्यस क्रममा गाउँलेलाई १० लाख रुपैयाँ हाराहारी सहयोग गरेको उनको भनाइ छ ।

अमेरिका आएपछि पनि उनको उदार मन खुम्चिएन । कोही काम नपाएर अप्ठ्यारोमा परेकालाई काम खोजिदिनेदेखि काम नपाउन्जेल सित्तैमा खान–बस्न दिनेजस्ता सहयोग उनले धेरैलाई गरेका छन् । कठिनाइमा परेकालाई सकेको आर्थिक सहयोग पनि उनले जारी नै राखेका थिए । त्यस क्रममा २०७२ को महाभूकम्प गएपछि पीडितहरुको उद्धारका लागि नेपालमा रहेकी दिदीमार्फत पाँच लाख रुपैयाँ सहयोग पठाए । गत वर्षको बाढीपहिरोलाई पनि तत्काल पाँच लाख रुपैयाँ पठाइदिन दिदीलाई अनुरोध गरे । त्यसबेला उनीसँग हातमा पैसा थिएन । अलिक पछि कमाएर दिदीलाई तिरे ।

थापा पेसाले न्यूयोर्कमा उबर ड्राइभर हुन् । श्रीमतीको ब्युटी सलुनबाट हुने आर्जनले घर चलाउन सामान्य सघाउ पुगे पनि तीन छोराछोरीको आवश्यकता पूरा गर्ने दायित्व उनकै हो । त्यति गर्दा पनि दिन–रात मेहनत गरेर दुःखी गरिबको सहयोगका लागि रकम छुट्याउँदै आएका छन् । आफू दिनमा १८ देखि २० घण्टासम्म श्रम गर्ने उनी सुनाउँछन् । त्यही आर्जनबाट घर चलाउँछन् र आत्माको खुसीका लागि पीडामा रहेकाहरुलाई मल्हम लगाउन सकेको सहयोग गर्छन् । आफ्नो गाँस काटेरै भए पनि पीडितलाई सहयोग गर्न पाउँदा उनलाई धन्य लाग्छ ।

अहिलेसम्म काठमाडौंमा मात्र ६–७ जना मृगौलापीडितलाई जनही १० हजारदेखि ७० हजार रुपैयाँसम्म सहयोग गरेको उनी सुनाउँछन् । त्यस्तै धरानमा एक मृगौलारोगीलाई २ लाख र अर्का एक जनालाई १ लाख २० हजार रुपैयाँ सहयोग पठाइदिएका थिए । नेपाली टेलिभिजनका विभिन्न कार्यक्रम नछुटाई हेर्ने थापा त्यहाँ कुनै दुःखी सर्वसाधारणको पीडाबारेको रिपोर्टिङ देखेपछि आफ्नो मन सहयोगका लागि छट्पटिन थालिहाल्ने बताउँछन् ।

केही समय अघि पर्साको मौवान् ७ स्थित दलित प्राथमिक विद्यालयको जीर्ण अवस्थाबारे टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगमा रिपोर्ट प्रशारण भएपछि थापाले प्रस्तोता रवि लामिछानेमार्फत दुई पटक गरी पाँच लाख रुपैयाँ सहयोग गरे । रिपोर्टमा स्कुलको अवस्था साँच्चिकै भयावह देखाइएको थियो । डेस्क–बेञ्चको अभावमा बालबालिका बोरामा बसेर पढ्दै थिए भने भवन पनि जीर्ण थियो । यो दृश्यले उनलाई धेरै भावुकसमेत बनायो । ‘ती नानीहरुले राम्रोसँग पढ्न पाए भोलि देश हाँक्ने कर्मचारी बन्लान् । नेता–सभासद बन्लान्, उनी भन्छन्– भोलि मुलुक बनाउने जनशक्तिलाई यस्तो अन्याय त हद भयो भनेर तुरुन्त सहयोग गर्ने निर्णय गरेँ ।’ त्यसअघि सिधा कुरा जनतासँगले एक वृद्धाले सहकारीमा राखेको १० लाख रुपैयाँ सहकारी सञ्चालकले ठगेर उनलाई बिचल्ली पारेको रिपोर्ट बजाएपछि थापाले २० हजार रुपैयाँ सहयोग पठाएका थिए । त्यस्तै, सोही कार्यक्रमको फरक अंकमा देखाइएको धर्मे छोराले सबै सम्पत्ति हत्याएर घर न घाटको बनाएका एक वृद्धलाई ५० हजार रुपैयाँ पठाइदिए ।

साउदी अरबको अदालतबाट निर्दोष ठहरिए पनि जेलमुक्त हुन नसकेका प्रेम राईलाई बचाउन थापाले केही समय अघि मात्र पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । थापाको उक्त सहयोगको प्रशंसा गर्दै युनाइटेड किराँत राई संस्थाले गत जुन २३ मा न्यूयोर्कमा आयोजित कार्यक्रममा सम्मान गरेको थियो । यो रकम प्रेम राई बचाऊ अभियानलाई दिँदा पनि उनीसँग हातमा नगद थिएन । ऋण लिएर दिए र पछि कमाएर तिरे । ‘अदालतबाट निर्दोष ठहरिएका प्रेम त्यहाँबाट छुट्दा उनकी सानी छोरीसहित सिंगो परिवारको मुहारमा मुस्कान छाउँछ,’ उनी भन्छन्– ‘त्यति मात्र होइन एउटा गाउँ नै खुसी हुन्छ । यस्तो पवित्र काम गर्न पाउनुमा आफूलाई धन्य ठान्छु । आखिर जति कमाए पनि अन्त्यमा लिएर जाने होइन ।’ उनले केही दिन अघि मात्र बोनम्यारो पीडित पाँचथरकी ४ वर्षीया एलिस्ना राईको उपचारका लागि १० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएका छन् ।

त्यस्तै, साउदी अरबकै जेलमा रहेका कुमार रानाको उद्धारका लागि २ लाख रुपैयाँ दिने घोषणा गरिसकेका छन् । आफूले अक्षर चिनेको सिकदिन माबीलाई तीन लाख र हाइस्कुल अध्ययन गरेको गौमुखी मावीलाई पाँच लाख रुपैयाँको सहयोगको बचन पनि दिइसकेका छन् ।

केही अघि मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा परेर त्यहाँ श्रम गर्न गएका एक दम्पतीको निधन भएपछि बिचल्लीमा परेका दुई नाबालक छोरालाई पढाउने जिम्मा लिने प्रक्रिया पनि थापाले सुरु गरेका छन् । आफ्नै गृहजिल्ला तेह्रथुमको जिरीखिम्तीमा निर्माणाधिन वृद्धाश्रमलाई २ लाख रुपैयाँ हाराहारी सहयोग गर्ने उनको तयारी छ । तर, यसबारे भने बचन दिइनसकेको उनले बताए । यसरी विभिन्न संस्था र दुःख पाएका व्यक्तिहरुका लागि हालसम्म परोपकारमा १ करोड रुपैयाँ हाराहारी खर्चिसकेको उनी सुनाउँछन् ।

थापाको अभियानमा श्रीमती मायाको उस्तै खुला सहयोग र सद्भाव छ । आफूलाई पनि अर्काको पीडाले असाध्यै दुख्ने भएको हुँदा श्रीमान्को सेवाभावलाई सदैव मद्दत गर्ने गरेको उनी सुनाउँछिन् । ‘श्रम गरेरै आर्जने हो, खान लाउन पुगेकै छ,’ उनी भन्छिन्– ‘केही अंश बचाएर दुःखी गरिबलाई सघाउँदा आत्मालाई सन्तोष मिल्छ आखिर थुपारेर के नै गर्नु छ र !’

थापा सानैदेखि हक्की र चञ्चले स्वभावका थिए । गाउँमा कुनै झैझगडा भयो भए मेलमिलापका लागि अघि सर्थे । कसैले अन्याय गरे प्रतिकारमा उत्रिन पछि हट्दैनथिए । त्यसमाथि तेह्रथुमे थापाकाजी परिवार गाउँघरमा सान अलिक बेग्लै नै थियो । हेम आफ्नै बुताले सुरु गरेको व्यापार–व्यवसायबाट पुख्र्यौली पहिचानमा नयाँ आयाम पनि थप्दै थिए । तर, जीवनमा सधैँ एकनासको गति कहाँ हुन्छ र ! सोच्दै नसोचेको बेला ग्रहण लागिदिन सक्छ ।

पश्चिम नेपाललाई गाँजिसकेको माओवादी गतिविधि पूर्वमा पनि छिटफुट देखिँदै थियो । यस्तैमा थापाकहाँ एउटा कागज पुग्यो । माओवादीले सात लाख रुपैयाँ चन्दा माग्दै चिट्ठी लेखेका रहेछन् । मेहनत गरेर आर्जेको धन तिमीहरुलाई किन दिने ? थापाले सिधै प्रतिकार गरे । तर, बन्दुकको बलमा सत्ता कब्जाको धङ्धङी साँधेको जत्था तर्कले कहाँ मान्थ्यो र ! माओवादीले थापालाई अपहरण गरे ।

श्रीमती माया तीन नाबालक छोराछोरीलाई काखमा लिएर श्रीमान्को बाटो हेर्न थालिन् । आज आउलान् छैन । भोलि आउलान् छैन । केही दिनपछि त गाउँमा हल्ला चल्न थाल्यो– हेमलाई मारिइसक्यो रे !

माया पो जिउँदै मरेतुल्य अवस्थामा पुगिन् । लालाबालाको अनुहार हेर्दै भगवान् पुकारी रहिन् । गाउँमा अनेक हल्ला चले पनि उनको आत्माले भन्थ्यो– ‘मेरो सिन्दुर त्यति कमजोर छैन, जो यी लालबालालाई संसार देख्ने बाटोसम्म पु¥याउनु अघि नै पुछियोस् ।’ नभन्दै उनको कामनाले जित्यो । सात दिनपछि हेम अपहरणमुक्त भए । तर, जस्तो लगिएका थिए त्यो भन्दा धेरै बीभत्स पति फिर्ता पाइन् उनले । दाइने हातका दुई वटा औंला छिन्न मात्र बाँकी हुने गरी काटिएको, टाउको पछाडिपट्टि रड गाडे जस्तो खोबिल्टो परेको, रगत बगिरहेको, शरिरभरि निलडाम मात्र । आफ्ना पतिले जघन्य यातना पाएको बुझ्न उनलाई समय लागेन । तर, जस्तो भए पनि सुहाग फिर्ता पाएकोमा आफूलाई धन्य ठानिन् र एउटै अठोट सुनाइन्– अब थप एक दिन पनि यहाँ बस्न सकिन्न । पसलको कन्तुरमा ८ हजार रुपैयाँ रहेछ । त्यही रकम गोजीमा हालेर तीन छोराछोरी च्यापी रातारात थापा दम्पती काठमाडौंतर्फ हानियो । पसल, घर, खेत, अलैंचीबारी सबै माया मारेर अब ज्यानको मात्र पर्वाह भयो ।

काठमाडौंमा संघर्ष चल्दै गर्दा थापा सन् २००४ मा अमेरिका आए । २००६ मा माया आइन् र दम्पती मिलेर यतै सुख–दुःखका दिन बिताउन थाले । केही रकम आर्जन हुनेबित्तिकै थापा आफ्नै पुरानो आदतमा फर्किए र दुःखीहरुको सेवालाई जीवनको अंगकै रुपमा निरन्तरता दिए । एक किसिमले मरिसकेको जीवन बोनसमा पाएका कारण पनि आफूलाई धन–दौलत थुपार्नभन्दा निसहायलाई सहयोग गर्नमै आनन्द आउने गरेको उनी सुनाउँछन् ।

माओवादी आक्रमण मात्र होइन जीवनमा आर्थिक हण्डर पनि पटक–पटक खाएका छन् थापाले । विभिन्न व्यक्तिले ६ महिनाको अवधिमा ३ करोड रुपैयाँ (तीन लाख अमेरिकी डलर बराबर) डुबाइदिए । तीमध्ये कोही अहिले इजरायल पुगेका छन् त कोही अष्ट्रेलिया । ९० हजार डलर डुबाइदिने झापाका सुवास खरेलसँग ३३ हजार डलरको कागज गरेका हुँदा नेपालमा त्यति बराबरको ठगी मुद्दा दर्ता गराएको उनी सुनाउँछन् । खरेल भने अहिले इजरायलमा छन् । अरु लगभग डुबेकै अवस्था छ ।

यस्ता अनेक ठक्करहरुबाट सम्हालिँदै अघि बढ्दा जीवनलाई क्षणिक लालचबाट माथि उठाउन सफल भएको थापा दम्पतीको अनुभव छ । बाल्यकालमा नजानिँदो ढंगले परोपकारमा संलग्न हुँदै जति म्याचोर्ड भयो उति त्यसलाई नियमिततामा परिणत गरेका उनीहरु अब केही संस्थागत उद्देश्यसाथ अघि बढेका छन् । अब छिट्टै थापा फाउण्डेसन स्थापना गरी त्यहीमार्फत आफ्ना सामाजिक गतिविधि अघि बढाउने निष्कर्षमा पुगेका हुन् । आफ्नो मातृभूमिमा दुःख पाएका वृद्ध आमाबुबा र अभिभावकविहीन बालबालिकाको उद्धारलाई आगामी दिनको लक्ष्य बनाएका छन् हेमले । सोही कारण फाउण्डेसनमार्फत एक वृद्धाश्रम र एक बालगृह खोल्ने लक्ष्य छ । साथै अघिल्लो वर्ष बीबीसी साझा सवालले स्थलगत रिपोर्ट प्रशारण गरेको भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित एक तामाङ बस्तीका ४८ घर पुनर्निमाणका लागि आफूले दूतावासमार्फत पहल गरेको उनी बताउँछन् । राजदूतावासमार्फत सामूहिक बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारलाई अनुरोध गरेको उनले बताए । यो कामको जिम्मा सरकारबाट पाएको खण्डमा भने अन्य दाताबाट समेत सहयोग स्वीकार्ने थापा बताउँछन् ।

kashinath pyakurel लेख्नुहुन्छ

सारै राम्रो काम दाजुको।

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार