बालबालिका बोकेको गाडीमा आक्रमण, दर्जनौँको मृत्यु

 बालबालिका बोकेको गाडीमा आक्रमण, दर्जनौँको मृत्यु
 
 
यमन, साउन २५ ।  यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त घटनामा कैयौँ बालबालिका घाइते भएको बताइएको छ । 
आइसीआरसीले आफ्नो ट्वीटर पेजमा लेखेको छ, ‘दहमयान बजारतर्फ बालबालिकालाई लिएर हिँडेको बसमा हवाई आक्रमण भएपछि उत्तरी सादास्थित आइसीआरसीद्वारा सहयोगप्राप्त एक अस्पतालमा दर्जनौं मृतक बालबालिकालाई पु¥याइएको छ । घटनामा दर्जनौं व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको पनि ट्वीटरमा उल्लेख छ ।’ 
सन्देशमा थप भनिएको छ, ‘अन्तराष्ट्रिय मानवीय कानूनले युद्धमा गैरलडाकू व्यक्तिमाथिको आक्रमण निन्दनीय मानिन्छ । गैरलडाकू व्यक्तिको सुरक्षा युद्धको अनिवार्य शर्त हो ।’ 
यमनी हुथी विद्रोहीद्वारा सञ्चालित अल मसिरा टेलिभिजनले घटनामा ३९ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको जनाएको छ । उक्त टेलिभिजनअनुसार मृतक तथा घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् । 
यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ । 
घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ । 
गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन । 
राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको भन्ने प्रारम्भिक रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा