ग्यास स्टेशन लिँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिउँ ?

ग्यास स्टेशन लिँदै हुनुहुन्छ, यी कुरामा ध्यान दिउँ ?

संयुक्त राष्ट्रसंघको ‘मिलेनियम समिट २०००’ पश्चात् विश्व खुला बजारीकरणमा विकसित भएको पाइन्छ । विश्व एक खुला बजारको रुपमा विकसित भएसँगै बढ्दो विश्वव्यापीकरणले गर्दा वस्तु, सेवा र मानिसहरुको आवतजावतमा तीव्रता आएको थियो । तसर्थ, मानिसहरुले शिक्षा, रोजगारी, व्यापार विस्तार, लगानीका लागि विश्वभरका बजारको तुलना गर्ने क्रम शुरु भयो । त्यसमध्येको एक उत्तर अमेरिका पनि व्यापार–व्यवसायको हिसाबले निकै राम्रो मुलुक हो । खुला बजार, व्यापारका लागि अनुकूल अर्थनीति र स्थिर बजार, लगानीको सुरक्षा र सकारात्मक आर्थिक परिसूचकका कारणले जोसुकै नेपाली व्यापार–व्यवसायमा आफ्नो पहिचान स्थापित गर्न आतुर देखिन्छन् ।

तर, हामीजस्ता सानो पूँजी र सामान्य ज्ञान भएका आप्रवासीहरुका लागि धेरै चुनौतीहरुको सामना गर्दै बजार स्थापित गर्ने कुरा त्यति सजिलो भने अवश्य पनि छैन । अमेरिकामा बसोवास गर्ने दक्षिण एसियाली मूलका हामीहरुबीच एक प्रचलित व्यवसायका रुपमा ग्यास स्टेशन, कन्भिनियन्स स्टोर पर्दछ । संख्यात्मक रुपमा सबैभन्दा धेरैको लगानी भएको यो व्यवसाय सानो पूँजीबाट पनि स्थापना गर्न सकिने र तुलनात्मक रुपमा कम जोखिमको क्षेत्रको रुपमा मानिन्छ ।

अमेरिकाको व्यस्त जीवनशैली, सुविधाभोगी दैनिकी अनि सवारीका लागि यहाँ निजी गाडीहरुको अत्यधिक प्रयोग हुने गर्दछ । साधनहरुको अत्यधिक प्रयोगका कारण ग्याँस स्टेसनहरुले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । ग्याँस स्टोरमा जाने मानिसहरुको कुनै कमी छैन र लक्षित समुदायको मागअनुसारको सेवा र सुविधा प्रदान गर्न सकेको खण्डमा यस व्यापारबाट राम्रो आम्दानी हासिल गर्न सकिन्छ । त्यसैले ग्याँस स्टेशन खरिदपूर्व हामीले तल उल्लिखित निम्न विषयमा विचार पु¥याउनुपर्ने हुन्छ ।

खरिद मूल्य

सस्तोमा किनेर महँगोमा बेच्न सक्नु नै सफल व्यवसायी हुनु हो । सन् २०१६ पछि अमेरिकाको अर्थतन्त्रमा सुधार भएकाले पर्चेज पावर बढेको हुँदा हाल व्यापार–व्यवसायहरु राम्रो अवस्थामा छन् । जसको कारणले गर्दा व्यवसायको मूल्य उच्च बिन्दुमा छ । साथै, हालै गरिएको ब्याजदर परिवर्तनले गर्दा भाडा वा मोर्गेज महँगा तिर्नुपर्ने अवस्था छ । सुरुमा गरिने लगानी नै सबैभन्दा महत्वपूर्ण पक्ष हुने भएकाले त्यसमा निकै ध्यान दिनुपर्ने देखिन्छ ।

व्यवस्थापन

कुनै व्यवसायमा खरिद गर्नु मात्रै ठूलो कुरा होइन । त्यसलाई कसरी नाफामा चलाउन सकिन्छ त्यो महत्वपूर्ण पक्ष हो । खरिद गरिसकेपछि व्यवसायलाई मैले कुन रुपबाट लान सक्दछु । यसको आन्तरिक र बाह्य पक्षको व्यवस्थापन कुन रुपबाट गर्छु । खर्चको व्यवस्थापन कसरी गर्छु वा भनौं कम खर्चमा कुशल व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसबारे राम्रोसँग जान्नु आवश्यक छ । नत्र लगानी कम नै प¥यो भने पनि सञ्चालन खर्च अत्यधिक हुन जाँदा त्यो व्यवसाय नाफा नभई घाटामा जाने सम्भावना बढी रहन्छ । अझ लगानी नै बढी गरिएको छ भने यसमा अझ बढी ध्यान दिनु आवश्यक रहन्छ । किनकि सुरुमै लगानी बढी गर्नु भनेको प्रतिस्पर्धी क्षमतालाई कम गर्नु हो, अर्थात् चाहेर पनि अर्को प्रतिस्पर्धीभन्दा कम मूल्यमा सामान विक्री गर्न अप्ठ्यारो अवस्था निर्माण गर्नु हो ।

स्थानको आँकलन

ग्याँस स्टेशन वा भनौं कन्भिनियन्स स्टोरका लागि कम्युनिटी हुनुले ठूलो अर्थ राख्दछ । घरायसी प्रयोजनका सामानका साथै स्न्याक्स अनि सोडा बियर लगायतका पेय पदार्थको विक्रीले ग्याँस स्टेशनको व्यापार निर्भर रहेको हुन्छ । यसका लागि ग्याँस स्टेशन वा कन्भिनियन्स स्टोर नजिक कम्युनिटी छ भने निकै फाइदा पुग्दछ । अर्कोतर्फ भित्री सडकको दायाँबायाँ वा मेन हाइवे एक्जिट नजिक ग्याँस स्टेशन हुँदा पनि त्यसले व्यापारको सम्भावनालाई बढाएको हुन्छ ।

समुदायको उपस्थिति

अर्को महत्वपूर्ण पक्ष भनेको हामीले लिन लागेको वा खोल्न खोजेको ग्याँस स्टेशननजिक कुन कम्युनिटीका मानिसको बसोवास बढी छ, त्यसका बारेमा समेत जान्नु जरुरी छ । यसले पनि ठूलो प्रभाव पारेको हुन्छ, जुन समुदायको बाक्लो उपस्थिति छ, त्यही समुदायलाई केन्द्रित गरेर व्यापार गर्दा उत्तम हुने देखिन्छ । अमेरिकामा सबैका रोजाइँ फरक छ, जीवन जिउने शैली पनि फरक छ । त्यसका बारेमा जानेर व्यवसाय गर्दा सजिलो हुन सक्दछ ।

भविष्यका सम्भावित नीति र अवस्था

हुन त हामी नेपाली अझै यहाँको मूलधारमा आइसकेका छैनौं । यहाँको भन्दा हामीलाई नेपालकै बारे बढी जान्ने चाहना रहेको हुन्छ, हामीले खबरहरु पनि त्यतातिरकै बढी हेर्ने र सुन्ने गर्छौं । पसलमै आउने अमेरिकाका पत्रिका पनि कम मात्रा पढ्छौं । यसबारे किन चर्चा गरिएको हो भने हामीले यहाँको सूचना जान्न वा बुझ्न जरुरी छ । यसले हाम्रो जीवनमा ठूलो अर्थ राख्दछ । हामी बसिरहेको ठाउँमा के भइरहेको छ भन्ने कुराले अर्थ राखेको हुन्छ । चलाइरहेका हाम्रा ग्याँस स्टेशन नजिक के भइरहेको छ, त्यो जान्दा धेरै सहज हुन्छ । खरिद गर्न लागेको ग्याँस स्टेशन भएको लोकेशन वरपर के हुँदैछ, कतै नजिकै केही समयमै बिग कम्पनी त आउँदै छैन ? यसबारे पनि जान्न आवश्यक छ । हाइवेको छेउछाउ छ भने त्यहाँ सरकारले केही निर्माण त गर्दै छैन, अहिले भएका एक्जिट पोइन्ट बन्द त हँुदै छैन, यसबारे जान्नु जरुरी छ । अहिले चलिरहेको नीति–नियम मात्र होइन अब आउन सक्ने नीतिका बारेमा समेत थोरै–धेरै जान्ने प्रयत्न गर्नु आवश्यक छ । जसले भविष्यको जोखिमलाई कम गर्न सहयोग पु¥याउँछ । 

बढ्दो प्रतिस्पर्धा

हाल बजार र पर्चेज पावर राम्रो भएका कारणले ठूला लगानीका चेन स्टोरहरु ओभर एक्साइटेड भएको र वालमार्ट जस्ता ग्रोसरी स्टोरहरु पनि यस किसिमको व्यवसायमा आकर्षित भई धमाधम ग्याँस स्टेशनहरु खोलिरहेको र अनलाइन व्यवसायीहरु पनि यसप्रति आकर्षित भएको अवस्था छ । पर्याप्त पूँजी, प्राविधिक क्षमताका साथै चलेका ब्राण्ड भएकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न त्यति सजिलो छैन ।

प्राविधिक विकास

प्रविधिमा तीव्र परिवर्तनका कारण सिस्टम अपडेट अनिवार्य भइसकेको छ । अपडेट नगरे स्टोरहरु खरिद गर्दा जगेडा पूँजी आवश्यक पर्दछ । रजिष्टर अपडेट गर्न न्यूनतम ७ हजार प्रति रजिष्टर, नयाँ पम्पका लागि १०–१५ हजार प्रतिपम्प खर्चिनुपर्ने अनिवार्य भइसकेको छ ।

सन् २०२० पछि ब्याङ्क पनि अपग्रेड गर्ने प्रस्ताव भइसकेको छ, जुन कुरा पारित भएमा प्रति ब्याङ्क ८० हजारदेखि १ लाख डलरसम्म खर्चिनुपर्ने हुन सक्छ । साथै बजारसँग प्रतिस्पर्धी हुन एलईडी लाइट अपग्रेड गर्नुपर्ने हुन्छ, जसका लागि स्टोरको साइजअनुसार १० देखि २५ हजार अमेरिकी डलर लाग्छ ।

वैकल्पिक ऊर्जाप्रतिको आकर्षित

स्मार्ट कारको माग बढ्नु, सोलार पावर, अत्यधिक प्रयोग र न्यूक्लियर पावरप्रतिको आकर्षणले गर्दा अबको केही दशकमा बजार कुन दिशामा जान सक्छ भन्ने कुराको ज्ञान पनि अपरिहार्य छ ।

उत्तर अमेरिका व्यापार–व्यवसाय स्थापना गर्न र विस्तार गर्नका लागि उचित बजार हो । माथि उल्लिखित कुुराहरुमा ध्यान दिंदै व्यवसायलाई मेहनत, लगनशीलता, कटिबद्ध भएर सञ्चालन गर्ने हो भने अवश्य पनि सफलता हासिल गर्न कठिन छैन । तसर्थ, सबैले आआफ्नो स्थापना वा आआफ्नो पेशालाई व्यवसायमा परिवर्तन गर्न सकिन्छ । जसका लागि उचित सोच र दृढ संकल्पको खाँचो छ । जुन कुरा हामीमा छ । त्यसैले आजबाटै पेशाअनुसारको व्यवसायको स्थापना गरी आर्थिक समृद्ध समुदायमा रुपान्तरण गर्न सकिन्छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार