नेपाली चलचित्र ‘कान्छी’ अमेरिकामा

नेपाली चलचित्र ‘कान्छी’ अमेरिकामा

न्यूयोर्क । नेपालमा सफलतापूर्वक चलिरहेको नयाँ नेपाली चलचित्र कान्छी ‘न्यूयोर्क’ लगायत अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन भइरहेको छ । गत आइतबार न्यूयोर्कको कुइन्सस्थित गुल्सन टेरेस, ढाका क्लबमा दुई पटक चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्रलाई अमेरिकासम्म ल्याएर प्रदर्शन गराउने सम्पूर्ण व्यवस्थापन बसन्त डान्स सेन्टरका क्रोरियोग्राफर विजय नकर्मीले गरेका हुन् । 

न्यूयोर्कपछि बोस्टन, बाल्टिमोर, भर्जिनिया, डिसी र बफेलोको रोचेस्टर गरी ६ ठाउँमा प्रदर्शन हुनेछ । ‘कान्छी’लाई अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गराउनका लागि चलचित्रकी निर्माता तथा नायिक श्वेता खड्का शुक्रबार मात्र अमेरिका आइपुगेकी हुन् । ‘विगतमा कोहिनुरलाई अत्यन्तै सफल बनाइदिनुभएका अमेरिकाका दर्शकसँगै बसेर कान्छी देखाउन पाउँदा अत्यन्तै खुसी छु’, कान्छीकी नायिका खड्काले भनिन्, ‘कान्छीलाई पनि यहाँहरुले माया गरिदिनुस् । एक पटक हेरिदिनुस् । कान्छीले पक्कै पनि तपाईंहरुको मन छुनेछ ।’

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन एकीकृत माझी बस्तीका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले उनी अमेरिका आइपुगेकी हुन् । भुइँचालोले भत्काएको सिन्धुपाल्चोकको निकै दुर्गम माझी बस्तीमा सरकारले खासै राहतका सेवा पु¥याउन नसकेको गुनासो गर्दै श्वेता श्री फाउण्डेसन स्थापना गरिएको र त्यसैमार्फत एकीकृत बस्ती निर्माणको काम भइरहेको पनि उनले जानकारी दिइन् ।

कान्छीका कोरियोग्राफर तथा नृत्य निर्देशक बसन्त श्रेष्ठ पनि नायिका खड्कासँगै अमेरिका आएका छन् । कोरियोग्राफर श्रेष्ठकैै छत्रछायाँमा आफूले कालाकारितामा प्रवेश गरेको र अमेरिकामा रहेका बसन्त डान्स सेन्टरका कोरियोग्राफर नकर्मीले सिकाएकै आधारमा आफू कलाकार भएको नायिका खड्का बताउँछिन् । ‘मेरा दुई गुरुहरुलाई राखेर चलचित्रको प्रदर्शन गराउने मेरो ठूलो इच्छा थियो, त्यसैले मेरो बाबा (बसन्त श्रेष्ठ)लाई लिएर अमेरिका आइपुगेकी हुँ’, उनले भनिन् ।

श्रेष्ठले कोरियोग्राफी गरेको कान्छीको चरी चट्ट परी भुरुरु... बोलको गीत डेढ करोडभन्दा बढीले हेरिसकेका छन् । विश्वभर रहेका नेपालीबीच उक्त गीत लोकप्रिय बनिरहेको छ । 

चलचित्रमा दयाहाङ राई, अनु शाह, विनोद न्यौपाने, कामेश्वर चौरसिया, अशान्त शर्मा, प्रज्वल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोख्रेलले संगीत दिएका छन् भने हिमाल केसीको एक्सन छ । हाल श्वेताश्री फउण्डेसनमार्फत माझी बस्तीमा ५३ वटा घर बनिरहेको उनले जानकारी दिइन् । बस्ती निर्माणको ६५ प्रतिशत काम भइसकेको र बाँकी काम पूरा गराउनका लागि खर्च आवश्यक परेको पनि उनले बताइन् । ‘एउटा घर निर्माण गरिसक्दा ११ लाख रुपैयाँ लाग्नेछ । हामीलाई ५३ वटा घर निर्माण गर्नुछ । अहिलेसम्म सबै व्यक्तिगत पहलमा मात्रै आर्थिक सहयोग जुटिरहेको छ । सरकारबाट पाउने सेवा सुविधा पाउन पनि सजिलो छैन । कान्छीबाट उठेको सम्पूर्ण रकम फाउण्डेसनमार्फत सामाजिक कार्यमा लगाउने छौं ।’ उनका स्वर्गीय श्रीमान् नायक श्रीकृष्ण श्रेष्ठको गाउँ सिन्धुपाल्चोक भएकाले त्यो गाउँप्रति आफ्नो सामिप्यता बढेको पनि उनले बताइन् ।

नेपालमा पनि कान्छीलाई दर्शकहरुले माया गरेकोले सफलता हासिल गरिरहेको उनी बताउँछिन् । विदेशमा बस्ने नेपालीले हेर्नैपर्ने चलचित्र भएकाले सबैले एक पटक हेरिदिन आग्रह गरेकी छिन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार