न्यूयोर्कमा एक रात

न्यूयोर्कमा एक रात

एउटा बाबुको मनोविज्ञानको सानो अंश उल्लेख गर्न मनासिब लागेकोले लेख्न बसें । अरु धेरै भावनात्मक कुराहरु मनमा आए, यद्यपि एउटा परिवेशलाई समेटेर लेखनी बनाउँदैछु । जे लेख्दैछु सबै हुबहु हो । सत्य हो ।

सबेरै पार्कमा ढाका टोपी देखेपछि म पनि पार्कतिरै लागें । सधैं देखिरहने साथी रहेछ । सोधें– ‘आज किन यति बेलै ?’ ‘कथा प¥यो कथा ।’ उनले मनमा गाँठो पारेको कुरा खोल्ने प्रयत्न ग¥यो । म पनि किन यतिबेलै आएको होला ! भनेर उसको मनमा कुरा खेल्यो होला भनेर आफैले भनें– ‘म त बिहान बेलुकी हिँड्ने गरेपछि डायबिटिज नियन्त्रण हुँदो रहेछ अनि सधैं यै बाटो हिँड्छु ।’ छेवैको ३ सिटे बेन्चको दुई छेउमा बस्यौं । बस्नेबित्तिकै मनको पोको खोल्न थाल्यो– ‘हेर्नुस्न हिजो साँझ अचम्मै प¥यो । नमज्जा लागिराको छ ।’ ‘के भयो भन्नुस्न ! हामीले केही सहयोग गर्न मिल्छ कि ?’ मेरो कुरालाई ध्यानै नदिई कुरा अगाडि बढायो । ‘हिजो साँझ कोठामा छोराको साथी आयो । म र मेरो श्रीमतीलाई आदरभाव ग¥यो । छोरासँग हात मिलाएर गफगाफ राम्रै चल्यो । बुहारीले सबैलाई खाना बनाउँ है भनेर सोधिन् । छोराको साथीले हुन्छ भाउजु भन्यो । सबैले सँगै खाना खायौं । खानापछि पनि गफ नै गरिरह्यौं । म र मेरो श्रीमती त्यै लिभिङ रुममा नै सुत्नुपर्ने भएकोले कहिले जाला जस्तो भयो । बुहारी धन्दा सकेर भित्रको कोठामा सुत्न गई । रातिको साढे ११ भइसक्दा पनि त्यो केटो जाने सुरसारै नगरेपछि मैले छोरालाई ल बाबु हामीलाई त निन्द्रा लाग्यो भनें । छोराले हुन्छ बा अब हामी पनि सुत्ने भनेर भन्यो । तर, छोराको साथी सुने–नसुने गरी बसिरह्यो । छोराले ल यार अब सुत्नुपर्छ भोलि काममा जानु पर्नेछ भन्यो । अब त त्यो केटो जान्छ होला भनेको त उल्टो म आज यतै बस्छु यार पो भन्यो । छोरा अक्क न बक्क परेको देखेर मैले हैन बाबु यति सानो लिभिङ रुममा हामी बुढाबुढी सुत्छौं । ओछ्यान यत्ति हो । यहाँ त गाह्रो हुन्छ भनें । हैन बा मलाई त जता कुनामा भए पनि हुन्छ पो भनेर जवाफ फर्कायो । राति के होला ? कस्तो मान्छे हो ? किन जान मन नगरेको हो ? भनेर झन् मनमा उकुसमुकुस भयो । छोराले पनि अलि खुलेरै हैन तिमी आज जाऊ यहाँ ठाउँ र ओछ्यानको समस्या छ भनेर भन्यो । रातिको १ बज्न लागिसकेके थियो । हुँदाहुँदा छोरा र उसको साथीको डिसकस पर्ला जस्तो भयो । छोराले त्यो साथीलाई झर्किंदै तिमीलाई कोठा खोज्दिन्छु भन्दा पनि टेर्दैनौं । आएको ३ वर्ष भइसक्यो, ठेगान लाएर कतै बस्दैनौं । पैसा चैं खुरुखुरु नेपाल पठाउँछौं । यहाँ साथीभाइलाई दुःख दिँदै हिँड्ने ? खाली यता र उता गरेर कति दिन चल्छ ? मेरो परिवारमा टेन्सन नदेऊ भनेर झगडा प¥यो । मैले पनि छोराकै साथ लिएर ‘जाऊ तिमी हामी सुत्नुपर्छ’ भनेर झर्किंदै भनें । धेरैबेर भनाभन भयो । मलाई नमज्जा लाग्यो । छोराको साथी र छोराको मित्रता यत्तिकै तोडियो । कहिलेदेखिको साथी हो, आज छुट्यो । अमेरिका आएर नेपालीहरु बिग्रेको देखेर दिक्क लाग्यो । निन्द्रा पनि राम्ररी लागेन । अनि सबेरै उठेर आएँ । नेपाल जाउँ भने यिनीहरुलाई छोरा–बुहारीले धेरै राखेनन् भन्ला कि भनेर टिठ मान्दै बसेका छौं । मैले सान्त्वना दिंदै भनें, अरुको गल्तीमा आफूलाई किन चिन्तित पार्नुहुन्छ ? भो बिर्सिदिनुस् । छोराले त्योभन्दा असल अर्को साथी पाउँछ बदलामा ।’ भन्दै भरे आउँला भनेर हिँडे ।

यी माथिको सत्य घटना मेरो बुबा र मेरो बुबाको यतै अमेरिका आएर पार्कमा चिनेको नेपाली साथीबीच न्यूयोर्कको ज्याक्सन हाइट्सको एल्महस्र्ट पार्कमा भएको बातचित हो । मेरो बुबा र आमाले पार्कमा भएको सबै कथा, व्यथा बेलिबिस्तार लगाएर साँझ घरमा सबैकै अगाडि सुनाउनु हुन्छ । धेरैजसो म चासो दिन्न अनि नेपालमा फोन गरेर टाइमपास गर्नुहुन्छ । पात्रको नाम चाहिं थाहा छैन भन्नुहुन्छ । यो घटना बुबाबाट सुनिसकेपछि मैले न्यूयोर्कमा १ हप्तालाई भनेर ५ महिना बस्ने एउटा भाइको साथीको नकचरोपारा लगायतका आफ्नै छिटपुट घटनाहरु पनि सम्झें । यो त एउटा प्रतिनिधि घटना मात्र हो । मेरो बुबाआमा लगायत करिब २५–३० जना नेपालीको समूह उक्त पार्कमा हरेक दिनजसो देखिन्छन् । मेरो आमाबुबा हप्ताको ३ दिन हाजिर गर्न जानुहुन्छ । अमेरिका आएका बाबुआमाले आफ्ना छोराछोरीले अमेरिकामा देखाएको चर्तिकला र बसेको तौरतरिकाका बारेमा यत्तिसारो कुरा पार्कको चौतारीमा छताछुल्ल हुनेगरी पोख्दो रहेछ भनेर बोध भएको छ ।

कलाकार राजाराम पौडेलको शब्दमा भन्ने हो भने गोठाले भिजामा आएका, तेल भिजामा आएका, औषधी भिषामा आएका, नकाम भिजामा आएका सबै नेपाली आमाबुबाहरुलाई अमेरिका वास्तवमा सुनको जेल जस्तै भएको छ । छोराछोरीको चित्त दुख्ला भनेर खुशी भएको देखाउँछन् । पूर्वीय एवम् पश्चिमा संस्कृतिबीच लवज लगायतको संक्रमणकालमा रुमल्लिरहेको पृष्ठभूमिमा जीवनको उत्तराद्र्धमा आँखीभौं फुलिसकेको आमाबुबालाई यो अमेरिका औषधोमुल गराउन, १२÷१५ दिन डुलाउन र संस्कारिक कार्जे भए सो पूरा गराउन ल्याउनेबाहेक अन्यथा ल्याउने–नल्याउने मनन गर्दा उत्तम हुन्छ ।

नआउन्जेल विदेश टाढा बजेको ढ्याङ्ग्रो जस्तै हो, टाढाबाट राम्रो सुनिन्छ, नजिक पुग्दा कान टट्याउँछ ।

कथंकदाचित वास्तविक पात्रले यो घटना पढ्न पुगेमा मलाई अन्यथा नठान्नुहोला । मैले पात्र खुलाएको छैन । चरित्र मात्र खुलाएको हुँ । एउटा पिताको मनको बहलाई प्रस्तुत गरेर अन्यलाई ज्ञात होस् भन्ने मात्र मेरो आशय हो ।

ygshdngl@yahoo.com

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार