नेजामा नयाँ कार्यसमिति

नेजामा नयाँ कार्यसमिति

वासिङ्टन । अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा)मा सुदीपराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा आइतबार आयोजना गरिएको अधिवेशनमा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । अमेरिकाका बिभिन्न राज्यमा छरिएर रहेका पत्रकारहरुसम्म संस्थाको पहुँच पु¥याउने उद्देश्यले नेजाको छैटौं अधिवेशन सियाटलमा सम्पन्न गरिएको हो ।

पन्तको नेतृत्व रहेको कार्यसमितिमा उपाध्यक्ष विकासराज न्यौपाने, महासचिव किरण मरहट्ठा, सचिव सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, क्षेत्रीय संयोजकहरुमा पूर्व क्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रो क्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाल चुनिएका हुन् । सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल छन् । अधिवेशनले सिङ्गो कार्यसमितिलाई नै निविरोध निर्वाचित गरेको हो ।

अधिवेशन सम्पन्नलगत्तै नयाँ कार्यसमितिको पहिलो बैठक बसेको थियो । बैठकले रिक्त पदमा नेजाका पूर्वसचिव अग्नि चौलागाईंलाई मनोनयन गरेको छ । स्थापना कालदेखि नै नेजाले नेपालमा रही सक्रिय पत्रकारिता गर्नेहरुलाई प्रोत्साहन गर्न ग्रामीण पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । अधिवेशनको औपचारिक उद्घाटन कार्यक्रममा निवर्तमान कार्यसमितिले यस वर्षको ग्रामीण पत्रकारिता पुरस्कार ओखलढुङ्गाका कान्तिपुर संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । विगतमा १ लाख १ हजार १ सय ११ राशीको पुरस्कारलाई यसै वर्ष बढाइएको नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । नेपाल पत्रकार महासंघसँग समन्वय गरी छनौट समिति गठन गरी पुरस्कृतको नाम छनौट गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको बैठकले नेजाको पूर्व कार्यसमिति, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ र अधिवेशन आयोजक समितिलाई धन्यवाद प्रस्ताव पारित गरेको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको सहभागिता थियो । स्थापनाकालदेखि नै नेजाले महासंघसँग समन्वय गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा