अमेरिकासम्म तीजको लहर

अमेरिकासम्म तीजको लहर

न्यूयोर्क । ‘हामी छानो छँदा कुसे औंसी (बाबुको मुख हेर्ने दिन)मा चेलीबेटीहरु बाबु भेट्न माइतीघर आउँथे । तीजमा टाढा–टाढा भएका चेलीबेटीलाई लिन माइतीका कोही न कोही जान्थे । गाउँभरिका चेलीबेटी जम्मा भएर मादल बजाएर तीजका भाका गाउँथे । वर्षदिनभरि आफ्नो लोग्नेको घरमा पाएको दुःख, पीडा, आफूले गरेको संघर्ष, सासूको बुहार्तन, नन्द आमाजूले दिएका पीडा त्यसै गीतमार्फत पोख्थे । र, पो तीजको रमझम हुन्थ्यो । दरखाने दिन सबैका घरमा आ–आफ्नो गच्छेअनुसार मिठोमसिनो पाक्थ्यो । भोलिपल्ट व्रत बस्ने भएकाले प्रायले दरखाने दिन दूधका परिकारहरु बनाएर खान्थे, जुन निकै अडिलो हुन्थ्यो । हरितालिका तीजका दिन व्रत बस्ने, नजिकैको शिवालयमा गएर पूजाआजा गर्ने, पञ्चमीको दिन सबै महिला जम्मा भई खोला किनारमा गएर नुहाउने गर्थे । दरखाने दिनदेखि पञ्चमीसम्म ४–५ दिन महिलाहरु नाचगान गरेर बिताउँथे । ‘त्यतिबेलाको चाडपर्वको रमझम छुट्टै थियो,’ अमेरिकाको न्यूजर्सीमा बसोवास गरिरहेकी विजया खनालले आफ्नो विगत सुनाइन्– ‘विगत ३ वर्षदेखि अमेरिकाको तीज हेरिरहेकी छु, उतिबेला जस्तो छैन । महिना दिन अघिदेखि दर खाने चलनले ‘दरखाने दिन’को महत्व घट्दै छ । वर्षदिनको तीजमा पनि माइत आउन नपाएका चेलीका कथा व्यथा अहिले खै ? समयसँगै बदलियो तीज अनि संस्कृति र परम्परा पनि ।’

बा को मुख हेरेपछि तीज आउँथ्यो पहिले त ।

जनै पूर्णेभन्दा पहिले आउँछ अहिले त ... ।।

अर्का न्यूयोर्क बस्ने झकप्रसाद छन्त्याल सम्झन्छन्, ‘हामी पुरुषहरुले चैं महिलाले गीत गाउँदा मादल बजाइदिनुपथ्र्यो । आ–आफ्नो घरमा बेलुकाको खाना खाइसकेपछि गीत गाउन जाने तयारी गर्थे । आज तल्लाघरे माइलीकहाँ, भोलि माथ्लाघरे साहिंलीकहाँ गाउने भनेर बाँडफाँट गर्थे अनि हामी उनीहरुका पहरेदार भएर साँझमा मादल बजाउन जान्थ्यौं । उनीहरुले भाका गाउँथे हामी हातमा फोका उठुन्जेल मादल बजाउँथ्यौं । त्यो बेलाको संस्कार, चालचलन अहिले कहाँ पाउनु ?’

अहिलेको दुई महिना अघिदेखि पार्टी प्यालेसमा तीज पार्टी गर्ने, हिन्दी गीतमा नाच्ने, दरको नाममा मासु र रक्सीमा रमाउने विकृति र विसंगतिले हाम्रो नेपाली संस्कार र रीतिरिवाजलाई ओझेलमा पारिरहेको उनले गुनासो गरे । उनी भन्छन्– ‘अमेरिकामा त सबै काम गरेर कमाएर महँगा साडी र गहना लगाउन सक्छन् तर हिजोआज नेपालमै पनि यस्तो तडकभडक हुन थालेपछि गरिब र नसक्नेहरुका लागि चाडबाडै नआइदिए हुन्थ्यो भन्ने अवस्था आइसक्यो ।’

तीज आयो गरिबले मनाउने हो के गरी

काँक्राभन्दा ठूला आए छड्के तिलहरी ... ।।

कतिपय भने समय र जमानाअनुसारै रमाइलो मान्नुपर्ने तर्क राख्छन् । ‘अमेरिकामा बसेर दुःख गरेका छौं सबैले पार्टीमा बोलाउँछन्, समय मिलेसम्म जान मन लाग्छ,’ न्यूयोर्ककी लक्ष्मी शेरचन भन्छिन्– ‘मेरा साथीभाइले नेपालबाट साडी मगाउँदा मैले पनि मगाएँ । तर, कसैलाई देखाउन होइन, मलाई आवश्यकै थियो । महँगो साडी र सुनका गहनाको फेसन शो गरेको चैं मन पर्दैन ।’

रानीहार नानाथरी हेरन कत्रो छ

तल्लाघरे बुहारीको नाङ्ला जत्रो छ ।

उतातिर लाउरेनी झन् कम्ती ठूली भाकी छिन्

नयाँ डिजाइन पिर्काजत्रो जन्तर लाकिछिन् ... ।।

जमानाअनुसार चाडबाड मनाउने तरिका पनि फेरिँदै गएको छ । अमेरिकामा रहेका नेपालीहरुले पनि तीजलाई भव्य रुपमा मनाइरहेका छन् । अमेरिकाको नेपाली समुदायमा कार्यरत विभिन्न संघसंस्थाले पार्टी प्यालेसमा, कसैले पार्कमा बीबीक्यु पार्टी गरेर नाचगान गरी तीज मनाइरहेका छन् ।

न्यूयोर्क र न्यूजर्सी राज्यका नेपाली दिदीबहिनीले वर्षेनी ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा तीज कार्यक्रम आयोजना गर्दै आएका छन् । गत शनिबार पनि सबै नेपाली महिला भेला भएर छमछमी नाचेर तीज मनाए । साथै, गोर्खाली समाज, रिजउड नेप्लिज सोसाइटी, गुल्मेली समाज अमेरिका, एनआरएन न्युजर्सी च्याप्टर, न्यूजर्सीका महिलाहरुले भव्य रुपमा तीज कार्यक्रम मनाएका छन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा तीज कार्यक्रम गरिएको छ । गत साता नेपाल अमेरिका सहयोगी समाजको आयोजनामा भर्जिनियाको मनाससमा भव्य कार्यक्रम गरिएको थियो । साथै, महिलाहरु विभिन्न समूहमा भेला भएर थुप्रै ठाउँमा तीज कार्यक्रम मनाएका छन् । भर्खरै बजारमा आएको नायिका करिश्मा मानन्धरले नृत्य गरेको ‘तीजको लहर आयो अमेरिकासम्म...’ बोलको गीत जस्तै भएको छ । नेपालीहरु जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ मनाइरहेका छन् ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार