नेपालमा लगानी गर्ने उपयुक्त समय

नेपालमा लगानी गर्ने उपयुक्त समय
सरोज सिग्देल
 
अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो ।  हाल उत्कृष्ट लगानीको गन्तव्य पनि हो भन्ने कुरा हामी जस्ता प्रवासमा बस्ने धेरैलाई थाहा नहुन सक्छ । तसर्थ, ठूला तथा साना दुवैखाले लगानीकर्ताहरुले यसलाई उचित अवसरका रुपमा लिन सक्छौं । विश्व अर्थतन्त्रको महत्वपूर्ण साझेदार चिन र भारतको विचमा रहेको नेपालले यसवाट भरपुर फाइदा उठाउन सक्दछ  । सही निति, सही नेतृत्व र काम गर्ने उत्साह हुँदा नेपालको आर्थिक वृद्दिदर समेत बढ्नेमा दुइ मत छैन । सन् २०१५ मा गएको महाभुकम्प आर्थिक रुपमा नेपाल कमजोर भएपनि अहिले विस्तारैं आर्थिक अवस्थामा सुधार आएको सुचकांकहरुले देखाएको छ । 
यसो भन्दै गर्दा नेपालमै लगानी किन ? भन्ने प्रश्नले तपाईंहरुको मनमा डेरा जमाउन सक्छ । पछिल्लो दशकमा हामी विश्वको जुनसुकै देशमा बसोवास गरे पनि व्यापार, व्यवसाय र लगानीको क्षेत्रमा पनि आफ्नो अस्तित्व स्थापित गर्ने प्रयासमा छौं र केही हदसम्म सफलता पनि हासिल गरेका छौं । अर्थात् अहिले हामीमा स्वालम्वी व्यवसायी बन्ने लहरै आएको छ । उचित बजार, प्रतिफल र स्थायित्वका लागि विश्वभर भौंतारिरहेका हामीलाई यो कुरा थाहा नहुन पनि सक्छ लगानीको एक उचित गन्तव्य र समय नेपाल पनि हो ।
नेपालमा लगानी गर्नैपर्ने १० कारण 
१) नेपालको कुल जनसंख्याको ६१ प्रतिशत काम गर्ने उमेर समूहका छन् । तसर्थ उनीहरु सहजै उपलब्ध हुन्छन् ।
२) सस्तो ज्यालामा काम लगाउन सकिन्छ । न्यूनतम मासिक ८० अमेरिकी डलर ।
३) बजारको हिसाबले विश्वको आधा जनसंख्यासँगको पहुँच केवल १ सय २० माइल मात्र रहेको छ ।
४) विदेशी लगानीकर्ताहरुले पनि शतप्रतिशत इक्विटी शेयरमा लगानी गर्ने कानूनी व्यवस्था छ ।
५) कतिपय लगानीका क्षेत्रहरु अझै पनि भर्जिन छन् । अथवा, यहाँ अति न्यून प्रतिस्पर्धा छ ।
६) प्राथमिकतामा परेका लगानीका क्षेत्रमा कर छुट र न्यून आयकरको व्यवस्था रहेको छ ।
७) व्यवसाय शुरु गर्न सजिलो कानूनी व्यवस्था र कम लगानीबाट शुरु गर्न सकिनेछ ।
८) भारतसँगको खुल्ला बजार सिमाना, चाइनासँग ५ सय १२ भन्दा बढी उत्पादन र अमेरिकासाग ३ सय ५० को हाराहारीमा विनाकर सामान निर्यात गर्ने अवसर पनि रहेको छ । अन्य देशहरुले प्रदान गरेको अतिकम विकसित राष्ट्रको निशुल्क भन्सार सुविधाले फाइदा मिल्नेछ । 
९) तीव्र गतिमा भएको सूचना प्रविधिको विकास, दक्ष जनशक्तिको उपलब्धता, पूर्वाधारहरुको विकास, लगानीमैत्री वातावरण र व्यावसायिकता उन्मुख अर्थतन्त्र ।
१०) उच्च आर्थिक वृद्धिदर ७.९ प्रतिशत (२०१६ र ८ प्रतिशत प्रस्तावित (२०१८ साथै आर्थिक समृद्धिको मूलनारा बोकेको स्थायी सरकार ।
 
अर्को महत्वपूर्ण कुरा नेपालको शेयरबजार तीन वर्षयताकै न्यून बिन्दुमा छ, जुन लगानीकर्ताले प्रवेश गर्ने उपयुक्त समय हो । विद्युतीय कारोबार प्रणालीको विकास आत्मसात गरेको नेप्सेमा विश्वको कुनै पनि स्थानबाट कारोबार शुरु गर्न सकिने, त्यो पनि न्यूनतम एक डलरबाट र अमेरिका डलरको विनिमय दर उच्च भएकाले त्यसको पनि फाइदा उठाउन सकिन्छ ।
यसको साथै लगानीको जोखिम लिन नचाहने व्यक्तिहरुले पनि विभिन्न बैंक तथा वित्तीय संस्थाका मुद्दती खातामा पैसा जम्मा गरी वार्षिक १३ प्रतिशतसम्म ब्याज हासिल गर्न सक्नेछन् । जुन लगानीभन्दा कम छैन र साथै नेपाल सरकारले प्रदान गरेका वैदेशिक रोजगारी बचत तथा ऋणपत्रको खरिद पनि साना लगानीकर्ताका लागि उपयुक्त हुन सक्छन् ।
(लेखक अमेरिकामा रहेको नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका सदस्य हुन् । )

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा