कथा– यस्तो रहेछ अमेरिका

कथा– यस्तो रहेछ अमेरिका

बर्खा यामको मौसम आकाशमा कालो बादल मडारिँदै थियो । उता विवश क्षेत्रीको मन भने उज्यालो देखिन्थ्यो  । कारण उनलाई अमेरिकाको भिसा लाग्यो । साथीभाइ आफन्त सबैलाई खुसी साटासाट गर्नमा उनी मग्न भए । बधाई थाम्न उनलाई हम्मे पर्दै थियो । उनलाई चौथो पटक भर्दा ग्रीनकार्ड लोटरी (डिभी) प¥यो । यसले स्थायी बसोवासका लागि अमेरिका जाने  साइत जु¥यो । उनी यति उमङ्गित थिए की संसारकै एउटा युद्ध जितेको महसुस गर्दै थिए । निजामती सेवाको अधिकृतको जागिर तिलाञ्जली दिँदं क्षेत्री अमेरिका हानिने तारतम्यमा जुटे । गगनचुम्बी महल, चाक्ला अनि चिल्ला सडक, ठूला समुन्द्र र  डलरको कल्पनामा चुर्लुम्म डुबे । सामाजिक सञ्जालदेखि हलिउड सिनेमा देखिने ती दृश्यले अरुलाई जस्तै उनलाई पनि अमेरिकी मोहले तान्यो । वास्तविक भोगाइ अर्कै भए पनि ती दृश्यले उनको मन तान्नु स्वाभाविक पनि थियो ।

अमेरिकी सपनाले उनलाई स्थायी जागिरसमेत गौण बनायो । जागिरले उनको परिवारको डुङ्गा सहजै चल्दै थियो । जागिरको दौरान उनले लामो हात कहिल्यै गरेनन् । उनीसँगै वर्षौंदेखि जागिर खाएकाले धेरै प्रगति गरिसकेका थिए । शहरमा  आलिसान महल ठड्याएका थिए । जग्गा पनि जोडेका देखिन्थे । तर, उनले १२ वर्षको जागिरे दौडमा एक टुक्रा जग्गा पनि जोड्न सकेनन् । स्याङ्जाको विकट गाउँमा रहेको घर र पाखोबारी उनको नामको सम्पत्ति थियो । डेरामै जिन्दगी गुजारिरहेका थिए । यही भएर पनि उनमा जागिरको कमाइबाट सन्तुष्ट भएको महसुस भएन । उनले पनि अरुले झंै अमेरिकाको डलर कमाउने सपना बुनिरहे । श्रीमती र दुई वर्षकी छोरी च्यापेर मीठो कल्पनामा उनी अमेरिकाको बसाइँमा निस्के । डाँडामाथिको घाम भइसकेका बा–आमालाई गाउँमा छाडेर हिँडे । अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्न साथीभाइ र आफन्तहरु पुगे । सबैसँग बिदाइको हात हल्लाए । काठमाडौं, दोहा हुँदै अमेरिकाको टेक्सस राज्यको ड्यालस अन्तर्राष्ट्रिय विमानस्थलका लागि रवाना भए ।

आकाशमा उडिरहेको जहाजको उचाइँ जस्तै सपनाहरु बुन्दै उनी लामो यात्रापछि ड्यालस विमानस्थल अवतरण गरे । चेकआउट र लगेजहरु संकलन गर्ने काम सके । काकी नाता पर्नेका छोरा अभिजितले उनलाई ‘स्पोन्सर’ गरेका थिए । उनी आउने जानकारी पहिल्यै अवगत गराइसकेका थिए । विमानस्थलमा चार घन्टा बितिसक्दा अत्तोपत्तो भएन । न त फोन नै आयो । उनले सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । लामो यात्राले होला दुई वर्षे छोरी र श्रीमती गलित देखिन्थे । उनी आफैँ पनि तनावमा थिए । झण्डै पाँच घन्टाको पर्खाइपछि अभिजित सवारी लिएर एयरपोर्ट भित्रिए । ढिलाइ भएको बारेमा भने उनले आफ्नै विभिन्न समस्याहरु अघि सारे । खैर जे भए पनि उनले आफू बसेको अपार्टमेन्टमा लिएर गए । आफन्त सम्झेर आएका उनको परिवारलाई अभिजितले राम्रो व्यवहार देखाएनन् । हतोत्साहित बनाउने काम मात्रै गरे । चार दिन त्यहाँ बसेपछि उनलाई अपार्टमेन्ट खोजी दिए । नयाँ अर्पाटमेन्टमा सरे ।

झण्डै महिना दिन त्यत्तिकै  नेपालबाट ल्याएको खर्चले धाने । सोसल सेक्युरिटी कार्ड र ग्रीनकार्ड आएपछि उनी कामको खोजीमा निस्के । अपार्टमेन्ट खोजी दिएका अभिजितले जागिर खोज्न सहयोग गर्नु त परै जाओस्, सम्पर्कसमेत गर्न छाडिदिए । आफ्नै सम्झेर आएका विवशलाई उनको व्यवहारले मन भतभती पोलेर आयो । आफ्नै मान्छेमा विदेशी भूमिमा परायको भाव देखेर उनी भक्कानिए । ल्याएको रुपियाँ पनि सकिन लागेको थियो । परिवार चलाउन अनि अपार्टमेन्टको भाडा तिर्नका लागि उनलाई जसै काम चाहियो । विना अनुभव अनि भाषाको समस्याले उनलाई जागिरमा पनि समस्या भयो । भारतीय नागरिकले सञ्चालन गरेको ग्यास स्टोरमा मुस्किलले  नाइट सिफ्टमा काम पाए । रातको १२ देखि बिहानको ७ बजे सम्म उनको ड्युटी तोकियो । ग्यास स्टोरहरुमा नयाँलाई सुरुमा यही सिफ्टमा काम दिने गरिन्थ्यो । यो सिफ्टमा ग्राहक कम आउने भएकाले उनीहरुले स्टोरको सामान मिलाउने र कुलर सफा गर्ने काम गर्नुपथ्र्यो । घुम्ने कुर्सीमा बसेर काम गरेका उनलाई स्टोरको काम नितान्त नौलो र त्यत्तिकै कठिन पनि भयो । शून्यबाट उनको जीवन फेरि सुरु भयो यता । बसेर काम गर्न पाइँदैनथ्यो । उभिएरै आठ–दस घण्टा गर्नुपथ्र्यो । खुट्टाका पिडौंला करकरी खाएर कति पटक त कामको दौरान उनी थचक्कै भुइँमा बसे । परिवार चलाउन र खर्च जोहो गर्न काम नगरी सुखै थिएन । यही काम सिक्न र ग्राहकको अङ्ग्रेजी लवज बुझ्न पनि धेरै समय लाग्यो । छोरी सानी भएकाले श्रीमतीले पनि काम गर्न पाइनन् । सबै जिम्मेवारी उनको काँधमा थियो ।

दिन, महिना हँुदै वर्ष बितिरहे । उनको काम पनि ग्यास स्टोरमै अल्झिरह्यो । घण्टा हानेरै उनको दिनचर्या चलिरह्यो । स्टोरकै कामको सिलसिलामा उनले झण्डै ज्यान गुमाएनन् । रातको त्यही एक बज्दै थियो होला, ग्राहकको रुपमा आएका एक लुटेराले कसो उनको ज्यान लिएन । अमेरिका आएको पनि अहिले उनी पाँच वर्ष भइसक्यो । अझै पनि असुरक्षित महसुस गरिने ग्यास स्टोरमै काम गर्न बाध्य छन् । अन्यत्रभन्दा कामको घण्टा बढी दिने र कमाइ पनि राम्रो हुने भएकाले ग्यास स्टोर उनी जस्तै धेरैको बलजफ्ती रोजाइँ बन्छ यहाँ । छोरी स्कूल जान थालेपछि अहिले श्रीमतीले पनि पार्टटाइम काम गर्छिन् । काममा आउने–जाने र बच्चा हेर्ने दिनचर्यामा उनीहरुको जीवन बितेको छ । अमेरिका ओर्लिएपछि सुरु भएको उनको दुखद् यात्रा अहिलेसम्म पनि जारी छ । परिबन्दमा परेको जस्तो महसुस उनलाई हुन्छ । डलरको सपना, गगनचुम्बी महलको जुन सपना बुनेर उनी आएका थिए, त्यो सब अहिले निरर्थक लाग्छ उनलाई ।

यस्तो जिन्दगी सम्झेर कति पटक उनी स्वदेश फर्किने कोसिस नगरेका पनि हैनन् । स्थायी जागिरको राजीनामा अनि सबथोक त्यागेर आएका उनी चाहेर पनि जान सकेका थिएनन् । उनी एउटा दलदलमा फसिसकेका थिए । जहाँबाट उनी चाहेर पनि निस्कन सक्दैनथे । उताको सम्मानित जागिर र यताको शून्यबाट सुरु भएको जीवन नियालेर मन खिन्न बनाउँदै दिनचर्या बिताउँदैछन् । सातामा एक दिनको बिदामा किनमेल यताउति गर्दै उनलाई ठिक्क छ । खासै नेपालमा रहँदा जस्तो जीवनशैली यहाँ पाएनन् । सबै डलरको पछि कुदिरहेको देख्छन् । र, उनी पनि त्यही कुदाइमा छन् । कसैलाई कसैको चासो र सरोकार पाएनन् । यताको कमाइ अपार्टमेन्टको भाडा, इन्सुरेन्स लगायतका खर्च गर्दै ठिक्क भएको छ उनको । त्यो अमेरिकाको भिसा लागेको दिन जुन उत्साह र उमंग उनमा थियो अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । उनले बुझ्दैछन् डिभीलाई सबैले दुःख पाउने भिसा यसैले भन्दा रहेछन् । जुन वास्तविकता यहाँ आएपछि महसुस गरेका छन् । गगनचुम्बी महल अनि डलरको सपना सबै व्यर्थ लाग्छ अहिले उनलाई । भित्री दुःख जस्तै भए पनि सामाजिक सञ्जालहरुमा समुन्द्रको छाल अनि अग्ला घरलाई पृष्ठभूमि बनाउँदै अरुले झैं तस्वीरहरु खिचेर पोष्ट गर्छन् र मनमनै भन्छन्– ‘यही त हो अमेरिका’ ।

टेक्सस, अमेरिका

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार