एप्पल– एकजना सन्काहाको साकार भएको सपना

एप्पल– एकजना सन्काहाको साकार भएको सपना

न्यूयोर्क । स्टिभ जब्सको जीवन कहानी विचित्रको छ । आप्रवासी मातापिताको कोखबाट जन्म, अर्कै दम्पतीबाट हुर्काइबढाइ, कलेज ड्रप आउट, जीवनबाटै बैरागिएर शान्तिको खोजीमा बुद्धमार्गमा प्रस्थान, अन्ततः एउटा सूचना प्रविधि कम्पनीबाट दुनियाँकै लागि चमत्कारी आविष्कार । यी सबैथोक भ्याइसकेर ५६ वर्षकै उमेरमा देहान्तसमेत ।

जब्सले छोडेर गए पनि उनको देनका रुपमा रहेको एप्पलको उन्नती यात्रा रोकिएको छैन । बरु एकपछि अर्को रेकर्ड बनाइरहेको छ । जब्सले धर्ती छोडेको सात वर्षपछि एप्पलले आफ्नो रेकर्ड यात्रामा फरक र विशिष्ट छलाङ मारेको छ– १० खर्ब अमेरिकी डलर बराबरको पहिलो अमेरिकी पब्लिक कम्पनी बनेर । गत बिहीबार एप्पलको एउटा शेयरको मूल्य २०७.०४ अमेरिकी डलर पुगेसँगै कम्पनीको बजार पूँजीकरण १० खर्ब अर्थात् एक ट्रिलियन अमेरिकी डलर पुगेको हो । कम्पनीको शेयर मूल्य बढ्ने क्रम रोकिएको छैन । सोमबार बजार हुँदा मूल्य थप दुई डलरले उकालो लागिसकेको छ ।

सन् २०१३ मा ७५ डलर प्रतिकित्ता रहेको एप्पलको शेयर मूल्य पाँच वर्षमा करिब तीन गुणाले बढेको हो । त्यसमा पनि सन् २०१८ मा मात्र कम्पनीको मूल्य २० प्रतिशतले बढेको छ । पछिल्लो समय अमेरिकी शेयरबजारमा निरन्तर आएको उछालका कारण कम्पनीको मूल्य पनि लगातार उकालो लाग्यो ।

दुनियाँमा १० खर्ब अमेरिकी डलरको बजार पूँजीकरण रेकर्ड भने पेट्रोचाइनाको नाममा छ । यो कम्पनी सन् २००७ मा सांघाइ स्टक एक्सचेञ्जमा सूचीकृत हुनेबित्तिकै बजार पूँजीकरणले रेकर्ड बनाएको थियो । तर, लगत्तै खस्किएको कम्पनीको मूल्यले फेरि उक्त उचाइँ छुन सकेको छैन । अहिले न्यूयोर्क स्टक एक्सचेञ्जमा समेत सूचिकृत भइसकेको कम्पनीको बजार पूँजीकरण दुई खर्ब अमेरिकी डलर रहेको छ । अहिले एपलले बनाएको रेकर्डमा भने अमेरिकाकै अमेजन एवम् गुगलले पछ्याइरहेका छन् । दुबैको बजार पुँजीकरण ८ खर्ब अमेरिकी डलरबाट उकालो लागिसकेको छ । बजारको गति यस्तै रहे उनीहरुले पनि १० खर्ब पूँजीकरणको सीमा नाघ्ने अपेक्षा गरिएको छ ।

सन् १९५५ जन्मिएका जब्स जति ट्यालेन्ट थिए उति नै लक्ष्य र उद्देश्यविहीन पनि । कलेजबाट छ महिनामै विरक्तिएर ड्रप आउट भएका उनी त्यसपछि क्रियटिभ कक्षामा भर्ना भए । तर, त्यहाँ पनि टिकेनन् । तर, उनमा कम्युटर एवम् प्रविधिप्रतिको रुची भने गहिरो थियो । सन् १९७४ मा जब्सले अटारी कम्पनीको भिडियो गेम डिजाइनरको जागिर सुरु गरे, तर केही महिनाभन्दा टिक्न सकेनन् । त्यसपछि झन् विरक्तिएर भारत पुगे बुद्धमार्गमार्फत आत्मिक ज्ञानको खोजीमा । दिल्लीको खचाखच भिडमा उनी झन् हराएको पो महसुस गर्न थाले । त्यसपछि फेरि अमेरिका फर्र्किएर साथी स्टिभ वोजनिकसँग मिलेर सन् १९७६ मै एप्पल कम्पनी दर्ता गरे । जब्स त्यतिबेला २१ वर्षका मात्र थिए । कम्पनीको उद्देश्य थियो– एप्पल आई नामक कम्प्युटर विक्री गर्ने । त्यसका लागि जब्सको पारिवारिक गराजलाई उनीहरुले अफिसको रुपमा उपयोग गरे । कम्पनीका लागि पैसा जुटाउन जब्सले आफ्नो फक्सवागन बस र वोजनिकले अति प्रिय साइन्टिफिक क्यालकुलेटर विक्री गरे । यी दुई दोस्तले कम्प्युटर उद्योगकै परिभाषा बदल्ने गरी इन्नोभेसन देखाए । उनीहरुले कम्प्युटरको आकार र मूल्य घटाउने लगायतका सुविधामार्फत सर्वसाधारणको पहुँच सहज गरिदिए ।

एप्पलले सुरुमा प्रतिगोटा ६६६.६६ अमेरिकी डलर दरले कम्प्युटर विक्री गरेको थियो । एप्पल वानको विक्रीबाट कम्पनीले ७ लाख ७४ हजार अमेरिकी डलर आम्दानी ग¥यो । त्यसको तीन वर्षपछि एप्पल सेकेन्ड सार्वजनिक गरिँदा विक्री ७०० प्रतिशतले बढ्यो । कम्पनीले त्यसबेला १३ करोड ९० लाख अमेरिकी डलरको व्यापार गरेको थियो । सन् १९८० मै एप्पल सार्वजनिक सूचीकरणमा गयो । त्यसबेला कम्पनीको बजार पूँजीकरण १ अर्ब २० करोड अमेरिकी डलर थियो ।

तर, त्यसपछि कम्पनीको गति एकनास हुन सकेन । सन् १९८५ मा आफैंले स्थापना गरेको एप्पल कम्पनी छोडेर जब्स आफैं बाहिरिए । उनले नेक्ष्ट इङ्क नामको नयाँ कम्पनी खोले, हार्डवेयर र सफ्टवेयरमा नयाँ इन्नोभेसन सुरु गर्ने ध्येयसाथ । अर्को वर्ष उनले पिक्सर एनिमेसन स्टुडियो पनि खरिद गरे । उनी बाहिरिएपछि एप्पलको गति झनै सुस्त भयो । उनीभित्र पनि आफ्नो पहिलो ‘सन्तान’को तिर्सना सकिएको थिएन । सन् १९९७ मा उनी फेरि पुरानो घर फर्किए पिक्सर एनिमेसन र एप्पलको मर्ज गराएर । उनी एकीकृत कम्पनीको प्रमुख कार्यकारी बने । उनले एप्पललाई छिट्टै ट्र्याकमा ल्याए । लगत्तै एप्पलले आईफोन, आईपड र म्याकबुक सार्वजनिक ग¥यो । सबैले विक्रीमा रेकर्ड राखे । सन् २००७ मै कम्पनीको प्रतिशेयर मूल्य १९९.९९ अमेरिकी डलरसम्म पुगेको थियो । बीचबीचमा सामान्य उतारचढाव व्यहोरे पनि कम्पनीका उत्पादन अहिलेसम्म मार्केट लिडर नै छन् । एप्पलका उत्पादन बोक्नुलाई विश्वभर नै एक प्रतिष्ठाको रुपमा अहिले पनि हेरिन्छ । जब्स सधैंका लागि गए पनि उनका मित्र टिम कुकले कम्पनी हाँकेका छन् । हरेक नयाँ प्रडक्टमा केही न केही इन्नोभेसन थपेका पनि छन् ।

हुँदाछँदाको गाडी बेचेर गराजमा सुरु गरेको कम्पनी आज दुनियाँको सबैभन्दा धनी बन्न पुग्दाको सफलता जब्स आफैं पनि कुनै ताराको रुप लिएर आकाशबाट पक्कै नियालिरहेका होलान् । 

एजेन्सीको सहयोगमा

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार