न्यूयोर्क महापुराणको एक वर्ष– आधा पनि फछ्र्योट भएन कबुल रकम

न्यूयोर्क महापुराणको एक वर्ष–  आधा पनि फछ्र्योट भएन कबुल रकम
फाइल तस्वीर

न्यूयोर्क । न्यूयोर्कमा महापुराण लगाइएको एक वर्ष पूरा भइसकेको छ । क्विन्सस्थित रिजउडमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर स्थापनाका लागि रकम संकलन गर्ने उद्देश्यले सन् २०१७ अगष्ट २३ देखि २९ सम्म महापुराणको आयोजना गरिएको थियो । रिजउड नेप्लिज सोसाइटीको आयोजनामा ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा भागवत गीता वाचन भइरहँदा दाताहरु उत्साहित भएर अनुदान रकम कबुल गर्नेको होडबाजी नै चल्यो । तर, महापुराण सकिएको वर्ष दिन बितिसक्दा कतिपयले कबुल रकमको आधा पनि बुझाएका छैनन् ।

नेपाली समुदायमा कहलिएका राजनीतिक दलका नेता, समाजसेवी, कानुन व्यवसायी, व्यापारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले ठूलै रकम अनुदान कबुलेर त्यतिबेला सञ्चारमाध्यममा राम्रै ठाउँ पाएका थिए । तीमध्ये धेरैले कबुल रकमको थोरै हिस्सा मात्र बुझाएको पाइएको छ । सोसाइटीले तयार पारेको पछिल्लो अपडेट (अगष्ट २०१८ सम्मको) अनुसार नेपाली जनसम्पर्क समितिले १ लाख २५ हजार ५ सय ५५ कबुल गरेकोमा हालसम्म ५ हजार २ सय ५१ मात्रै बुझाएको छ । प्रवासी नेपाली मञ्चले १ लाख ११ हजार १ सय ११ अनुदान दिने प्रतिबद्धता गरेकोमा २० हजार मात्रै बुझाएको छ । सुरुका केही महिना नियमित रकम जम्मा गरेको मञ्चले पछिल्लो समय रकम बुझाएको छैन ।  

सोसाइटीका पूर्वअध्यक्ष तथा कानुन व्यवसायी श्री पराजुलीले १ लाख १ हजार १ सय ११ कबुल गरेकोमध्ये ४९ हजार ७८ बुझाएका छन् । पराजुलीले १ लाख १ हजार १ सय ११ रकम कबुल गरेको भनेर विभिन्न सञ्चारमाध्यममा आएको थियो । तर, सोसाइटीले तयार पारेको रकम सूचीमा पराजुलीले ७६ हजार ५६ मात्रै अनुदान कबुल गरेको पाइएको छ । त्यसमध्ये पनि २६ हजार ९ सय ७७ अझै दिन बाँकी रहेको छ ।

महापुराणकै संयोजक राजेश भट्टले अनुदान दिने भनिएको ७५ हजार १ मध्ये ४१ हजार ६ सय ५१ सोसाइटीको खातामा जम्मा गरिसकेका छन् । समाजसेवी मोहन ज्ञवालीले ५० हजार दिने प्रतिबद्धता गरेकोमा हालसम्म १६ हजार मात्रै बुझाएका छन् ।

समाजसेवी बेद खरेलले कबुल गरेको ४१ हजार ६ सय ६१ मध्ये ७ हजार ५ सय ५५ बुझाएका छन् भने सुमन शाहले प्रतिबद्धता जनाएको ४१ हजार १ सय ९ मध्ये २४ हजार १ सय ११ बुझाएका छन् । कानुन व्यवसायी खगेन्द्र जीसीले ३५ हजार बोलेकोमा ८ हजार मात्र बुझाएका छन् भने केशबराज सेढाईंले ३५ हजार १ मध्ये १६ हजार बुझाएका छन् । जनक पराजुलीले २२ हजार २ सय २२ मध्ये ४ हजार ७ सय ७७ जम्मा गरेका छन् । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएन)का अध्यक्ष डा. केशव पौडेलले १० हजार १ मध्ये ५ हजार मात्रै बुझाएका छन् ।

उक्त महापुराण सम्पन्न गर्नका लागि नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेललाई झिकाइएको थियो । र, पण्डितकै पहलमा तत्काल केही नगद र दाताहरुको कबुल रकमसहित १५ लाख ५० हजार ४ सय ८२ अमेरिकी डलर बराबरको अनुदान संकलन गरिएको थियो । दुई वर्षभित्रमा मन्दिर निर्माण गरिने र दाताहरुले कबुल गरेको रकम पनि सोही समय अवधिभित्रै दिइसक्नुपर्ने सम्झौता थियो ।

तत्काल धेरै रकम पनि बुझाउनु नपर्ने भएकाले महापुराणका समयमा थुप्रै दाताहरुले उत्साहित भएर अनुदान रकम कबुलेका थिए । सोसाइटीको टार्गेटअनुसार दुई वर्षभित्रमा भवन निर्माणको काम सुरु गरिने भएकाले दाताहरुलाई दुई वर्षकै अवधि दिइएको हो ।

दाताहरुले २४ महिनाभित्र मासिक, त्रैमासिक, चौमासिक गरी विभिन्न किसिमले रकम बुझाउन सक्नेछन् । चेक, नगद, क्रेडिट कार्ड, अटो पेमेन्ट सिस्टममार्फत तिर्न पनि सकिनेछ ।                     

‘हामी रकम संकलनका लागि दाताहरुसँग ताकेता गरिरहेका छौं,’ सोसाइटीका कोषाध्यक्ष तुलसीराम आचार्यले भने, ‘कतिपय दातालाई फोनमार्फत र ठूलो रकम कबुल गर्ने दातालाई भेटेरै भनिरहेका छौं । सानातिना रकम दिनेहरुलाई पनि मासिक रुपमा मन्दिरमा हुने कार्यक्रममा बोलाएर रकम बुझाउन भनेका छौं ।’

उनका अनुसार कसले कति रकम बुझायो भन्नेबारे प्रत्येक महिना अपडेट गरेर नामसूची सार्वजनिक गर्छौं । भवन निर्माणका लागि नक्सा पासको एप्रुभल लेटर आउन लागेको अवस्थामा छ । नक्सा पास भएर आइसकेपछि हामीले विधिवत भवन निर्माणको उद्घाटन गर्नुपर्छ । त्यसै उद्घाटन कार्यक्रममा सबैलाई बोलाएर थप रकम संकलन गर्ने उनले जानकारी दिए ।   

महापुराण सकिने बित्तिकैदेखि रकम संकलनका लागि संस्थामा एउटा छुट्टै टोली बनाएर काम गर्नेबारे छलफल भएको थियो । टोलीमा को–को व्यक्ति सहभागी गर्ने भन्ने विषयमा कुरा नमिलेपछि संस्थाको कार्यसमितिका १३ जनाकै समूहले काम गर्ने र त्यसको नेतृत्व संस्थाका कोषाध्यक्ष आचार्यलाई दिने सहमति भएको थियो । त्यसैअन्तर्गत काम भइरहेको छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार