एक वृद्धको तन्नेरी जोशमा अमेरिकामा छलाङ मार्दै समाजवादी राजनीति

एक वृद्धको तन्नेरी जोशमा अमेरिकामा छलाङ मार्दै समाजवादी राजनीति

न्यूयोर्क । सन् २०१६ को राष्ट्रपति चुनावमा बर्नी स्यान्डर्सले डेमोक्रेटिक पार्टीभित्र नसोचेको चुनौती पेश गरिदिए । भर्मन्टबाट राजनीति गर्दै आएका एवम् १६ वर्ष हाउस अफ रिप्रिजेन्टेटिभ भई सन् २००७ देखि लगातार सिनेटर रहेका स्यान्डर्स डेमोक्र्याटहरुको आन्तरिक प्रतिस्पर्धामा त्यति सशक्त बन्लान् भन्ने कसैले सोचेका थिएनन् । तर, सबैका लागि स्वास्थ्य, एकद्वारबाट सामाजिक सुरक्षा जस्ता उनले उठाएका समाजवादी नारा जबरजस्त लोकप्रिय भए । जीवनभर स्वतन्त्र राजनीतिज्ञको पहिचान बनाएका स्यान्र्डर्सले निर्वाचन प्रयोजनकै लागि डेमोक्रेटिक दलको सदस्यता लिएका थिए । उनका नारामा विशेषगरी युवापुस्ता धेरै आकर्षित भए । कपाल फुलिसकेका एवम् ७५ वर्ष पुग्न लागेका वृद्धलाई राष्ट्रपति बनाउनुपर्छ भन्दै शिक्षित एवम् भविश्यप्रति चिन्तित युवाहरु लागेका थिए । स्यान्डर्सले हिलारी क्लिन्टनलाई आच्छु–आच्छु पारे पनि अन्तिममा उम्मेदवार सिफारिश हुन भने सकेनन् ।

न्यू ह्याम्सायर जस्ता रणनीतिक राज्यमा स्यान्डर्स विजयी भएका थिए भने रिपब्लिकन तुलानात्मक बलियो भएका राज्यका डेमोक्रेटले पनि उनैलाई चाहेका थिए । त्यसैले युटा, नेब्रास्का लगायतका राज्यमा स्यान्डर्स सजिलै विजयी बने । म्यासाचुसेट्स जस्तो तुलनात्मक रुपले शिक्षित राज्यमा पनि उनले क्लिन्टनलाई कडा टक्कर दिए । तथापि, राष्ट्रपतिको उम्मेदवार बन्न स्यान्डर्सको प्रयास पर्याप्त भएन । अन्ततः क्लिन्टनले पनि चुनाव जितिनन् र डोनाल्ड ट्रम्प राष्ट्रपति बने ।

अहिले अमेरिकी अर्थ राजनीति नै मूलतः ट्रम्पको दक्षिणपन्थी र स्यान्डर्सको वामपन्थी प्रतीत हुने समाजवादी खेमामा विभाजित देखिएको छ । ट्रम्पसँग क्रुद्ध अमेरिकीहरुको नेताको रुपमा स्यान्डर्सको उदय झन् प्रभावशाली देखिन थालेको हो । सन् २०१६ को राष्ट्रपति चुनावमा स्यान्डर्सको झण्डा बोकेर हिँड्ने धेरैजसो तन्नेरीहरु सन् २०१८ को मध्यावधि चुनावमा आफैं राजनीतिको मूलधारमा उदाएका छन् । क्विन्सबाट हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक प्राइमरी जित्न सफल एलेक्जेन्द्रिया ओकासिया कोर्टेजदेखि फ्लोरिडाको गभर्नरमा डेमोक्रेटिक टिकट हत्याउन सफल एन्ड्र्यु गिलम यसका उदाहरण हुन् । अरु धेरै ठाउँमा पनि स्यान्डर्स पक्षधरले जबरजस्त उपस्थिति जनाएका छन् । उनको छातामा हुनेहरु प्रायः सबैको एउटै नारा छ– लोककल्याणकारी राज्य । रिपब्लिकनहरुले वामपन्थी भनेर तीव्र विरोध गरिरहँदा पनि यो नाराप्रति लोभिने अमेरिकी तन्नेरीको संख्या भने बढ्दो छ र विशेषगरी डेमोक्रेटिक पार्टी नै यसतर्फ ढल्कन बाध्य हुने छाँट देखिएको छ ।

गिलम फ्लोरिडाको गभर्नर टिकट पाउने पहिलो अफ्रिकन अमेरिकी हुन् । उनी त्यहाँ विजयी होलान् भन्ने आँकलन थिएन । संस्थापनले समर्थन गरेका उम्मेदवारलाई हराउँदै उनले टिकट हत्याए । त्यति मात्र होइन प्राइमरी चुनाव जितेको २४ घण्टामा १० लाख अमेरिकी डलर चन्दा उनको चुनावी खातामा जम्मा भएको थियो । यसले उनीप्रति मतदाताको लगावलाई थप प्रष्ट्याएको छ । फ्लोरिडा अमेरिकी राजनीतिमा स्विङ स्टेटको रुपमा चिनिन्छ । पछिल्ला आठ वर्ष रिपब्लिकन गभर्नरले सरकार चलाएको हुँदा यसपटक डेमोक्रेटले हत्याउने आँकलन गरिएको छ । सन् २०१४ को चुनावमा बहालवाला गभर्नरको रुपमा चुनाव लडेका रिपब्लिकन रिक स्कट एक प्रतिशत बिन्दुको झिनो मतान्तरमा विजयी भएका थिए । गिलमको समाजवादी एवम् बन्दुक नियन्त्रणको मुद्दाले एकातिर युवा पुस्तालाई तान्ने र अर्कोतिर केही हदसम्म ट्रम्पको अलोकप्रियता पनि मतपत्रमा पोखिने आँकलन मूलधारका मिडियाहरुको छ । उनी निर्वाचित भएमा अमेरिकी मूलधार राजनीतिमा समाजवादी एजेण्डा झनै प्रखर बन्नेछ ।

स्यान्डर्सको बलियो समर्थन पाएका अर्का उम्मेदवार र्यान्डी ब्रिस विस्कोन्सिन राज्यको फष्ट कङ्ग्रेसनल क्षेत्रबाट डेमोक्रेटिक उम्मेदवार बनेका छन् । यो वर्तमान सभामुख पउल रायनको चुनावी क्षेत्र हो । रायनले यसअघि नै आफू आउँदो चुनावमा नउठ्ने घोषणा गरिसकेका छन् । पार्टीको अलोकप्रियता बुझेर नै रायनले चुनौती नउठाएको विश्लेषण गरिएको छ । यो क्षेत्रमा अझै पनि तुलानात्मक रुपले रिपब्लिकनकै बाहुल्य छ तर ब्रिसको गति हेर्दा उनले हत्याउन समय नलाग्ने आँकलन मिडियाहरुले गरेका छन् ।

यस्ता रणनीतिक क्षेत्रमा स्यान्डर्स समर्थकले पाएको सफलताले सन् २०२० को राष्ट्रपति चुनावमा समाजवादी चिन्तन झनै प्रखररुपमा उदाउने आँकलन सुरु भएको छ । त्यसबेला स्यान्डर्स ७८ वर्षका भइसक्नेछन् । त्यसैले उनी आफैं उम्मेदवार बनेर चुनावी मैदान होमिने–नहोमिने निश्चित छैन । स्यान्डर्स अहिले पनि गृहराज्य भर्मन्टबाट सिनेटमा उम्मेदवार रहेका छन् । सन् २०१२ मा दोस्रो कार्यकालका लागि सिनेटर चुनिएका उनी यसपाली कार्यकाल सकिएपछि फेरि उम्मेदवार बनेका हुन् । दुई वर्षपछि उनको जोस अहिले जस्तो रहला–नरहला तर अमेरिकामा उनको पदचिह्न पछ्याउनेहरुले अहिले पाएको सफलताले लोककल्याणकारी राज्य निर्माणको एजेन्डा भने तत्काल सेलाउने छाँट छैन ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा