समृद्ध नेता, दुःखी नेपाली

समृद्ध नेता, दुःखी नेपाली

स्वभावैले वामपन्थीहरु नारा बनाउन र घटनाको ‘क्रेडिट’ लिन माहिर हुन्छन् । नेपालका विभिन्न घटनाक्रमहरुले यो सिद्ध गरिसकेको छ । यस्तो काममा नेपाली राजनीतिमा सबैभन्दा सफल पूर्व एमाले रहँदै आएको छ । देशका दुई ठूला वामपार्टी नेकपा एमाले र माओवादी मिलेर गत निर्वाचनमा बलियो जनमत पाउन सफल भए । त्यसपछि मुलुकको प्रमुख कार्यकारी पदमा पुगेका केपी शर्मा ओलीले निकै मीठो स्लोगन तयार पारे– समृद्ध नेपाल, सुखी नेपाली । निर्वाचनअघि जनताको मन र मत जित्न उनले ‘राष्ट्रवाद’को नारा उसैगरी घन्काएका थिए । २०७२ सालको महाभूकम्पले पारेको घाउमा अनाहकमा नाकाबन्दी गरेर निकटतम् छिमेकी भारतले नुनचुक दलिदिएको थियो । त्यस्तो अवस्थामा भारतविरुद्ध जनता खनिनु स्वाभाविक थियो । त्यही मनोविज्ञानलाई बुझेर ओलीले राष्ट्रवादको नारा भजाएर निर्वाचन जित्न सफल भए ।

प्रधानमन्त्री भएपछिको नारा झनै आकर्षक रह्यो, सारा नेपालीलाई सुखी बनाउने र देशलाई समृद्ध पार्ने । त्यो नाराप्रति जसले बिमती राख्छ, उसलाई देशद्रोहीको बात लाग्न सक्ने अवस्था थियो केही अघिसम्म । यतिखेर तिनै मीठा नाराका आविष्कारक ओलीको सरकार गठन भएको दुई सय दिन हुन लागेको छ । यो अवधिलाई नै हेरेर कुनै पनि सरकारको सफलता–असफलता मापन गर्नु अलि हतारो हुन सक्छ । तर, ‘बिहानले दिनको संकेत गर्छ’ भन्ने पुरानो तथा सार्थक भनाइलाई मान्ने हो भने नेपाल र नेपालीले अहिले भोगिरहेको बिहान घमाइलो छैन । यो बिहानमा बादल लागेको छ, मौसम विरक्त र निराश बनाउने खालको छ । ओली आफँैले भनेका छन्– निराश जनता खतरनाक हुन्छन् । निराश जनताले कि त विद्रोह गर्छन् कि त निर्वाचनका बखत विपरीत विचारमा मत हालिदिन्छन् । तर, पनि दुःख कम भएन भने यो क्रम दोहोरिरहन्छ । वैकल्पिक चेतना पछिल्लो समय नेपालमा पनि मुखर बन्दै गएको छ । 

ओलीकालको यो छोटो अवधिमा मन्त्री, नेता (विभिन्न तह)को सेवासुविधा बढाउने काम मज्जाले भयो । तिनका निम्ति बिलासी गाडी खरिद, सामान्य रोगमा पनि राज्यको ढुकुटीबाट विदेशका महँगा अस्पतालमा उपचार, देशविदेश सयरजस्ता क्रियाकलाप ह्वात्तै बढे । नियुक्ति, पजनी, सरुवा–बढुवा–खोसुवाजस्ता कर्म पनि बाक्लै भए । यस्ता क्रियाकलापले थुप्रै नेतालाई समृद्ध बनायो । अन्य पेशा–व्यवसाय गर्दा कमाइने कहिले हो कहिले, राजनीतिमा लागेपछि दिन दुगुना–रात चौगुना समृद्ध हुन पाइने देखेपछि धेरै मान्छे यो कर्मतिर आकर्षित भए । पैसा हुनेले कुनै पनि दलमा महत्वपूर्ण पद पाउनु अब सामान्य कुरा भइसकेको छ । यसले राजनीतिलाई विकृत पार्दै लगेको छ भने असल, सदाचारी र पार्टीका वफादार कार्यकर्ता पाखा लाग्न पुगेका छन् । परिणामतः जनताको निराशा चुलाइदिएको छ, राजनीतिप्रतिको वितृष्णा बढाइदिएको छ ।

नेपाललाई कसरी विकसित मुलुक बनाउने भन्नेबारे संसद् तथा अन्य सभा–समारोहमा ओलीले धेरै कुरा बोलिसकेका छन् । वाक्पटु ओलीका भाषण सुन्दा नलठ्ठिने मान्छे विरलै होलान् । उनका फ्यान–फलोअर थुप्रै छन् । केरुङ–काठमाडौं रेल, रक्सौल–काठमाडौं विद्युतीय रेल, महानगरमा मेट्रोरेल, दु्रतमार्ग, सुरुङमार्ग, १० हजार मेगावाट बिजुली, घरघरमा ग्यास पाइपलाइनजस्ता कुरा सुनेर खुसी नहुने को नेपाली होला ? तर, त्यसका निम्ति कति रकम चाहिन्छ, त्यसबाट नेपाल र नेपालीलाई के कस्तो फाइदा हुन्छ ? जटिल भौगोलिक बनौटयुक्त मुलुकमा त्यो काम सम्भव छ कि छैन ? केही पनि नहेरी–नबुझी उनले बोलिदिए, हामीले पत्याइदियौं । केही साताअघि ओली मोरङ पुगे, दुई–तीन दर्जन घरमा फाइदा पुगेको गोबरग्यास प्लान्ट उद्घाटन गर्न । त्यहाँ उनले भनिदिए– अब ग्यास सिलिन्डर बोकेर हिँड्ने दिन गए ! तराई–मधेस मात्र होइन, मुलुकका अन्य भागमा पनि गोबरग्यासबाट खाना पकाउन थालिएको दशकौं भइसकेको छ । मुलुकको कार्यकारी प्रमुखबाट जनताले कहिलेसम्म यस्तो हावादारी गफ सुन्नुपर्ने हो ? सरकारले यसै साता अर्को हावादारी निर्णय पनि गरेको छ– कर्मचारीको मेचबाट तौलिया हटाउने ! कुन सोचको उपज हो यो ? यस्तो हचुवा निर्णयले जग हँसाउने काम त गर्छ नै साथमा कर्मचारी वर्गलाई दुःखी पनि बनाउँछ । कर्मचारीको हदैसम्मको अपमान हो यो ।

जनताका हातमा पैसा पर्दैमा समृद्धि आउँदैन । झन् सुखी जनता भनेको के हो ? के–कस्ता तत्व आवश्यक पर्छ जनता सुखी हुन ? धनले मात्र मान्छेलाई सुखी राख्न सक्छ ? हालै संसारका सुखी मान्छे र देश कुन–कुन् हुन् भन्नेबारे एउटा रिपोर्ट सार्वजनिक भएको छ । वल्र्ड ह्याप्पिनेस इन्डेक्स–२०१८ नामको उक्त रिपोर्टमा नेपाल १०१औं मुलुकमा परेको छ । नागरिकलाई सबैभन्दा बढी खुसी पार्ने सामाजिक सुरक्षाले हो । जुन मुलुकका प्रहरी, प्रशासन र राजनीतिक दलका नेता–कार्यकर्ता सदाचारी छन् ती मुलकका बासिन्दा बढी खुसी भएको देखिन्छ । १ सय ५६ मुलुकमा गरिएको सर्भेअनुसार क्रमशः डेनमार्क, स्विजरल्यान्ड, नर्वे र फिनल्यान्ड अग्रपंक्तिमा परेका छन् । यसअघिको रिपोर्टमा फिनल्यान्ड पहिलो नम्बरमा परेको थियो । सन् २०१७ मा नेपाल ९९औं मुलुकमा परेको थियो । ओलीको नेपालीलाई सुखी बनाउने नारा घन्कन थालेपछि अवस्था झ्न ओरालो लागेको छ । उता, भारतमा मोदीको ‘अच्छे दिन’को नाराले त त्यस मुलुकको सुख झनै खोसेको देखिन्छ । अहिले त्यो छिमेकी नेपालभन्दा पनि दुःखी हुँदै १३३औं नम्बरमा ओर्लिएको छ ।

सुखी जनता त्यही देशमा छन् जहाँका प्रहरी जनताका वास्तविक साथी छ । जनताका अप्ठेराहरुमा प्रशासन दु्रत गतिमा दत्तचित्त बनेर सहयोगी बन्छ । सामाजिक सुरक्षाको अवस्था चुस्त छ । शिक्षा, स्वास्थ्यबारे जनताले चिन्ता लिनै पर्दैन अनि बुढेसकालमा कसले हेर्ला भनेर उमेर उकालो लाग्दै गर्दा सोचिरहनु पर्दैन । जब नागरिकलाई शिक्षा र स्वास्थ्यबारे कुनै चिन्ता लिने अवस्था आउँदैन, तब सदाचार त्यसै बढ्न थाल्छ । राज्यप्रतिको चरम अविश्वासका कारण नै भ्रष्टाचार, कुतखोरी, अनावश्यक भण्डारण (अत्यावश्यक वस्तु) लगायतका काम हुने हुन् । नारा नेपाल प्रहरीले पनि निकै आकर्षक आविष्कार गरेको छ– प्रहरी मेरो साथी । तर, नेपाली जनताले प्रहरीलाई आफ्नो साथीको रुपमा पाएको अनुभव विरलै गर्न पाएका होलान् । पछिल्लो घटनाक्रमलाई स्मरण गर्दा मात्रै पुग्छ । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपश्चात् हत्या, ३३ किलोग्राम सुन तस्करी, इनकाउन्टरका नाममा प्रहरीद्वारा गरिएका अन्य थुप्रै हत्याका घटनाले सञ्चारमाध्यम रंगिएका छन् । उल्लिखित घटनाहरुमा प्रहरी नराम्ररी चुक्न पुगेको छ ।

निजामतीलगायतका अन्य सरकारी कार्यालयका कर्मचारी देख्दासाथ हामीमध्ये अधिकांशको दिमागमा विशेषण फुरिहाल्छ– भ्रष्टाचारी । किन यस्तो विचार आएको होला हाम्रो दिमागमा ? उत्तर पनि हामीसँगै छ– कुनै पनि राजनीतिक दलको सरकारले जनताको दैनिक प्रशासनिक जटिलतालाई सहज पार्ने प्रयास नै गरेनन् । त्यही कारण घूस नखुवाई काम नहुने अवस्था सिर्जना हुन पुगेको छ । के यही अवस्थामा नेपाल समृद्ध र नेपाली सुखी होलान् ?

हिजोका दिनमा सधैं अस्थिर सरकार रहेका कारण राजनीतिक संक्रमणको गाँठो फुक्न सकेन । विकासले गति पक्रन सकेन । प्रशासन, प्रहरी र अन्य जनसरोकारका क्षेत्रमा पदाधिकारी चाँडोचाँडो फेरिनाले जनताका मर्काको सम्बोधन हुन सकेन । अब पनि त्यही अवस्था छ र ? यो त झण्डै दुई तिहाईको सरकार होइन र ? तर पनि किन जनताको दुःख उही र उस्तै वा अझै गहिरिँदै गएका होलान् ? प्रश्न देशको डाडुपन्युँ हातमा लिएका उनै प्रधानमन्त्रीलाई जसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने गुलियो नारा लगाए । देशका मजस्ता अधिकांश जनता यो प्रश्नको उत्तर बेचैनीसँग कुरिरहेका छन् ।

सरकारले बेलैमा सडकका खाल्टाखुल्टी पुरोस् । सुदूर भेगलाई सडक सञ्जालले जोडोस् र स्थानीय किसानले उत्पादन गरेका उपजले सहज बजार पाउन् । २०७२ सालको भुइँचालोले आफ्नो थातवास गुमाएका र बाढीपहिरो पीडितले यो वर्षको जाडो त्रिपालमुनि बिताउन नपरोस् । दुई दशकअघिदेखि उपत्यकाका जनता मेलम्चीतिर आँखा लगाइरहेका छन् । काम सकिनै लाग्यो भनेको पनि वर्षौं भइसक्यो, पानी उपत्यकावासीका आँगनमा छिट्टै झरोस् । स्वदेशमै रोजगारी मिलोस् र हरेक दिनजसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशलाई गाली गर्दै विदेसिने झण्डै डेढ हजारको लर्को बन्द होस् । शिक्षा, स्वास्थ्य र यातायातका सिन्डिकेट हटून् । कर्मचारी, प्रहरी, व्यापारी, नेता–मन्त्री देख्नेबित्तिकै भ्रष्ट, व्यभिचारी, कुतखोर वा बेइमान विशेषण लाग्ने दिनको अन्त्य होस् । जनताको सुख र देशको समृद्धि यिनै कुराहरुमा अल्झिरहेको छ भन्ने कुरा किन नबुझेको होला ! यत्ति कुरा बुझेपछि मात्रै ओलीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ले सार्थकताको बाटोमा हिँडन् थाल्नेछ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार