यो पुरस्कार ऐतिहासिक पात्रप्रतिको सम्मान हो

यो पुरस्कार ऐतिहासिक पात्रप्रतिको सम्मान हो
निलम कार्की ‘निहारिका’

सञ्चारकर्मी तथा साहित्यकार निलम कार्की ‘निहारिका’द्वारा लिखित उपन्यास ‘योगमाया’ले मदन पुरस्कार जितेको छ । २०७४ सालमा प्रकाशित अन्तिम सिफारिशमा परेका ८ पुस्तकमध्येबाट योगमायालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय मदन पुरस्कार गुठीले गरेको हो । यस्तै, जगदम्बाश्री पुरस्कार बाल साहित्यको विकासमा लामो समयदेखि सक्रिय साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ । दुवै पुरस्कारको राशी जनही २ लाख नगद रहेको छ । मदन पुरस्कारका लागि अन्तिम ८ मा कार्कीद्वारा लिखित योगमायाका साथै धुव्र सत्य परियारद्वारा लिखित कैरन, सरस्वती प्रतीक्षाद्वारा लिखित नथिया, तीर्थ गुरुङद्वारा लिखित पाठशाला, यज्ञसद्वारा लिखित भुइँया, नयनराज पाण्डेद्वारा लिखित यार, राज माङलाङद्वारा लिखित लिम्बुनी गाउँ र मोहन वैद्य किरणद्वारा लिखित हिमाली दर्शन पुस्तक सिफारिशमा परेका थिए । पाल्पा जन्मघर भई हाल अमेरिकामा बस्दै आएकी साहित्यकार कार्कीले योगमाया उपन्यासमा १९३० को दशकमा भोजपुरको नेपालडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपानेको सामाजिक अभियानलाई उपन्यासमा उतारेकी छन् । समाज परिवर्तनमा योगमायाले खेलेको भूमिकाको सजीव वर्णन गरिएको उपन्यास कार्कीले स्थलगत अध्ययनपश्चात् तयार पारेकी हुन् । तत्कालीन समयमा अशिक्षित नेपाली समाजमा राणा शासनविरुद्व जनतामा आवाज बुलन्द गराउन योगमायाले नेतृत्वदायी भूमिका खेलेकी थिइन् । नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसकेकी कार्कीले यसअघि दुई वटा कविता संग्रह, तीन वटा कथा संग्रह तथा आइमाई र चिरहरण उपन्यास प्रकाशन गसिसकेकी छन् । उनको चिरहरण उपन्यासले २०७२ मा पद्मश्री पुरस्कार पाएको थियो । तिनै उपन्यासकार निलम कार्की निहारिकासँग हामीले कुराकानी गरेका छौं–

तपाईंको पछिल्लो कृति योगमायाले मदन पुरस्कार प्राप्त गरेको छ, सर्वप्रथम के भन्नुहुन्छ ?

यो अवसरमा म साहित्यकार एवम् सञ्चारकर्मी आदरणीय दाहाल यज्ञनिधिज्यूलाई सम्झन चाहन्छु । केही दिनअघि निधन हुनुभएका दाहालले मलाई योगमायाका बारेमा केही लेख्न सुझाउनुभएको थियो । त्यसका लागि उत्प्रेरित गर्नुभएको थियो । त्यसपछि यो उपन्यास लेखनका क्रममा मलाई सहयोग गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु । बारबारा निम्जरीदेखि लिएर धेरैको यसमा सहयोग रह्यो, म सबैलाई यो अवसरमा सम्झिन चाहन्छु ।

विषय पनि त जटिल थियो होला नि ?

पक्कै पनि यो विषय त्यति सहज थिएन । मेरो लागि पनि साह्रै सरल विषय थिएन । ऐतिहासिक पात्रमाथि लेखिन लागेको एउटा ऐतिहासिक दस्तावेज नै थियो । जब योगमायाका बारेमा लेख्न सुझाव आयो, त्यो बेला खाली योगमाया सामाजिक अभियन्ता थिइन्, बालविधवा थिइन्, उनले जल समाधी लिएकी थिइन् भन्ने कुरा मात्र थाहा थियो । जब यो विषयमा लेख्नुपर्छ कि भन्ने लाग्यो आएर गुगलमा सर्च गर्दासमेत त्योभन्दा खासै अरु विषय थाहा पाउन सकिन, तर त्यसमा लेख्न पर्छ भन्ने एक प्रकारको दृढता भयो । त्यसपछि बिस्तारै योगमायाबारे जोडिएका घटनाक्रमहरुको अध्ययन गर्न थालें, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गरी योगमायालाई जान्नेहरुसँग सम्पर्क बढाएँ । विषयहरु आउन थाले, तर धमिलो धमिलो गरी विषयहरु आइरहेका थिए, त्यतिले पुग्ने कुरा थिएन । उनीबारे विस्तृत अध्ययन गर्न जरुरी थियो, अनि स्थलगत अध्ययनका लागि योगमायाको गाउँ गएँ, त्यहाँ पुगेपछि धेरैसँग भेट हुने मौका पाएँ । योगमायासम्बन्धी लेखिएका लेखहरु संकलन गर्न थालें, योगमायालाई नजिकबाट जान्ने र जान्न खोजेकाहरुसँग भेट्ने संवाद गर्ने काम गरें । र, यो उपन्यासले धेरै संघर्षपछि स्वरुप ग्रहण गरेको थियो ।

विषयवस्तु जम्मा गर्नुमै संघर्ष गर्नुभयो, लेखनमा पनि उस्तै थियो होला ?

पक्कै पनि यो अन्य उपन्यास जस्तो हुँदैन भन्ने मलाई थियो । त्यो कुरा उपन्यास पढ्नुभएकाहरुले अनुभव गर्नुभयो होला । ऐतिहासिक विषयवस्तुमाथि, ऐतिहासिक पात्रमाथि लेख्न लागिएको एउटा साहित्यिक कृति थियो, म त भन्छु त्यो एउटा दस्तावेज नै थियो । अझ हामीले इतिहास पढ्न खोज्यौं भने धेरै कृतिहरु शासक पक्षसँग जोडिएका हुन्छन्, इतिहासलाई नियालेर जनतालाई प्रधान बनाएर लेखिएका पुस्तक निकै कम छन् । यो हिसावले पनि अलि अप्ठ्यारा पक्षहरु थिए । जब अध्ययनको दायरा बढाउँदै गएँ, योगमायासँग जोडिएका पात्रहरुसँग भेट्न थालें । इतिहास पल्टाउन थालें, योगमायाले नेतृत्व गरेका पक्षहरु कोट्याउन सुरु गरें, कतिपय विषयहरु पहिला सुनिएका वा सुनाइएका भन्दा फरक पर्न गयो । तिथिमितिमै फरक आउन थाल्यो । यसले केही अप्ठ्यारा अवस्था पनि निम्त्यायो, मनमा समेत के गर्ने र के नगर्ने भन्ने कुरा उठ्न थाल्यो, एक प्रकारको प्रेसर नै हुन थाल्यो । तर पनि यो विषय एउटा उपन्यास मात्र थिएन, साहित्यिक कृति मात्र थिएन, यो एउटा ऐतिहासिक पात्रमाथिको खोज पनि थियो । त्यसै कुरालाई प्रधान बनाएर लेख्न अघि बढें । लेखनमा समेत १९२४ तिरका विषयहरु समेट्नुपर्ने थियो, त्यो परिवेश, त्यतिखेरका भाषाशैलीलाई समेट्नुपर्ने थियो । उहाँ (योगमाया)का अनुयायीहरुका धारणालाई प्रतिकूल असर नपर्ने गरी लेख्नुपर्ने थियो, सबै विषय र मिति एक आपसमा मेल खानुपर्ने थियो, यसका लागि मैले धेरै नै मेहनत गरें, हुन त जुनसुकै कृतिका लागि पनि मेहनत गरिएको हुन्छ, सबैले गर्नुभएको हुन्छ नै, तर यसमा अलि बढी नै मेहनत थियो । मैले तथ्यांक संकलनलाई बढी जोड दिएँ, योगमायाको वंशावली नै अध्ययन गरें । अध्ययनपछि लेखनमा समेत मैले प्रथम पृष्ठ विन्दुमा यसलाई लेखें । त्यो लेख्दा धेरै विषयहरुमा ख्याल गर्नुपर्ने थियो, सायद त्यसमा न्याय गरे कि भन्ने लाग्छ । 

उसो भए ऐतिहासिक पात्रमाथि अझ कृतिहरु आउन जरुरी छ होइन ?

यस्ता विषयमा लेखिने कृति भविष्यका लागि इतिहास पल्टाउने आधार हुन्छन् । ऐतिहासिक उपन्यास वा कृति आउनुपर्दछ । शासकको इतिहास त हामी केही पढ्न पाउँछौं तर जनताको इतिहास पढ्न पाइरहेका हुँदैनौं । त्यसैले जनताको इतिहास पनि भविष्यमा जान्न सक्ने गरी यस्ता ऐतिहासिक उपन्यासहरु लेखिनुपर्दछ । सबैले जान्न पाउनुपर्दछ ।

अन्त्यमा केही ?

योगमायाले मदन पुरस्कार पाउनु योगमायाप्रतिको सम्मान पनि हो भन्न चाहन्छु । उहाँ (योगामाया)को योगदानको सम्मान पनि हो ।  यो पुरस्कार योगमाया उपन्यासका लागि मैले पाउँदा हर्षित छु । म साहित्य लेखनमा लागिरहेकी छु, भविष्यमा पनि यसरी नै लागिरहने कोसिस रहनेछ । यो अवसरमा म मेरा दिवंगत बुबा र दाइलाई सम्झन चाहन्छु र मेरो परिवार, मेरा शुभेच्छुक, पाठक वर्गलाई धन्यवाद दिन चाहन्छु एवम् यस कृति प्रकाशनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मलाई सहयोग गर्नेहरुप्रति हार्दिक सम्मान एवम् आभार व्यक्त गर्न चाहन्छु ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार