नेपाली क्रिकेट टोली ऐतिहासिक संघारमा

नेपाली क्रिकेट टोली ऐतिहासिक संघारमा

काठमाडौं । नेपाली क्रिकेट टोली नेदरल्याण्ड्समा आफ्नो करियरकै ऐतिहासिक क्षणमा उभिएको छ । नेपाली क्रिकेटका लागि गौरवपूर्ण र ऐतिहासिक परिघटना नेदरल्याण्ड्समा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ । आगामी बुधबार र शुक्रबार नेपालले नेदरल्याण्ड्ससँग आफ्नो पहिलो एकदिवसीय क्रिकेट शृङ्खला खेल्नेछ । यो नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हो । त्यसका लागि नेपाली क्रिकेट टोली नेदरल्याण्ड्स पुगिसकेको छ ।

एकदिवसीय क्रिकेट शृङ्खलाको तयारीस्वरुप आइतबार नेपालले इङल्याण्डको लड्र्समा त्रिकोणात्मक टी–ट्वेन्टी शृङखला खेलेको थियो । उक्त खेलमा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बने । नेपालले आयोजक एमसीसी अर्थात् मेरिलिबोन क्रिकेट क्लबलाई ९ विकेटले हरायो । नेदरल्याण्ड्ससँगको खेल भने वर्षाका कारण प्रभावित भएपछि एमसीसीलाई १० रनले हराएको नेदरल्याण्ड्स र नेपाल संयुक्त रुपमा विजेता घोषित भए ।

नेपाली क्रिकेट टोलीले पहिलो पटक ओडीआई स्टाटस प्राप्त गरेपछि पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यसको तयारीस्वरुप नेपालले इङ्ल्याण्ड बसाइँमा विभिन्न स्थानीय क्लबसँग अभ्यास म्याच खेलेको थियो ।

नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोली नेदरल्याण्ड्ससँगको क्रिकेटका लागि तयारी अवस्थामा रहेको बताएका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेलको स्थानीय अनलाइनट टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन् । यसअघि सन् २०१५ मा नेपालले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो । पाँच वर्षअघि डिभिजन पाँच खेलिरहेको नेपालको सफलतामा कप्तान पारस खड्का नेतृत्वमा रहेका सबै खेलाडीको महत्वपूर्ण योगदान छ । यो बीचमा नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ ।

नेपाल केही महिना अघि मात्र विश्व क्रिकेटका १६ देशमा पर्न सफल भएको हो । नेपालले आगामी चारवर्षसम्म ओडिआई स्टाटस प्राप्त गरेको छ । यो स्टाटस सुरक्षित गर्दै अगाडि बढ्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको कप्तान पारस खड्काले बताएका छन् । उनी नेपाली क्रिकेटको अबको लक्ष्य टेष्ट राष्ट्र बन्नु रहेको बताएका छन् । उनले भनेका छन्– ‘हाम्रो अबको लक्ष्य भनेको टेष्ट राष्ट्र हो । नेदरल्याण्ड्सविरुद्धको दुई म्याचको शृङ्खलाले हामीलाई आफ्नो क्षमता उजागर गर्न थप मौका दिएको छ । हामी शृङ्खलामा सफल हुनेछौं ।’ त्यसो त नेपाली क्रिकेट टोलीले सन् २०१३ मा बंगलादेशमा हुने आइसीसी टी–ट्वेन्टी विश्वकपमा पहिलो पटक सहभागी भएर नेपाली क्रिकेट टोलीले संसारको ध्यान तानेको थियो । विश्वकपमा समेत नेपालले राम्रो प्रदर्शन गरेको थियो । 

जिम्बावेमा भएको विश्वकप छनोटले नेपाली क्रिकेटलाई अहिलेसम्मकै माथि पु¥याएको हो । भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्याण्ड, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका क्रिकेटका महारथीहरुले नेपाली क्रिकेट टोलीसँग चाहेको अवस्थामा खेल्न सक्नेछन् । जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको हो । कम्तीमा चार वर्षका लागि ओडिआई स्टाटस लिएको टोली अहिले नेदरल्याण्ड्सविरुद्ध खेल्नका लागि उसकै मैदानमा पुगेको छ । नेपाली क्रिकेटप्रेमी पनि आसपासका देशबाट त्यहाँ पुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ओडिआई स्टाटसलाई दुई वर्गमा विभाजन गरेको छ । स्थायी रुपमा ओडिआई स्टाटस गर्ने देशहरु र अस्थायी रुपमा ओडिआई स्टाटस पाउने देशगरी दुई समूहमा यसको मान्यता रहेको छ । आइसीसीका अनुसार अष्टे«लिया र इङ्ल्याण्ड सन् १९७१ देखि स्थायी सदस्य छन् । न्यूजिल्याण्ड, पाकिस्तान र वेष्टइन्डीज सन् १९७३ देखि, भारत सन् १९७४ देखि, श्रीलंका सन् १९८२ देखि, दक्षिण अफ्रिका सन् १९९१ देखि, जिम्बावे सन् १९९३ देखि, बंगलादेश सन् १९९७ देखि, अफगानिस्तान र आयरल्याण्डले सन् २०१७ देखि स्थायी रुपमा ओडिआई स्टाटस प्राप्त गरेका छन् ।

अस्थायी एकदिवसीय मान्यता पाउने टोलीको भने फेरबदल भैरहन्छ । एकपटक स्टाटस पाउने र गुमाउने टोली धेरै छन् । अहिले स्टकल्याण्ड, यूएई, नेदरल्याण्ड्स र नेपाल अस्थायी रुपमा ओडिआई स्टाटस प्राप्त गर्न सफल भएका छन् । सबैको स्टाटस कम्तीमा पनि सन् २०२२ सम्म कायम रहनेछ । स्कटल्याण्ड सन् २००६ देखि राम्रो प्रदर्शन गर्दै अस्थायी रुपमा ओडिआई स्टाटसमा छ । यूएईले पनि सन् २०१४ देखि लगातार आफूलाई ओडिआई स्टाटसमा राख्न सफलता प्राप्त गरेको छ भने नेदरल्याण्ड्सले पनि नेपालले जस्तै अब सन् २०२२ सम्म ओडिआई स्टाटस पाएको छ । नेदरल्याण्ड्स विश्व क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गरेको टोली हो ।

एकदिवसीय मान्यता प्राप्त गरेर खोसिएका धेरै टीम छन् । हङकङको पनि एकदिवसीय मान्यता यस पटक खोसिएको छ । उसले सन् २००४ मा पहिलो पटक ओडिआई स्टाटस प्राप्त गरेको थियो । सन् १९७९ मा विश्वकप खेलेको क्यानडा अहिले नेपालभन्दा धेरै पछाडि छ । सन् १९९६ मा पहिलो पटक विश्वकपमा सहभागी भएको केन्या पनि धेरै पछि छ । उसले अहिलेसम्म पाँच पटक विश्वकपसमेत खेलिसकेको छ । पपुवा न्यूगिनीसमेत ओडिआई स्टाटस खोसिने देशमा परेको छ । पपुवा न्यूगिनीले अहिलेसम्म १८ वटा एकदिवसीय म्याच खेलिसकेको थियो । तर, अहिले उसको स्टाटस खोसिएको छ । नामिबियाले पनि सन् २००३ मा विश्वकप खेलेको थियो । सन् २००७ मा विश्वकपमा सहभागी भएको बर्मुडा पनि नेपालभन्दा धेरै पछि छ । मलेसिया, सिंगापुर लगायतका पटक–पटक विश्वकप क्रिकेट खेलेका देशहरुसमेत अहिले झन्झन् खस्किँदो अवस्थामा पुगेका छन् ।

एकदिवसीय मान्यतासँगै नेपालले विश्व क्रिकेटको बरियतामा १६औं स्थान प्राप्त गर्न सफल भएको छ । आईसीसीले तयार पारेका क्यालेण्डरअनुसार नेपालले जुनसुकै देशसँग पनि खेल्न सक्छ । तर, मुख्य देशले एसोसिएट देशसँग क्रिकेट खेल्न रुची गर्दैनन् । नेपालले अर्को कुनै देशसँग प्रस्ताव राख्ने र त्यहाँको क्रिकेट संघले स्वीकार गरेको अवस्थामा खेल हुन सक्ने छ । उदाहरणका लागि नेपाल सरकारले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसिसीआई)मा प्रस्ताव पठाउने र उसले स्वीकार गरेको अवस्थामा नेपालले भारतसँग पनि एकदिवसीय क्रिकेट खेल्न सक्ने छ । त्यसका लागि नेपालले आवश्यक पूर्वाधारमा ध्यान दिन आवश्यक छ । अन्तर्राष्ट्रियस्तरका क्रिकेट मैदान नेपालका लागि पहिलो आवश्यकता बनेको छ । नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको विवाद अन्त्य गर्दै बोर्ड प्रणालीमा क्रिकेटको  संरचना नबनाएसम्म नेपाली क्रिकेटले उच्चतम प्रगति गर्न सक्दैन । अहिले प्राप्त उपलब्धिलाई सुरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्नका लागि नेपाल सरकार बढी जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको छ ।   

नेपालले सन् १९८८ मा आईसीसीको सदस्यता पाएको थियो । तर, त्यसको ठीक आठ वर्षपछि अर्थात् सन १९९६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको थियो । अहिले नेपाली क्रिकेट टोली संघर्ष मात्र होइन व्यावसायिक पनि बन्दै गएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको सहभागिताले नेपाली क्रिकेटको व्यावसायिक ढोका खुलेको छ । लामिछानेले ग्लोबल टी–ट्वेन्टी खेलिसकेका छन् भने क्यारेबियन प्रिमियर लिगको तयारी छ । त्यसैले पछिल्लो समय नेपाली क्रिकेटको संसारभर चर्चा–परिचर्चा चुलिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार