स्टारबक्स कफीको पहिलो स्टोर पुग्दा...

स्टारबक्स कफीको पहिलो स्टोर पुग्दा...

सन् २०१४ मा अध्ययनका लागि चीनको व्यापारिक शहर संघाई पुग्दा त्यहाँका चोकचोकमा स्टारबक्स कफीका स्टोरहरु देखेपछि यो चिया पसलको चेनबारे जिज्ञासा बढेको थियो । राजनीतिक रुपले निरंकुश एकतन्त्र भए पनि आर्थिक स्वरुपमा पूँजीवादी अवधारणा अंगीकार गरिसकेको चीनमा पश्चिमा रिटेल स्टोरका चेनहरु फस्टाउँछन् । अमेरिकी कम्पनीका नाइकका पोशाक लगाउने, एप्पलको आइफोन बोक्ने, म्याक डोनल्स या केएफसीमा खाजा खाँदा आफूलाई स्तरीय महसुस गर्ने चिनियाँ युवा पुस्ताको सोचबारे बुझ्न खासै समय लागेन । चिनियाँका लागि स्टारबक्स पनि त्यही शौखको एक विम्ब बनिसकेको थियो ।

कफी चिनियाँ संस्कृतिको अंग होइन । उनीहरुको नियमित स्वाद भनेको विभिन्न प्रकारका ग्रीन टी नै हुन् । तर, स्टारबक्सको उपस्थितिले शहरी क्षेत्रका चिनियाँ युवायुवतीमा कफी हातमा बोकेर हिँड्ने पश्चिमा आदत बिस्तारै बढ्दो दरमा पाएको थिएँ । स्टारबक्सका स्टोरमा ल्यापटप लिएर घण्टौं बस्ने, कफी थप्दै आफ्नो काम पनि फत्ते गर्ने पश्चिमा शैली चिनियाँ तन्नेरीहरुमा पनि विकास भइरहेको थियो ।

स्टारबक्समा छिरेको व्यक्तिलाई त्यो तीतो कफीको स्वादले घण्टौं अड्याउन सक्ने जादुमय आकर्षण देखेर यो स्टोरप्रति मेरो रुची स्वाभाविक रुपले बढेको थियो । केएफसी या म्याकडोनल्डमा फाष्टफुड टिपेर हिँड्नेभन्दा स्टारबक्सका उपभोक्ता तुलनात्मक रुपमा फरक रहेको महसुस भएपछि मैले यसलाई आफ्नै गाउँठाउँको चिया पसलकै रुपमा बुझेको थिएँ । जहाँ घण्टौँसम्म हाम्रा तन्नेरीहरु राजनीतिको गफ चुटेर बिताइदिन्छन् । फरक यत्ति थियो कि स्टारबक्स स्टोर तुलनात्मक रुपमा सफा र चिटिक्क देखिन्थ्यो । त्यहाँ घण्टौँ बसी रहेको व्यक्ति हात मच्चाइ–मच्चाइ गफ हानिरहेको हुन्थेन, शान्त भावमा कि त कम्प्युटरका किबोर्डमा औंला चलाइरहेको हुन्थ्यो या किताबका पन्नाहरुमा आँखा नचाइरहेको ।

मलाई सुरुमा स्टारबक्सको वातावरणले नै लोभ्यायो । बिस्तारै कफीको तीतो स्वाद पनि प्रिय लाग्न थाल्यो । साथै एउटा चिया पसलको यो स्तरको सफलताप्रति दिनहुँ जिज्ञासा बढ्न थाल्यो । सन् १९७१ मा तीनजना युवाले अमेरिकी उत्तर पश्चिमी राज्य वासिङ्टनको सियाटलस्थित पाइक प्लेस मार्केटमा स्टारबक्सको पहिलो स्टोर सञ्चालनमा ल्याएको इन्टरनेटबाट थाहा भयो । साथै कम्पनीका थप आरोहबारे पनि अध्ययनको जाँगर चल्यो । कफी खेतीका लागि प्रसिद्धी कमाएको सियाटलमा स्टारबक्स स्थापना गर्दा जेरी बाल्डविन, जेभ सिगल र गोर्डोन बोकरले कम्पनीको यो सफलताको सपना देखेका थिएनन् । उनीहरुले कफी पसलमा कही फरकपना दिने कोसिस गरे । त्यसको फलस्वरुप अमेरिकाका अन्य शहरमा पनि बिस्तारै स्टारबक्स फैलिन थाल्यो । कम्पनीले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय सञ्जालको रुपमा जापानको टोकियोमा स्टोर खोलेको थियो । उक्त स्टोरले सफलताको तीव्र छलाङ मारेपछि कम्पनी सञ्चालकहरुमा नयाँ रक्तसञ्चार सिर्जना भयो । त्यसले चीनजस्ता उदाउँदा र युरोपजस्ता परिपक्व दुबै बजारमा स्टारबक्स कफीलाई पु¥यायो । अहिले स्टारबक्ससँग कफीसँगै स्मुथीज, चिया, स्यान्डविच लगायतका उत्पादन पनि उपलब्ध छन् । कफीभन्दा चिया स्वस्थकर भन्ने बहस सुरु भएसँगै स्टारबक्सले आफ्नो मेनुमा उक्त पेय थप गरिहाल्यो ताकि स्टारबक्सलाई जीवनपद्धती बनाइसकेका उपभोक्ताको स्वाद र स्वास्थ्यप्रतिको चिन्ताले आफूलाई छोडेर नजाउन् । यस्तै चिया, कफीसँगै सामान्य भोक मेटाउन चाहने उपभोक्ताले पनि बाहिर भौंतारिनु नपरोस् भनेर स्याण्डविच थपियो ।

सामान्यतया चेन रेष्टुरेष्टहरु फ्रेञ्चाइजी शैलीमा चल्छन् । कम्पनीले स्टोर सञ्चालन गर्न दिएबापत निश्चित कमिसन, शुल्क या बिक्री÷नाफाको प्रतिशत लिन्छ । तर, स्टारबक्सको अवस्था भने फरक छ । यसले कसैलाई पनि फ्रेञ्चाइजी दिँदैन । आफ्नै स्वामित्वमा स्टोर सञ्चालन गर्छ । उपयुक्त लागेको ठाउँमा नयाँ स्टोर पनि आफैं खोल्छ । सारा फाष्टफुडको व्यापार ओरालो लागेका बेला स्टारबक्स भने निरन्तर चम्किरहेको छ । अहिले ७७ देशमा २८ हजार बढी स्टोरमार्फत स्टारबक्सको कफी सर्भ हुन्छ । सन् २०१७ मा कम्पनीले झण्डै साढे २२ अर्ब अमेरिकी डलरको व्यापार गरेको थियो । त्यसमा झण्डै ३ अर्ब अमेरिकी डलर खुद मुनाफा थियो । कम्पनीमा साढे २ लाख हाराहारीले रोजगारी पाएका छन् ।

सन् १९८२ मा खुद्रा बजार एवम् मार्केटिङ डाइरेक्टरका रुपमा कम्पनी प्रवेश गरेका होवार्ड स्कुल्जले स्टारबक्सलाई विश्वव्यापी सफलता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अहिले उनी कम्पनीको सबैभन्दा ठूलो शेयरधनीसमेत हुन् । स्कुल्जसँग स्टारबक्सको झण्डै ४ करोड कित्ता शेयर रहेको छ । लामो समय कार्यकारी अध्यक्ष रहेका उनले गत जुनमा राजीनामा दिएका थिए । उनी सन् २०२० मा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको दाबेदार बन्ने अपेक्षासमेत गरिएको छ । स्कुल्ज बाहिरिएपछि जेजे सिमले कार्यकारी अध्यक्षको रुपमा कम्पनीको कमाण्ड सम्हालेका छन् ।

४७ वर्षको इतिहासमा स्टारबक्सले चिया पसल पनि एउटा विश्वव्यापी ब्राण्ड बन्न सक्छ भन्ने नजिर मात्र बनाएको छैन व्यवसाय पैसा होइन सिर्जनशिलताकै जगमा टिक्छ भन्ने नमुनासमेत स्थापना गरेको छ । यसपाली नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले सियाटलमा साधारणसभा आयोजना गर्ने सूचना पाउनेबित्तिकै म स्टारबक्सको पहिलो स्टोर देख्ने हुटहुटीले सबैभन्दा रोमाञ्चित बनेको थिएँ । २० तारिख मध्यरातमा सियाटल ल्याण्ड गरेका हामीले २१ तारिख बिहानको पहिलो गन्तव्य स्टारबक्सको पहिलो स्टोरलाई बनायौं ।

पाइकप्लेस मार्केट आफैंमा पुरानो शैलीको बजार रहेछ । इँटा ओछ्याइएको बाटोमा दायाँ मकै पोलेर बेच्ने, जुस र फलफुल बेच्ने ससाना पसल थिए । त्यो बजार आफैंमा पर्यटकीय गन्तव्य रहेछ । अमेरिकाका विभिन्न भेगबाट आएका पर्यटक कतै मकै त कतै फलफूल किन्दै गरेका भेटिए । इँटा ओछ्याएको बाटो झण्डै ३ सय मिटर हिँडेपछि स्टारबक्सको पहिलो स्टोर देखियो । तर, स्टोर छिर्ने उपाय थिएन । भित्र छिर्न झण्डै ५ सय जनाको लाइन थियो, त्यसमा सबै मूल र अनुहारका मान्छे थिए । आफ्नो स्थानीय भूगोलमा स्टारबक्सको कफीसँग लोभिएकाहरु पहिलो स्टोरमा एक कप कफी र केही मायाको चिनो किनेर सम्झना जीवन्त बनाउने बताउँदै थिए । सियाटल पुगेका कफीपारखी एक पटक नपुगी नफर्किने कारणले पहिलो स्टोरमा सदैव भिड लाग्दो रहेछ । झण्डै २ सय वर्गफिटको सानो यो स्टोरमा भने कफी खरिद पनि पशुपतिनाथको दर्शन शैलीमा हुँदो रहेछ । स्टारबक्सका अरु स्टोर जस्तो यहाँ बस्ने मेच टेबलको व्यवस्था छैन । लाइन बसेका सबै कफीपारखीमा साउने सोमबारमा पशुपतिनाथ दर्शनका लागि बसको तीर्थालुमा जस्तै उत्साह देखिन्थ्यो ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा