पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ

पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ
रमेश श्रेष्ठ

सर्वप्रथम विश्व सन्देश टिम र अधिवक्ता रमेश श्रेष्ठलाई नमस्कार । मैले गतवर्ष अमेरिकी नागरिकता पाइसकेपछि बी–१/बी–२ भिसामा रहेकी मेरी श्रीमतीसँग विवाह गरी आई–४८५ निवेदन पेश गरेको थिएँ । मैले विवाह गर्दा मेरी श्रीमती भिजिटर भिसामा अमेरिका आएको ५२ दिन मात्र भएको थियो । उनको ६ महिना भिसा समाप्त हुनु ठीक एक महिना बाँकी रहँदा आई–१३० र आई–४८५ फायल गरेको थिएँ । अहिले आउने महिना अगष्टमा अन्तरवार्ताका लागि चिठी आएको छ । अन्तरवार्ताको तयारी गर्दागर्दै सुन्नमा आएको छ कि यस्तो अवस्थामा ३०/६०/९० दिनको नियम लागू हुन्छ भनेर । यो अवस्थामा हामीले कुन–कुन कुरामा विशेष तयारी गर्नुपर्ला ? पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ । धन्यवाद ।

– ओम बी., मेरिल्याण्ड

ओमजी, डिपार्टमेन्ट अफ स्टेट (डस) र युएससीआईएसले ३०/६० दिनको नियमको प्रयोग गरेको धेरै समय भए तापनि डसले सेप्टेम्बर १६, २०१७ देखि ३०/६० दिने नियमलाई खारेज गरी ९० दिने नियमको सुरुवात गरेको हो । यस नियमको मुख्य उद्देश्य के हो भने कुनै पनि नन–इमिग्रान्ट (बी–२ वा एफ–१) भिसामा केही अस्थायी कामका लागि जस्तै– टुरिष्ट भएर घुम्न वा विद्यार्थी भएर पढ्नका लागि निश्चित उद्देश्य, निश्चित समयका लागि अमेरिका प्रवेश गरेर, उक्त काम पूरा भएपछि आफ्नो मुलुक फर्केर जाने भनी युएस कन्सुलेट अफिसबाट भिसा प्राप्त गरी प्रवेश गर्नेहरुले अमेरिका प्रवेश गरेपछि अन्य भिसामा परिवर्तन गर्ने वा ग्रीनकार्डका लागि निवेदन पेश गर्ने अवस्था देखिएमा त्यस्ता विदेशी नागरिकहरुलाई झूटा कुरा पेश गरेको भनी कारबाही गर्ने हो ।

यस नियमअन्तर्गत यदि टुरिष्ट भिसा लिएर प्रवेश गर्नेले अमेरिकामा प्रवेश गरेपछि विवाह गरी आफ्नो अमेरिकी नागरिक श्रीमान्/श्रीमतीद्वारा पेश भएको आई–१३० का आधारमा ‘एड्जष्टमेन्ट अफ स्टाटस’ निवेदन अमेरिका प्रवेश गरेको दिनदेखि ९० दिनभित्र पेश गरेको देखिन आएमा युएस कन्सुलेट अफिसमा पेश गरेको ‘मनसाय’ गलत वा धोकापूर्ण रहेको मानिनेछ र उक्त निवेदकले पेश गरेको ‘चेन्ज अफ स्टाटस’ वा ‘एड्जष्टमेन्ट अफ स्टाटस’को निवेदन ‘मिसरिप्रिजेन्टेसन अफ मटेरियल फ्याक्ट’ वा ‘झूटो तथ्य पेश’ गरेको भनी उक्त पेन्डिङ रहन गएको निवेदनलाई अस्वीकृत गर्न सक्छ ।

यो ९० दिनको नियमको प्रयोग मुख्य गरी भिसा निवेदकले युएस एम्बेसीमा भिसा प्राप्त गर्दा प्रयोग गरेको उद्देश्य र आधारहरु सही सत्य थियो कि वा उक्त विदेशी नागरिकले अन्य मनसाय राखी अमेरिका प्रवेश गर्नका लागि प्रयोग गरेको आधार र कारणहरु गलत वा धोकापूर्ण थियो । यो ९० दिने नियम ‘बाइन्डिङ प्रिन्सिपल अर डिसिजन’ नभए तापनि यो नियमले अध्यागमन अधिकारीहरु र कन्सुलेट अफिसरहरुलाई केस बाई केस एनालाइसिस वा विश्लेषणमा कुनै फ्रड भएको छ कि छैन भनेर हेर्ने एउटा साधन (टुल)को रुपमा देखिन्छ ।

डसको ९० दिने नियम युएससीआईएसमा आधिकारिकरुपमा लागू हुने व्यवस्था नभए तापनि मार्च २८, २०१८ मा युएससीआईएसले यो ९० दिने नियमलाई आफ्नो पोलिसी मेमोमा समावेश गरेको छ । समष्टिगतरुपमा भन्ने हो भने अमेरिका प्रवेश गर्दा (बी–२ वा एफ–१) जस्ता भिसा लिएर प्रवेश गर्नेहरुले ९० दिनभित्रमै ‘एड्जष्टमेन्ट अफ स्टाटस’ वा ‘चेन्ज अफ स्टाटस’ का निवेदनहरु पेश गरेको खण्डमा केसको अवस्था हेरी उक्त निवेदकहरुले युएस कन्सुलेट अफिसलाई झूटा आधार दिई बी–२ वा एफ–१ स्टाटस प्राप्त गरेको तर अमेरिकामा लिगल रेसिडेन्ट वा अनय भिसामा रहनका लागि प्रवेश गर्ने मनसाय राखेको भनी ‘फ्रड’ वा ‘मिसरिप्रिजेन्टेसन’को आधारमा उक्त निवेदनहरु अस्वकिृत हुन सक्छ । त्यस अवस्थामा ‘फ्रड वेभर’ सहारा लिनुपर्ने हुन्छ । तपाईंको केसमा ५२ दिनमा विवाह गरे तापनि प्रवेश गरेको दिनदेखि ५ महिनापछि मात्र आई–४८५ एप्लिकेसन पेश भएकोले गर्दा ९० दिने नियम लागू हुने स्थिति देखिंदैन । तर, आएको १ महिनापछि नै विवाह भएकाले तपाईंले किन विवाह भएको ९० दिनभित्रमै गर्नुप¥यो भन्ने कुरालाई स्पष्ट पार्नुपर्ने हुन्छ । कुनै आकस्मिक परिस्थिति वा ‘चेन्ज अफ सिचुएसन’ देखाएमा समस्या नहोला ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा