तीज भित्र्याउने मेरी आमा

तीज भित्र्याउने मेरी आमा

नुवाकोट र रसुवा जिल्लालाई छुट्याउने त्रिशुली र फलाँखु खोला छ । खोलाको वारि र पारि लमतन्न बस्ती, जसलाई बेत्रावती बजार भनिन्छ । भाद्र शुक्ल पञ्चमीको दिन खोलाको एकापट्टिको बगर रात्तै देखिन्थ्यो । अर्कोपट्टि खाली हुन्थ्यो । बजारको रसुवापट्टिको भागमा ब्राह्मण, क्षेत्री, मगर आदिको बाहुल्यता थियो भने नुवाकोटपट्टि नेवारहरुको । त्यतिबेला नेवारहरु तीजको व्रत बस्दैनन् थिए, यद्यपि बन्देज थिएन । म नेवार बस्तीको बीचमा हुर्केको भए तापनि तीजसँग नजिक रहें, कारण बन्यो मेरी आमा । पारिको थापा मगर परिवारबाट वारिको नेवार परिवारमा भित्रिएकी मेरी आमाले एउटा नेवारको घरमा तीज भित्र्याइन् । थुप्रै घरेलु क्रान्ति झेलिन् । मैलेचाहिं नेवार्नी नै बिहे गरें । जसलाई तीज थाहा थिएन । तर, मेरी आमाको सामिप्यले उनलाई पनि तीजको व्रत थाल्नुपर्ने अवस्था सिर्जना गरायो । नयाँ तीजको व्रतालु घरमा थपियो, त्यसपछि मेरो घर तीज मनाउने नेवारको घर बन्न पुग्यो । काठमाडौंका नेवारहरुलाई त झन् तीज भनेको चाडपर्व नै होइन भन्ने थियो । अहिले समयले माहोल परिवर्तन गरायो । तीज व्रतभन्दा पनि नाचगान गर्ने, सुन्दर साडी, महँगा गहना देखाउने, खाने, डुल्ने चाड बन्दै गएकोले नेवारहरु व्रत नबसे पनि तीजचाहिँ मनाउन थाले । अब तीज नेपालीको चाड बनेको छ । हाम्रो सहिष्णु सोच र सामाजिक सञ्जालको प्रभावले सबै प्रचलित पर्वहरु सबैलाई स्वीकार गर्न सहज पारेको छ ।

आखिर यो तीज के हो ?

वर्षामास सकिने बेलामा भाद्रताका परालको माझतिर माकुरो प्रजातिको रातो किरा देखिन्छ । त्यो किराको नाम तीज हो । भदौमा बुबा खुवाउने औंसीको ३ दिनपछि अर्थात् भाद्र शुक्ल तृतीयाको दिन पार्वतीले महादेव पति पाउनका लागि निर्जल निराहार व्रत बसेको दिनबाट प्रभावित भई हिन्दू नारीहरुले पनि रोजेको पति पाउनका लागि र विवाहितले सौभाग्यका लागि यो व्रत बस्न थाले । पार्वतीले महादेवलाई ‘हरितालिका’ प्रतिकात्मक नाम थपना गरी पूजा गरेको हुनाले तथा यो व्रतको समय भाद्रमा पर्ने हुँदा यसलाई हरितालिका तीज भन्न थालियो ।

यो तीजको क ख ग... मेरा पाठकका लागि दर्शन छाँटेको जस्तो नहोस् भनेर केही रमाइला पक्षतर्फ मेरो दुरबिन मोड्न चाहें । बिहान शौच गर्ने तरिकादेखि रातमा सुत्नुअघि ‘बेड टाइम सावर’ लिने प्रचलनसम्म पुग्दा हाम्रो जीवनशैली अनुकूलताअनुसारको परिवर्तन स्वीकारिएको छ भने परम्परागत चाडबाडमा परिमार्जन हुनुलाई सहर्ष स्वीकार्नुको विकल्प छैन ।

तीजको इतिहास दुःखले भरिएको छ । छोरीले माइत जान नपाउँदा गरेको बिलौना । गरिबीमा माइतीले बोलाउन नसकेको सास्ती । आमाजू, सासू, नन्द, जेठानीजस्ता दादागिरी कहलिएका पात्रसँगको सङ्घर्ष तीजको गीतको कच्चा पदार्थ थिए । अब त्यो रहेन । समयले काँचुली फे¥यो । अब बुहारीले ‘आमा तपाईं यो साडी लगाउनु, यो तिलहरी लगाउनु, हातमा यो चुरा लगाउनु नत्र अरुको अगाडि अप्ठेरो हुन्छ’ भनेको हिजो मेरै घरमा मेरी आमालाई मेरी श्रीमतीले सिकाएको सुनेपछि जमाना फेरिएको थप प्रमाण जुटेको हो ।

पितृसतात्मक समाजले महिलाहरु घरबुढीको दर्जामा राखेको बेला सिर्जना गरेको प्रथा परम्पराहरुले वर्तमानको कामकाजी महिलाहरुको जगजगी भएको समाजमा हुबहु काम गर्दैन । मैले नेपालमा देखेको तीजमा दतिउन टोक्ने, पञ्चमी नुहाउने, आधारातसम्म दर खानेजस्ता क्रियाकलापहरु ९ वर्ष अमेरिका बस्दा देखिन । यहाँको तीज फरक छ । नदोहोरिएको साडी, नौला गहना, काँक्रो जत्रो छड्के तिलहरी, खैरो कपाल, श्रीमान्ले पार्टी हलसम्म पु¥याउन लिन जाने दृश्यहरु यहाँको तीजको पर्याय हुन् । श्रीमान्को भन्दा बढ्ता कमाइ, कसैको खटन छैन । श्रीमान्लाई भिडियो खिच्न लगाउने हो, आफू नाच्ने होस् भने बराबर छ ।

यतिबेला तीज देखाउने पर्व बनेको छ । हुन त संसारिक मोह बस्तुको जगमा टिकेको छ भने; देखिनु र देखाउनु अन्यथा होइन । भौतिकवादअनुसार चलुन्जेल बस्तुलाई स्वीकार्नु नै छ । बस्तु देखिने चिज हो, धेरथोर लुकाए पनि देखिन्छ । हिन्दीमा एक कहाबत छ; जो दिखता है, वही बिकता है । विज्ञापनको जमानामा लुकाएर चर्चा हुँदैन । यो मौसममा तीजले पनि देखाएरै सबैलाई समेट्न सफल भएको छ ।

व्यस्त जीवनशैलीमा तीज जस्तो फ्लेक्जिबल चाडपर्व रहनुपर्छ । महिना दिन मनाउन मिल्ने । व्रत नबसेर रमाउन मात्र पनि मिल्ने । जात धर्मले नछेक्ने । यो पर्व मलाई असाध्यै मनपर्छ । सबैलाई तीजको शुभकामना ।

ygshdngl@yahoo.com

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार