‘कान्छी’ ल्याउने तयारीमा राजेशपायल राई

‘कान्छी’ ल्याउने तयारीमा राजेशपायल राई

न्यूयोर्क । संगीत क्षेत्रका किङ राजेशपायल राईले पछिल्लो समय ‘कान्छी’ नामक म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरेका छन् । राई अमेरिका आएको मौका छोपेर ‘कान्छी तिम्रै सम्झनामा लैलै...’ बोलको गीत रेकर्ड गराइएको हो । यसको म्युजिक भिडियो भने नेपालमै तयार गरिएको छ । 

ललितपुर नजिकैको आशापुरी गाउँको वास्तविक परिवेशलाई जस्ताको तस्तै म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा कान्छीले गाउँकी सोझी र श्रीमान्लाई अत्यन्तै माया गर्ने असल महिलाको अभिनय गरेकी छिन् । आफ्नो श्रीमान् कामको खोजीमा शहर पसेपछि कान्छीले श्रीमानलाई सम्झिएर बिताएका पलहरु र काठमाडौं शहरमा दुःख गरिरहेको श्रीमान्ले गाउँमै छोडेकी श्रीमतीको सम्झनालाई लाई संगीतकार राजेश गुरुङ ‘रहर’ले शब्दमा उतारेका हुन् भने गीतको संगीत पनि उनैले भरेका छन् ।

म्युजिक भिडियोमा नेपाली चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’का अभिनेता राजेश गुरुङ र कालाकार रोहिणी लामाले कान्छा र कान्छीको अभिनय गरेका छन् । ‘गीतमा कान्छा र कान्छीको अभिनय साँच्चिकै जीवन्त छ,’ गीतको शब्द रचना र संगीत भरेका राजेश रहरले भने, ‘सम्पादनका क्रममा म्युजिक भिडियो हेर्दा म निकै भावुक भएँ ।’ भर्खरै विवाह गरेका दम्पती छुट्टिएर बस्नु पर्दाको पीडालाई शब्दमा कोरिएको छ ।

म्युजिक भिडियो निर्माणका क्रममा शब्द संगीत राजेश ‘रहर’, कलाकार राजेश गुरुङ र गायक राजेशपायल राई गरी तीन जना राजेशको संलग्नता भएकाले कतिपयले तीन राजेशकी एक्ली ‘कान्छी’ भन्दै जिस्क्याउने गरेको पनि राजेश रहरले सुनाए ।

यतिखेर म्युजिक भिडियोको छायाङ्कनको काम सकिएको छ भने सम्पादनको काम धमाधम भइरहेको छ । नजिकै आउँदै गरेको महिलाहरुको महान चाड तीजपछि दशैं अघि पारेर मात्रै म्युजिक भिडियो बजारमा ल्याइने तयारी भइरहेको छ । 

गीतको निर्देशन विजय बिस्फोटले गरेका हुन् । ४ दशकदेखि थियटरमा काम गरेर थियटर निर्देशक विजयले म्युजिक भिडियो तयार गर्नुअघि कालाकारहरुलाई राखेर ५ दिनसम्म वर्कशप गराएका थिए । उमेरले पाको र निकै अनुभवी बिजयले निकै मेहनतका साथ निर्देशन गरेकोले म्युजिक भिडियो निकै उत्कृष्ट बन्नेमा आफू विश्वस्त रहेको राजेश रहरको भनाइ छ ।

सुनौलो भविष्यका लागि संघर्षरत नेपालको एउटा दुर्गम पहाडी गाउँका एक दम्पतीको जीवनकथामा आधारित म्युजिक भिडियोमा शहर र गाउँको परिवेशलाई समेटिएको छ । एक दम्पतीको प्रेम, विश्वास र संघर्षको कथालाई गीतका शब्दमा उतारिएको छ भने कलाकारहरुले जीवन्त अभिनय गरेर त्यसलाई न्याय गरेको छ । यसमा अन्य म्युजिक भिडियोमा जस्तो पात्रहरु नाचेका छैनन् । त्यो गाउँको परिवेश, ती दम्पतीबीचको प्रेम र दुःख, संघर्ष र पीडा पोखिएका शब्दलाई कलाकारको अभिनयले पुष्टि गरेको छ ।

यसका निर्माता राजेश रहर, राजेश गुरुङ, प्रज्ज्वल शम्शेर राणा, प्रभात मानसिंह प्रधान हुन् ।

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार