निराशा बढाउँदै दुई तिहाइ सरकार

निराशा बढाउँदै दुई तिहाइ सरकार

सुशासन र सुरक्षा झन् हरायो नेपालमा

न्यूयोर्क । चुनावअघिका दुई वर्ष केपी शर्मा ओलीको उचाइँ बिछट्टको रह्यो । त्यसअघि आम राजनीतिमा खासै सिरियस पात्रको रुपमा नलिइने ओली तत्कालीन एमालेभित्रको एउटा गुटलाई अविछिन्न चलाउन सफल थिए । २०७२ असोजमा संविधान जारी भएसँगै भारतले लगाएको नाकाबन्दीको सार्वजनिक प्रतिवाद गरेका कारण उनको छवि अचानक उकालो लागेसँगै राष्ट्रियताको एकमात्र विम्बका रुपमा उनी स्थापित भए । समृद्धिको सपना देखाउने एकमात्र काबिल नेताका रुपमा पनि उनकै चित्रण भयो । पत्याउनै कठिन पर्ने ग्यास सिलिण्डर विस्थापित, हावाबाट बिजुली निकालेर लोडसेडिङ अन्त्य, हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानीजहाज चलाउनेजस्ता उनका भाषणले मुलुकको भावी दिशाका लागि एक दूरगामी नेताले देखाएको सपनाको उपमा पाए ।

तत्कालीन सत्ता साझेदार माओवादीले कांग्रेससँग गठबन्धन गरी सरकार ढालेसँगै उनको उचाइँ झनै चुलियो । उनका जुन भाषणले सपनाको उपमा पाएका थिए, ती पूरा भएमा देशले विकासको दिशा लिन्छ भन्ने भयले आफ्नो सरकार गिराएको प्रचार गराउन उनलाई झनै सहज भयो । यिनै आवरणस्वरुप चुनावमा उनले सानदार विजय प्राप्त गरे । त्यसमा पहिला आफैंलाई धोका दिएको माओवादीलाई कांग्रेसबाट छुट्याएर फेरि साथ लिन सक्ने उनको रणनीतिक चातुर्यले महत्वपूर्ण परिपूरकको भूमिका निर्वाह ग¥यो ।

संविधान जारी भएयता निर्वाचनसम्मका दुई वर्ष उनको व्यक्तित्वले जुन उचाइँ हासिल ग¥यो, सत्ता सम्हालेसँगै तिनमा तीव्र क्षय देखिएको छ । मूलतः सुशासनका लागि एकपछि अर्काे चर्का भाषण गरे पनि व्यवहारको फिक्कापनाले ओलीप्रतिको आशा निराशामा बदलिन थालेको हो । प्रधानमन्त्री ओलीले केही दिन अघि भ्रष्टाचारमा सामेल भएको पाए नाता, आफन्त केही नहेरी कारबाही गर्ने ट्विट गरे । तर, त्यो ट्विट टाइमलाइनबाट ओझेल पर्न नपाई नेपाल दूर सञ्चार प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गरे । झा तिनै व्यक्ति थिए, जसलाई दुई महिना अघि उनकै सरकारले अयोग्य घोषणा गरी हटाएको थियो । दुई महिना पद बाहिर रहेर झाले कस्तो योग्यता हासिल गरेर अहिले नियुक्त भए भन्ने प्रश्नको जवाफ ओलीले दिएका छैनन् । विदेश भ्रमणमा कमी ल्याई करोडौं बचाएको दाबी गर्ने ओलीले गतसाता आफ्नै सरकारी निवास बालुवाटारमा वंश भेला गराए । नाचगान र भोजभतेरसहितको भेलाको भिडियो हेर्दा पिकनिककै झल्को पाइन्थ्यो । सरकारी निवासलाई त्यसरी पार्टी प्यालेसमा रुपान्तरण गर्दा आफ्नै सुशासनको नारामाथि हुने भद्दा मजाकप्रति ओलीले कुनै परवाह गरेनन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरीका अपराधी डेढ महिनासम्म पनि सरकारले पत्ता लगाउन सकेको छैन । एक मानसिक रोगीलाई नक्कली अभियुक्तका रुपमा उभ्याउन खोजे पनि स्थानीयको विरोधका कारण सम्भव नभएपछि सरकारले छानबिन समिति बनायो । तर, समितिमा १५ दिन काम गरेपछि पीडितलाई न्याय दिने अवस्था नरहेको भन्दै कानुन मन्त्रालयका तर्फबाट प्रतिनिधि रहेका एक उपसचिवले राजीनामा दिए ।

यी सबै यथार्थका बीच पनि प्रधानमन्त्री ओली पहिला जस्तै कोरा भाषण बाँडेर तिनैलाई आफ्नो कामको रुपमा अथ्र्याउँदै हिँडिरहेका छन् । मोरङको एक गाउँमा गोबर ग्यासबाट ३५ घरमा वितरण गरिएको प्लान्ट उद्घाटन गरी उनले आफ्नो सपनाबमोजिम सिलिण्डर युग समाप्त भएको घोषणा नै गरिदिए । जबकी बढ्दो पेट्रोलियम मूल्यका कारण यही जाडोमा ग्यास अभाव सुरु भएर काठमाडौंमा काँधमा सिलिण्डर बोकेका हैरान सर्वसाधारण देखिन थाल्ने जोखिम झनै टड्कारो बनेको छ । राजधानीका सडकको बिजोग हालत, काठमाडौंको धुलो, थेगी नसक्नु ट्राफिक जामजस्ता समस्यामा निस्सासिएका जनतालाई हालै फेरि अर्को उपहारमा अल्मल्याउन खोजिएको छ– चीनसँगको पारवहन प्रोटोकलमा हस्ताक्षर ।

चिनियाँ बन्दरगाह उपयोग गरेर तेस्रो मुलुकसँग व्यापार गर्ने उपाय तय हुनु नराम्रो होइन, तर त्यसभन्दा अघि त्यहाँ पुग्ने बाटो त हुनुप¥यो । तीन वर्षदेखि बन्द तातोपानी नाका अझै खुल्न सकेको छैन । केरुङ रुटमा पहिरोको ज्यादती बल्झिरहन्छ, यस्तो यथार्थका बीच आकाशको फल देखाएका भरले सत्ताका गफ पत्याएर जनताले धैर्य साँचिरहन सक्दैनन् । एक किशोरी मारिएको डेढ महिनासम्म हत्यारा फेला नपर्ने, जुन सुशासनको गफ दियो, त्यसैलाई सरकारले बारबार तोडिरहने यथार्थका बीच झूटा सपना पत्याएर नागरिक बस्न थाले भने त्यसले उनीहरुको भविष्य थप जर्जर बनाउनेछ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार