शेयर किनबेच लगानीको रणनीति

शेयर किनबेच लगानीको रणनीति

‘सेल इन मे एण्ड गो अवे’ वाल स्ट्रीटमा प्रचलित एक पुरानो उखान हो । वित्तीय समुदायका दैनिक गफगाफ तथा सञ्चारमाध्यमहरुमा यो भनाइ बारम्बार सुन्न पाइन्छ । यसका साथै विभिन्न अरु कथनहरु पनि शेयरबजारमा प्रचलित छन्, जसले शेयरबजार कुनै न कुनै हिसाबले चक्रीय पद्दतिमा चल्दछ भन्ने कुरालाई निर्देशित गर्दछ । ‘जनवरी इफेक्ट, मण्डे इफेक्ट र ‘इन्ट्रा–डे इफेक्ट’ आदि यसका उदारणहरु हुन । यी भनाइहरु पुस्तौंपुस्तादेखि चलिआएका हुन् । आजको अवस्थामा पनि यी भनाइहरुमा के–कति विश्वसनीयता छ त ? भन्ने कुराहरुका बारेमा आफूले अध्ययन गरेर मात्र आफ्नो लगानीको रणनीतिक निर्णयहरुमा यी भनाइहरुको सारलाई प्रयोग गर्न सकिन्छ ।

नेपालमा शेयरबजारको इतिहास लामो नभए पनि विश्व इतिहासमा विगत चार शताब्दीदेखि यो चलिआएको छ । हामीले विश्वका पुराना शेयरबजारहरुका अनुभवहरुबाट धेरै कुराहरु सिक्नुपर्दछ । जुन कुरा आजको सूचना र प्रविधिको विकासले गर्दा धेरै सजिलो बनाइदिएको छ । चार शताब्दी लगाएर विश्वका पुराना शेयरबजारहरुले सिकेका कुराहरु आज हामी छोटो समय र लगानीमा नै सिक्न सक्ने भएका छौं ।

विश्वका धेरै शेयरबजारहरुमा सबैका आआफ्नै विशेषता हुन्छन्, जुन कुरा त्यही बजारमा कारोबार गर्ने लाखौं लगानीकर्ताहरुको किनबेच गर्ने बानी–व्यहोराहरुले निर्देशित गर्दछ । प्रत्येक शेयरबजारहरु पूर्ण रुपमा युनिक हुन्छन्, कुनै एक शेयरबजारमा लागू हुने लगानीका रणनीतिहरु कुनै अर्को बजारमा त्यही रुपमा लागू गर्दा फाइदाजनक नहुन पनि सक्दछ । त्यसैले शेयर लगानीका रणनीतिहरु समय–समयमा मूल्याङ्कन तथा परिमार्जन गर्दै लैजानुपर्दछ, त्यसका लागि कि लगानीकर्ता आफंैले शेयरहरुको विश्लेषण गर्न सिक्नुपर्दछ अथवा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श लिने बानी गर्नु लगानी सफलताका लागि राम्रो हुने गर्दछ ।

यी कुराहरु गर्दै आज नेपालको शेयरबजारलाई हामीले ‘बजार खुल्ला हुने दिन’हरुको आधारमा अमेरिकाको बजारसँग तुलना गरेका छौं । यसले हाम्रो बजारका सरोकारवालाहरुमा एक प्रकारको सूचना प्रदान गर्दछ भन्ने पनि विश्वास गरिएको छ ।

तलको तथ्याङ्क हेर्दा, अमेरिकाको शेयर बजार १ वर्षमा नेपालको शेयर बजारभन्दा २० दिन बढी खुल्दो रहेछ । हुन त अमेरिकाको शेयर बजारहरूमा कारोबार हुने कम्पनीहरुको संख्या नेपाली शेयर बजारमा दर्ता भएका कम्पनीहरुको तुलनामा ज्यादै बढी छ र लगानीकर्ताहरुको संख्या तथा लगानीका उपकरणहरु पनि त्यस्तै असाध्यै धेरै छन्, तर पनि यो तथ्याङ्कले नेपाली शेयर बजार अमेरिकी शेयर बजारको तुलनामा औसतमा धेरै दिन बन्द रहने रहेछ भन्ने देखाउँछ । हामी यो विश्वास गर्दछौं कि नेपाली शेयर बजारमा पनि कारोबार हुने कम्पनीहरुको वृद्धिसँगै बजार खुल्ने दिनहरु तथा बजार खुल्नुपूर्व र बजार बन्द (Extended Hours – Pre-Market and After-hours) भएपछि पनि कारोबार गर्ने प्रक्रियाको सुरुवात होस् भन्ने चाहन्छौ ।

त्यस्तै विगत ८ वर्षको एसएण्डपी ५०० र नेप्से इन्डेक्सको दैनिक प्रतिफल हेर्दा, नेप्सेमा हुने उतारचढाव तुलनात्मक रुपमा कम देखियो, यसको मतलब नेप्से, एसएण्डपी ५०० को तुलनामा थोरै भए पनि कम जोखिमयुक्त भन्ने देखाउँछ । यसले यदि अमेरिकामा बसोवास गर्ने नेपाली समुदायका लगानीकर्ताहरुले नेपालको शेयर बजारमा पनि लगानी गर्नुभयो भने (राम्रो कम्पनीमा लगानी गरेको खण्डमा) एसएण्डपी ५०० को जस्तै वा सोसरहको उतारचढाव हुने बजारमा लगानी हुने देखियो ।

तलको चित्रबाट थप के प्रष्ट हुन्छ भने, विगत ८ वर्षमा एसएण्डपी ५०० इन्डेक्सले ज्यादै धेरै थोरै पटक +५५ र –५५ का रेखाहरुलाई छोएको देखिन्छ तर त्यसको बिपरित नेप्से इन्डेक्सको दैनिक प्रतिफलले धेरै पटक +५५ र –५५ का रेखाहरुलाई छोएको देखिन्छ । यसले छोटो समयका लागि नेप्सेमा लगानी गर्ने लगानीकर्ताहरुले एसएण्डपी ५०० को तुलनामा धेरै पटक आफ्नो लगानीबाट नाफा लिन सक्ने अवस्थालाई देखाउँछ, यदि शेयरबजार घट्दा किन्ने र बजार बढ्दा बेच्ने रणनीति लागू गर्ने हो भने । सेयर बजारमा उतारचढाव हुने भनेको जोखिम हुने अवस्था भन्ने बुझाउँछ तर राम्रो कम्पनीका शेयरहरुमा लगानी गरि बढी जोखिम लिएको खण्डमा त्यस्तो लगानीबाट तुलनात्मक रुपमा बढी नै प्रतिफल हुन्छ भन्ने कुरा पनि शेयरबजारको सिद्धान्तमा हुन्छ । त्यो सिद्धान्तले नेप्सेमा राम्रोसँग लगानी गर्ने हो भने छोटो समयमा नै रामो प्रतिफल लिन सकिन्छ भन्ने कुराको विश्लेषण गर्दछ । जसका लागि विषयवस्तुको गहन अध्ययन, आफ्नो लगानी रणनीतिको लगातार प्रयोग, लगानी रणनीतिको पुनर्मूल्याङ्कन तथा परिमार्जन, आदिको आवश्यकता पर्दछ ।

त्यसैले कुनै पनि लगानीमा ‘हाई रिस्क–हाई रिटन्र्स’भन्दा पनि ‘हार्ड वर्क–हाई रिटन्र्स’ भन्ने सिद्धान्तअनुसार काम गर्नु उपयुक्त हुन्छ ।

हप्तामा कुनै विशेष बारमा मात्र शेयर किन्ने वा बेच्ने

भाग्यमा विश्वास गरी लगानी गर्ने लगानीकर्ताहरु पनि शेयर बजारमा हुने गर्दछन् । तर, के भाग्यले मात्र शेयर बजारबाट कमाउन सकिन्छ त ? त्यस्तै, कति मानिसहरुलाई हप्ताका कुनै दिनहरु मात्र विशेष वा आफ्नो लागि राम्रो हुने जस्तो पनि लाग्दछ । शेयर बजारका लागि के यस्ता कुराहरु उपयोगी हुन्छन् त ? यसका बारेमा यहाँ चर्चा गरांै ।

विगत १४० वर्षको Dow Jones index को तथ्याङ्कले के देखाउँछ भने हप्ताको पहिलो शेयर कारोबार हुने दिन अर्थात् सोमबार (अमेरिकाको लागि) शेयर बजार घट्ने गर्दछ किनकि हप्ताको अन्त्यमा आउने बजारका सूचनाहरु हप्ताको पहिलो दिनको कारोबारमा शेयरको मूल्यमा समायोजित हुने गर्दछन् ।

यसरी शेयर बजार घटेको दिनमा लगानीकर्ताले ‘नयाँ लगानी’ गर्ने हो भने र सोही हप्ताको कुनै अर्को दिन, जुन दिन शेयर बजार बढ्दछ, मा बेच्न सकेको खण्डमा छिटो–छिटो मुनाफा कमाउन सकिन्छ । विगत ८ वर्षको तथ्याङ्कलाई हेर्दा सोमबार एसएण्डपी ५०० घट्ने र  मंगलबार बढ्ने प्रवृत्ति देखियो । यसले छोटो समय– एक दिनमै लगानीबाट प्रतिफल लिन सकिन्छ भन्ने देखाउँछ, जुन कुरा अमेरिकी शेयर बजार, जहाँ पूर्णरुपमा अनलाइन कारोबार हुन्छ र विभिन्न शेयर ब्रोकरहरुले सुविधाको रुपमा आफ्ना लगानीकर्तालाई आज किनेको शेयर भोलिपल्ट नै बेच्न मिल्ने सुविधा दिन्छन्, मा सम्भव छ ।

सोही समयको नेप्सेको तथ्याङ्क हेर्दा, आइतबार समग्रमा शेयर बजार घट्ने र बिहीबार नेपाली शेयर बजार उच्च बिन्दुमा पुग्ने देखियो । यसले नेप्सेमा अनलाइन प्रविधि नभए तापनि यदि आइतबार किनेको शेयर बिहीबार बेच्न मिल्ने हो भने र यदि विगतको चक्र प्रवृत्ति आगामी दिनमा पनि रहने हो भने छोटो समयमा नै शेयर किनबेच गरी नाफा आर्जन गर्न सकिने अवस्था देखियो । तलको चित्रमा यो कुरालाई हेर्न पनि सकिन्छ ।

Disclaimer: Please note that these are not the specific investing suggestions for you to make profits, these are the analysis of the stock market behavior based on the data available in last 8 years for both markets. Do not make your investment decisions solely based on these conclusions. Investing involves risk, the risk of losing your MONEY!! Always consult with your investment advisors before making an investing decision. Invest at your own risk= This article and the analysis are for the educational and the awareness purpose ONLY (कृपया यही विश्लेषणको आधारमा आफ्नो लगानीको निर्णय नगर्नु होला । यो केवल जानकारी तथा शैक्षिक प्रयोजनको लागि तयार पारी तपाईंहरुको समक्ष ल्याइएको हो । शेयर लगानीमा तपाईंको पैसा घाटामा पनि जाने सम्भावना हुने भएकोले लगानी गर्नुपूर्व आफैं वा आफ्नो वित्तीय विश्लेषकसँग परामर्श गरी लगानी गर्न अनुरोध गर्दछौं)

नेप्से इन्डेक्सको एक अनुसन्धानमा विगत ३ वर्षको तथ्याङ्क मात्र भविष्यको अनुमानका लागि प्रयोग गर्न राम्रो हुन्छ भन्ने निष्कर्षको आधारमा बिगत तीन वर्षको मात्र तथ्याङ्कहरु अध्ययन गर्दा पनि सोही प्रवृत्ति– आइतबार घट्ने र बिहीबार घट्ने देखियो ।

अन्त्यमा, शेयर बजारमा कसैले पनि भविष्यका बारेमा पहिले नै भन्न नसक्ने हुँदा यो विश्लेषणको आधारमा कुनै संकेत लिन सकिन्छ कि भन्ने प्रयास गरिएको छ । जहाँ, नेप्सेमा आइतबार किन्ने र बिहीबार बेच्ने गर्दा छोटो समयमा नै केही मुनाफा कमाउन सकिन्छ कि भन्ने कुरा को चर्चा गरिएको छ ।

 

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार