अस्थायी ग्रीनकार्डलाई कसरी स्थायी बनाउन सकिन्छ होला ?

अस्थायी ग्रीनकार्डलाई कसरी स्थायी बनाउन सकिन्छ होला ?
रमेश श्रेष्ठ

मेरो श्रीमान् युएस सिटिजनद्वारा स्पोन्सर भएर ग्रीनकार्ड प्राप्त गरी अमेरिका आएको डेढ वर्ष भयो । मलाई अमेरिका आउँदा २ वर्षको ग्रीनकार्ड दिएको थियो र २ वर्ष पुग्नुअगावै कन्डिसनल ग्रीनकार्डलाई १० वर्षे अथवा पर्मानेन्ट गर्नुपर्ने हुन्छ भनी सल्लाह दिएको थियो । अहिले मेरो श्रीमान्सँग मनमुटाव भएर डिभोर्स पनि भयो । कन्डिसन रिमोभल गर्ने निवेदनमा मेरो श्रीमान्को पनि सही हुनुपर्छ भन्ने सुनेको छु । अब कसरी मैले मेरो अस्थायी ग्रीनकार्डलाई स्थायी बनाउने होला ? केही उपाय छ कि ? सुझाव पाए आभारी हुने थिएँ ।

– संगीता, अमेरिका

युएस सिटिजनको स्पाउसको हैसियतले ग्रीनकार्ड पाउँदा सो ग्रीनकार्ड पाउने वा इमिग्रान्ट भिसा इस्यू हुने दिनमा यदि सो उनीहरुबीचको विवाहको अवधि २ वर्षभन्दा कम भएको खण्डमा, एलियन स्पाउसले २ वर्षको कन्डिसनल रेसिडेन्ट स्टाटस प्राप्त गर्नेछ । त्यस्ता कन्डिसनल रेसिडेन्ट स्टाटस पाएकाहरुले २१ महिनादेखि २४ महिनाको समयभित्रमा सो कन्डिसन रिमोभ गर्नका लागि आई–७५१ एप्लिकेसन भरी युएससीआईएसमा आफ्नो विवाहको कागजपत्रसमेत राखी दर्ता गर्नुपर्ने हुन्छ । आई–७५१ एप्लिकेसनको अवस्थामा दुवै युएस सिटिजन स्पाउस र एलियन स्पाउस दुवैले निवेदनमा सही गरी, विवाह कायमै रहेको र गुड फेथ म्यारिज रहेको तथ्य प्रमाणित गर्न विभिन्न किसिमका चिल्ड्रेन, फाइनान्स, इम्प्लोयमेन्ट, प्रोपर्टीज, हेल्थ, रेलिजन आदि झल्कने खालका दुवै श्रीमान् र श्रीमतीसँग सम्बन्ध राख्ने कागजपत्रहरु पनि संलग्न गर्नुपर्ने हुन्छ । युएससीआईएसलाई बोनाफाइड म्यारिज कायम रहेको कुरा विश्वास हुन आएमा आई–७५१ एप्लिकेसन एप्रुभ हुनेछ । यदि आई–७५१ एप्लिकेसन डिनाइड भएको खण्डमा एलियन स्पाउसलाई डीएचएसले रिमोभल प्रोसिडिङमा राखी इमिग्रेसन जज कहाँ जान भनी आदेश दिन सक्नेछ । इमिग्रेसन कोर्टमा केस गएको खण्डमा एलियन स्पाउसले फेरि पनि इमिग्रेसन जजसमक्ष आई–७५१ एप्लिकेसनको पुनः सुनुवाइ गर्नका लागि माग गर्न सक्दछ ।

तर, तपाईंको अवस्थामा यदि आई–७५१ एप्लिकेसन युएससीआईएसमा दाखिल गर्नुअगावै डिभोर्स भएको छ भने सो अवस्थामा पनि तपाईं आई–७५१ एप्लिकेसन तपाईंले मात्र सही गरी ज्वाइन्ट पेटिसन फायल गर्नुपर्ने नियमको वेभर माग गर्न सक्नुहुनेछ । यस अवस्थामा निवेदकले विवाह गुड फेथमा भएको तर विवाह डिभोर्सको कारणले टर्मिनेट भएको भनी वेभरको माग गर्न सक्दछ । यस्तो निवेदनको अवस्थामा निवेदकले विवाह बोनाफाइड भएको र गुडफेथ अर्थात् सही भावनाले गरेको हो, नकि ग्रीनकार्ड पाउनका लागि मात्र गरेको हो भनी साबित गर्न सक्नुपर्ने हुनेछ । यस अवस्थामा विवाह साँचो र सही भावनाले गरिएको भनी प्रमाणित गर्न विभिन्न कागजपत्रहरु पेश गर्नुपर्ने हुनेछ । युएससीआईएसलाई सो कुरा माथि सन्तुष्टि हुन आएमा निवेदन एप्रुभ हुनेछ । यसरी आई–७५१ निवेदन एप्रुभ भएमा, युएससीआईएसले १० वर्षको ग्रीनकार्ड पठाइदिनेछ । यदि आई–७५१ निवेदन अस्वीकृत भएमा युएससीआईएस, डीएचएसले तपाईंलाई रिमोभल प्रोसिडिङमा राखी इमिग्रेसन कोर्टमा पठाउन सक्नेछ । सो अवस्था आएमा इमिग्रेसन जजसमक्ष आई–७५१ एप्लिकेसनको पुनः सुनुवाइको माग गर्न सक्नुहुनेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार