कुन महिनामा शेयर किन्ने र बेच्ने ?

कुन महिनामा शेयर किन्ने र बेच्ने ?

न्यूयोर्क  । अघिल्लो वर्षको अध्ययनमा नेपाली शेयरबजार मापक, नेप्से, र अमेरिकाको शेयर बजारमा दर्ता भएका सबैभन्दा ठूला ५०० कम्पनीहरुको मापक, यस एण्ड पी ५०० इन्डेक्सको विगत २० वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा यी दुवै शेयर बजारहरु डिसेम्बर महिनामा सबैभन्दा माथिल्लो बिन्दुमा पुग्ने र त्यस्तैगरी जनवरी महिनामा सबैभन्दा कम बिन्दुमा पुग्ने क्रम देखिएको थियो । त्यही अध्ययनलाई आधार मानेर शेयर बजारमा लगानी शुरु गर्नका लागि जनवरी र बिक्री गर्नको लागि डिसेम्बर महिना ठीक हुन्छ होला भन्ने कुरा गरिएको थियो ।

आज त्यही २० वर्षको तथ्याङ्कलाई फेरि एक पटक फरक तरिकाले अध्ययन गरी साँच्चै कुन महिनामा शेयर खरिद र कुन महिनामा शेयर बिक्री गर्दा ठीक हुन्छ होला भन्ने कुरालाई यहाँ प्रष्ट्याउन खोजिएको छ । हुन त शेयर बजार एक गतिशील प्रक्रिया हो, जहाँ कसैले पनि भोलिको बजार कसरी चल्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन । यदि कसैले शेयर बजारको भविष्यवाणी गरेमा त्यो केवल एक मिथ्या मात्र हो । तर, विभिन्न आर्थिक तथ्याङ्कहरु, समग्र अर्थतन्त्रको अवस्था, देशको आर्थिक विकासको क्रम, विश्व अर्थतन्त्रको अवस्था, कम्पनीहरुको सूक्ष्म अध्ययन आदिको सूक्ष्म विश्लेषणबाट भोलिका  दिनहरुमा शेयर बजारले कुन गति लिन्छ होला भन्ने तर्क गर्न भने अवश्य सकिन्छ । त्यस्तै, कुनै एक कम्पनीको शेयर मूल्य पनि आगामी दिनमा कता जान्छ भन्ने कुराहरु समग्र बजारको अवस्था र सोही कम्पनीको विगतका आर्थिक तथ्याङ्कहरु, व्यावसायिक प्रगति विवरणहरु र आगामी दिनका लक्ष्यहरु हेरी लगानीकर्ताहरुले आ–आफ्नो तर्क गर्न सक्दछन् । तर, यस्ता तर्कहरु मिल्छन् र मिल्नै पर्छ भन्ने चाहिं कुनै आवश्यकता छैन ।

यहाँ सन् १९९८ देखि २०१७ सम्मको तथ्याङ्कहरुलाई ५–५ वर्षमा विभाजन गरी नेप्से र एसएनपी ५०० इन्डेक्सलाई तुलनात्मक रुपमा हेर्दा प्रत्येक बजारका कम्तीमा २ ओटा रेखाहरु जनवरीमा कम बिन्दुमा र डिसेम्बरमा उच्च बिन्दुमा पुग्ने प्रक्रिया देखिन्छ । बाँकी दुई रेखाहरुले भने स्पष्ट रुपमा कुनै पनि दिशा निर्देशन गर्दैनन् । यसबाट शेयर बजार कुनै चक्रमा चल्दछ कि ! भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यद्यपि, यसलाई पुष्टि गर्नका लागि थप अध्ययनको जरुरत पर्दछ । यसबाट थप के कुरा पनि स्पष्ट हुन्छ भने नेपाल र अमेरिकाको शेयर बजारहरु अलग–अलग ठाउँ र अवस्थाको भए तापनि यी दुबै शेयर बजारहरुले केही हदसम्म एकै प्रकारको चक्र देखाएको पाइयो ।

पुनः एक पटक २० वर्षको नेप्से र एसएनपी ५०० इन्डेक्सलाई ५–५ वर्षको टुक्रामा हेर्दा यी दुई बजारहरु एकै समयमा एउटै दिशामा जान्छन् भन्ने स्पष्ट त हुँदैन तर केही अपूर्ण रुपमा विपरीत दिशामा हिँड्ने गति भने देखिन्छ । जस्तै, नेप्से तल जाँदा एसएनपी माथि जाने र एसएनपी तल जाँदा नेप्से माथि आउने । यदि यस्तो विपरीत प्रक्रिया स्पष्ट रुपमा देखिने हो भने अमरिकाको शेयर बजारमा लगानी गर्ने गैर आवासीय नेपाली लगानीकर्ताहरुले अमेरिकाको बजार तल जाँदा नेपालमा लगानी गर्ने र नेपालको बजार तल जाँदा अमेरिकामा लगानी गरी बढी नाफा कमाउन तथा लगानीमा विविधीकरण गरी जोखिम कम गर्न सक्दछन् । तर, यस्तो लगानीको सम्भावना हालको नेपालको कानुनअनुसार सीमित विदेशी मुद्रा मात्र नेपालबाट विदेश लैजान मिल्ने व्यवस्थाले गर्दा सजिलो चाहिँ छैन तर केही मात्रामा आफ्नो परिवार वा आफन्तको माध्यमबाट नेपाली शेयर बजारमा विदेशमा बसेर पनि लगानी गर्न भने अवश्य सकिन्छ ।

साथै, तलको चित्रबाट थप के स्पष्ट हुन्छ भने यदि एक वर्षलाई आधार मान्ने हो भने प्रायःजसो वर्षको पहिलो तीन महिनामा शेयर बजार न्यूनतम बिन्दुमा आउने र पछिल्लो तीन महिनामा शेयर बजार उच्च बिन्दुमा पुग्ने देखिन्छ । त्यस्तै, इन्डेक्सको अवस्था हेरेर न्यून बिन्दुमा बजारमा प्रवेश गर्ने हो भने अमेरिकाको शेयर बजारले साधारणतया वर्षमा २ पटक लगानीकर्तालाई शेयर किन्ने अवसर दिने गर्दो रहेछ । जस्तै– दोस्रो अवसरका रुपमा अगष्टदेखि अक्टोबरसम्म, जहाँ एसएनपी ५०० इन्डेक्स तुलनात्मक रुपमा न्यून बिन्दुमा पुगेको तलका ग्राफहरुबाट स्पष्ट देख्न्न सकिन्छ । तर, नेप्सेमा भने स्पष्ट रुपमा दोस्रो अवसर देखिँदैन । तसर्थ, यदि शेयर बजारको विगतको चक्र आगामी दिनमा पनि रहेको अवस्था मान्ने हो भने विशेष गरी नयाँ लगानीकर्ताहरुलाई अमेरिकाको शेयर बजारमा प्रवेश गर्ने मौकाको रुपमा फेब्रुअरीदेखि मार्च र अगष्टदेखि अक्टोबरसम्मलाई लिन सकिन्छ । साधारणतया शेयर बजारमा पुरानो तथ्याङ्कलाई आधार मानेर भविष्यमा पनि यस्तै हुन्छ भन्न सकिँदैन त्यसैले प्रत्येक पटक शेयरमा लगानी गर्दा लगानीकर्ताहरुले पूर्ण रुपमा पुनः आफूले किन्न चाहेको शेयरको सम्पूर्ण आध्ययन गरेर मात्र लगानीको निर्णय गर्नु राम्रो हुन्छ ।

त्यस्तै, सम्पूर्ण २० वर्षको तथ्याङ्कलाई एकै ठाउँमा राखेर हेर्दा माथि भनिएका निष्कर्षलाई थप सुनिश्चित गर्न मद्दत गरेको देखिन्छ । यहाँ पनि नेप्से जनवरीबाट डिसेम्बरसम्म माथि गइरहेको नै देखिन्छ तर एसएनपी ५०० इन्डेक्स वर्षमा २ पटक न्यूनमा आउने र समग्रमा जनवरीबाट डिसेम्बरसम्म माथि जाने चक्र नै देखिन्छ ।

निस्कर्ष

शेयर बजार एक गतिशील प्रकिया हो र यसलाई दैनिक रुपमा धेरै बजार–सूचनाहरुले प्रभाव पार्ने गर्दछ । यस्ता प्रक्रिया तथा प्रभावहरुबीच पनि शेयर बजारमा कसरी लगानी शुरु गर्ने, कसरी लगानी थप गर्ने, कसरी जोखिम कम गर्ने र कुन बेलामा शेयर बेची आफ्नो लगानीमा निश्चित नाफा सुनिश्चित गर्ने आदि कुराका बारेमा जानकारी हुनु आवश्यक हुन्छ । यसका लागि माथिको विश्लेषणबाट केही जानकारी दिने प्रयास गरिएको छ, तर सोही निष्कर्षहरु आगामी दिनमा पनि लागू हुन्छन् भन्ने कुरा गरिएको छैन । विभिन्न प्रकियाहरुबाट अध्ययन गर्दा नेपाली शेयर बजार वा अमेरिकन शेयर बजारमा प्रवेश गर्ने विश्वासिलो समय भनेको जनवरीदेखि मार्चसम्मको समयलाई लिन सकिन्छ । त्यस्तै, अमेरिकाको शेयर बजारमा प्रवेशका लागि थप एक अवसरका रुपमा अगष्ट, सेप्टेम्बर र अक्टोबर महिनालाई पनि लिन सकिन्छ ।

लेखक कडरिया शेयर बजारको अनुसन्धानकर्ता हुन् तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत एम.फिल. व्यवस्थापन संकायका स्वर्ण पदक (सन् २०१२ का) विजेता पनि हुन् । यससम्बन्धी सुझाव तथा अन्य जानकारीका लागि su.kadariya@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार