नेपाली पत्रकारिताको भक्तिकाल

नेपाली पत्रकारिताको भक्तिकाल

भारतका प्रख्यात आलोचक सुधीश पचौरीले त्यहाँको पत्रकारितामा भक्तिकालबारे केही महिनाअघि बीबीसी हिन्दीमा एउटा लेख लेखेका छन् । ‘हाम्रो मिडिया न महँगी देख्छ, न त बेरोजगारी नै । किन देख्नु यस्ता कुरा ? सत्य कुरा भनिएको रहेछ– असली भक्त आफ्नो प्रभुबाहेक अरु केही देख्दैन । भक्त त्यही हो जो आफ्नो भगवान्को बाहेक अरुको कुरा मनमा आउनै दिँदैन । आफ्नो प्रभुको लीलामा नित्य मनलाई निमग्न राख्छ । गज्जबको उलटफेर भएको छ– हिन्दी साहित्य त भक्तिकालबाट आधुनिककालमा आयो, तर हाम्रो मिडिया आधुनिककालबाट फर्किएर भक्तिकालमा पुगेको छ । यिनै हुन् नयाँ भारतका नयाँ पत्रकार । बिहानैदेखि प्रभुको भक्ति–साधनामा मन जान्छ यिनको । नयाँ भक्तको भक्ति अदभूत हुन्छ ।’ पचौरीको यो भनाइ नेपाली पत्रकारितामा पनि हुबहु लागू हुन्छ । पत्रकारितामा मात्र होइन कहिलेकाहीँ यस्तो अवस्था साहित्यमा पनि लागू हुन थालेको छ । यो आलेखको प्रेरणा उनै पचौरी हुन् ।

केही समयअघि माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले निजी विद्यालयले मनपरी शुल्क लिएको विरोधमा बन्दको आह्वान गरे । विप्लवको आह्वानलाई मोफसलका एक उदीयमान पत्रकारले आफ्नो फेसबुक वालमार्फत अन्ध समर्थन गरे । साथै, उनले विप्लवको भक्तिगान पनि गाए ।

उद्योगपति तथा फोब्र्स पत्रिकाको धनीको सूचीमा परेका विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेको समाचार गत वर्ष कात्तिक दोस्रो साता मिडियामा भाइरल बन्यो । अधिकांश मिडियाले चौधरीको कांग्रेस प्रवेशलाई महान् कार्य माने । किन उनी एमाले छाडेर अर्को पार्टीमा गए भन्ने सवाल उठाउने जाँगर वा आवश्यकताबोध कुनै पनि मिडियालाई भएन । अथवा, एउटा ठूलो व्यावसायिक घरानाका प्रमुख किन प्रत्यक्ष रुपमा राजनीतिमा होमिए भन्ने सवाल पनि कसैले उठाएन । मिडियालाई प्रश्न मन पर्न छाडेको एउटा उदाहरण हो यो । बहस त झनै मन पर्दैन हाम्रो मिडियालाई । एकप्रकारले बहस र प्रश्नवर्जित अवस्था निर्माण हुन लागेको जोखिमपूर्ण स्थिति देखिँदैछ । आफूलाई कांग्रेसनिकट बताउने मिडियाले चौधरीको भक्तिगान नै गाए । यस्तो लाग्छ, चौधरीको प्रवेशपछि छवि धमिलिँदै गएको कांग्रेस पार्टी सङ्लिन्छ, पार्टी पनि धनी हुन्छ, जनता पनि खुब धनी हुन्छन् ! जस्तो विज्ञप्ति आयो त्यसैलाई समाचार बनाएर प्रकाशित गरियो, त्यसमा ‘क्रिटिकल’ हुने प्रयास भएन, बरु त्यस सूचनालाई ‘इग्नोर’ गरियो । जगजाहेर छ, चौधरी मिडियाका लागि ठूला विज्ञापनदाता हुन् । उनको विपक्षमा जाँदा मिडियालाई हित हुँदैन, प्रशंसा जति गर्न सक्यो उति फाइदा हुन्छ ।

नेपाल पत्रकार महासंघ नामको पत्रकारहरुको छाता (!) संगठनमा चुनाव जित्न अब दलको समर्थनबिना असम्भव देखिँदै गएको छ । कोही चौतारी त कोही युनियन वा कोही क्रान्तिकारी पक्षका उम्मेदवार बन्न थालेका छन् ! दलका नेताको आशीर्वाद लिएर चुनावी मैदानमा उत्रिएका पत्रकार देख्दा किन यी राजनीतिमा नलागेर यो अक्षरको खेतीमा आएका होलान् भन्ने जोकोहीलाई लाग्ने नै भयो । केही समयअघि सम्पन्न पत्रकार महासंघको निर्वाचनमा माओवादी र कांग्रेसले गठबन्धन गरेपछि एमाले पक्षधर पत्रकारको हार भयो । कांग्रेसी पत्रकारले मत दिएर माओवादी पत्रकारलाई महासंघको अध्यक्ष नै बनाइदिए । र, त्यसपछि खोज्न थाले पत्रकारितामा व्यावसायिकता र लोकतन्त्रको प्रभाव ! त्यसबखत सरकारमा पनि यिनै दुई दलको गठबन्धन थियो, त्यसको तिखो बाछिटा महासंघमा पनि मज्जाले प¥यो । अहिले पत्रकार महासंघमा रहेका अधिकांश पदाधिकारी पत्रकार कम र दलका भक्तहरु बढी छन् । तिनको मुख्य जिम्मेवारी नेपाली पत्रकारितालाई व्यावसायिक बनाउने होइन, आफूसम्बद्ध दलको भक्तिगान गर्नु रहेको छ ।

सानो मुलुक नेपालमा मन्त्रिमण्डल भने जहिले पनि ठूलै हुने गरेको छ । र, प्रायः मन्त्रीले प्रेस सल्लाहकार नियुक्त गर्ने परम्परा नै बसेको छ । प्रेस सल्लाहकारको मुख्य काम भनेको आफूलाई नियुक्ति दिने मन्त्री र उसको दलको भक्तिगान गाउनु हो, कुनै सल्लाह दिनु होइन । त्यो मन्त्री र सम्बद्ध दलका कमी–कमजोरी छोप्ने प्रयास गर्नु हो । एकातिर मन्त्री भइसकेपछि अरुको सल्लाह किन आवश्यक प¥यो अनि अर्कोतिर मन्त्रीको कुर्सीमा विराजमान भएपछि सर्वज्ञाता भइहालिन्छ ! आफ्नो कुर्सी अकन्टक पार्ने हेतुले दर्जनौँ मन्त्री बनाएर रेकर्ड तोड्न सिपालु थुप्रै प्रधानमन्त्रीसँग आजसम्म कुनै पनि पत्रकारले किन यति धेरै मन्त्री बनाएको भनी प्रश्न गर्ने हिम्मत वा जाँगर देखाउन सकेका छैनन् । मुलुकको आर्थिक अवस्था दिनप्रतिदिन खस्कँदो छ । कतिपय नागरिक बिनाकारण गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । किसानलाई राज्यले वास्ता गर्दैन, तिनले पसिना चुहाएर उत्पादन गरेका वस्तु बजार नपाएर कुहिएका छन् । बैंकहरु किसान र गरिबलाई सकेसम्म ऋण दिन नपरोस् भन्ने सोच राख्छन् । केन्द्रीय बैंकले गरिब तथा विपन्न वर्ग, किसानलाई दिनै पर्ने भनी तोकिदिएको सीमा उल्लंघन गर्ने बैंक थुप्रै छन् । लिंग र जातका नाममा विभेद व्याप्त छ । किनारीकृतका पीडा थपिँदो छन् । भ्रष्टाचार, तस्करी, हत्या–हिंसा, रुढीवाद, व्यापारीको बढ्दो कुतखोरी, कर छली, समाजमा व्यभिचार र राजनीतिक विकृति चुलिँदो छ । यी र यस्ता विषयमा पत्रकारको ध्यान नपुगी केवल भक्तिगानमै रुमल्लिनुले नेपाली पत्रकारिताको भविष्य कस्तो होला ?

मुलुकमा सुशासन कायम गर्न स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीको बदमासी छताछुल्ल भइरहेको थियो । तर, एउटा ठूलो आकारको दैनिकले जसरी हुन्छ कार्कीलाई जोगाउने असफल प्रयत्न ग¥यो । उक्त पत्रिकाले कार्कीको भक्तिगान गाइरह्यो । लोकमानको सन्दर्भ आइरहँदा उनका पिता (भूपालमान सिंह कार्की)को नाममा नेपालका केही अग्रज तथा स्थापित र अधिकांश निम्छरा साहित्यकारले लेखेको ‘भूपाल अर्चना’ नामक किताबको पनि सम्झना हुन्छ । नेपाली साहित्यमा भक्तिकाल १८७३ सालबाट सुरु भएर १९४० मा टुंगिएको इतिहास छ । त्यो भक्तिकालमा साहित्यकारहरुले बढी मात्रामा भगवान्को स्तुति गरेका थिए । अहिले व्यक्ति र राजनीतिक दलको स्तुति मिडियाद्वारा चरम ढंगमा भइरहेको छ ।

२०४८ सालमा प्रजातन्त्र बहालीपछिको पहिलो निर्वाचन हुँदै थियो । त्यसबखत केही कांग्रेसी साहित्यकारले ‘चुनाव गीत–कविता’ नामक संकलन निकालेर नेपाली कांग्रेसको भक्तिगान गरेका थिए । त्यसलगत्तै प्रगतिशील साहित्यकारहरुले पनि सूर्य चिह्नलाई फाइदा पुग्ने गरी अर्को संकलन निकालेका थिए । यी दुई किताब राजनीतिक दलको भक्तिगानमा समर्पित थिए, ती कुनै पनि कोणबाट साहित्य थिएनन्, कविता थिएनन् ।

नेपाली पत्रकारितामा साहित्यमा जस्तो भक्तिकाल भनेर स्पष्ट कुनै समयलाई लिएर इतिहास लेखिएको पाइँदैन । यसकारण पनि भन्न सकिन्छ– नेपाली पत्रकारिताको भक्तिकाल निरन्तर जारी छ । यो पञ्चायतकाल हुँदै, बहुदल र गणतन्त्रकालमा पुग्दा झनै झाँगिएको छ । नेपाली पत्रकारिता व्यावसायिक त परै जाओस् आधुनिकालमा पनि प्रवेश गर्न सकिरहेको छैन । प्राविधिक रुपमा जति नै फड्को मारे पनि समाचारमा मिडियाले फड्को मार्न सकेको पाठकले महसुस गर्न पाएका छैनन् । हिजो पञ्चायती व्यवस्थामा पत्रकारहरु विशेषगरी राजाको भक्ति वा स्तुति गर्थे । राजालाई विष्णुको अवतार नै मान्ने पत्रकार पनि थिए । त्यसो गरेवापत तिनले पर्वे विज्ञापन वा सरकारी कार्यालयका विज्ञापन पाउँथे । ती राजाका भक्त थिए, बहुदलवादीलाई ती अराष्ट्रिय तत्व देख्थे । अझै पनि केही पत्रकार राजा र हिन्दु धर्मका भक्त रहेका कतैकतै देख्न–पढ्न पाइन्छ । राजासँग तस्बिर खिचाउन पाउँदा आफ्नो जुनी सफल भएको मान्ने पत्रकार थुप्रै थिए । २०५८ सालमा राजा बनेका ज्ञानेन्द्र आफूलाई बोल्ने राजा र जनताका दुःख दाजु (वीरेन्द्र)ले जसरी टुलुटुल हेरेर चुपचाप सहेर नबस्ने भन्थे । केही पत्रकारले उनको ‘दर्शन भेट’ पनि पाए । उनीसँग अन्तरवार्ता लिन पाउँदा आफ्नो पत्रकारिता अमर भएको र जन्म नै सफल भएको मान्ने पत्रकार अझै पनि नेपाली मिडियामा क्रियाशील छन् । अहिले दलका माथिल्ला तहका नेतासँग कुनै पत्रकार सेल्फी खिच्न पाउँदा गर्व गर्न थाल्छ र फेसबुक वा अन्य सामाजिक सञ्जालमा राख्न आतुर हुन्छ । योभन्दा अर्को भक्ति के नै होला र !

पछिल्लो समय हाम्रा कतिपय पत्रकारहरुको अड्डा आफूसम्बद्ध सञ्चारगृह वा संघ–महासंघमा नभएर सानेपा, बल्खु (हाल धुम्बाराही) वा पेरिस डाँडा (कोटेश्वर) हुन थालेको छ । बिहान चियानास्ताका निम्ति होस् या साँझको रसपानका लागि, आश्रय नेता निवास जतिको उपयुक्त अर्को हुन सक्दैन ! नेताका नजिक नियमित पर्न सक्दा नै राजनीतिक नियुक्तिको सम्भावना प्रबल हुने तथ्य यिनलाई राम्ररी थाहा छ । भक्त पत्रकारहरुका निम्ति बालकोट, बूढानिलकण्ठ, कोटेश्वर तथा अन्य प्रभावशाली नेता–मन्त्रीका घरआँगन मन्दिर हुन पुगेका छन् । कम्तीमा दिनको एक पटक तत्तत् स्थानमा नपुग्दा सर्वस्व गुम्ने भक्तिकालमा रमाइरहेका पत्रकारमा भय जो छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार