घटस्थापनामा रिलिज हुँदै छक्कापञ्जा–३

घटस्थापनामा रिलिज हुँदै छक्कापञ्जा–३

दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनामा रिलिज हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा निर्माण समूहले रिलिज डेट तय गरेको हो ।

चलचित्रका मुख्य कलाकार दीपकराज गिरीले शुक्रबार साँझ मात्र प्रदर्शन मिति तय भएको जानकारी दिए । ‘छक्कापञ्जा–३’ र ‘जय भोले’ एकसाथ प्रदर्शनमा आउने भएपछि फरक–फरक मितिमा रिलिज गर्ने सहमति भएको उनले बताए । गिरीले भने– ‘घटस्थापनामा छक्कापञ्जा–३ र फूलपातीबाट जय भोले रिलिज गर्ने सहमति भएको छ ।’

शनिबारै छक्कापञ्जा–३ को ट्रेलर पनि सार्वजनिक गरिएको थियो । निर्देशक दीपकश्री निरौलाले यस चलचित्रले हास्यव्यङ्ग्यसँगै सामाजिक तथा नेपालको सरकारी शैक्षिक विषयवस्तुलाई उठान गरेको बताइन् । उनी भन्छिन्– ‘छक्कापञ्जा–३ ले विद्यालयमा हुने विकृति एवम् राजनीतिलाई पनि उठाएको छ ।’ निर्देशक निरौलाका अनुसार अघिल्ला चलचित्रको ट्रेलरका विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यस पटक भने खुलाइएको जानकारी दिए । चलचित्रमा महिला–पुरुष समान रहेको देखाउने प्रयास गरिएको उनले बताइन् ।

दर्शकले ‘छक्कापञ्जा–३’ मा अधिकांश पुराना र केही नयाँ अनुहारसमेत हेर्न पाइने भएको छ । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ ।

छक्कापञ्जा–३ मा थुप्रै निर्माताहरुको समूह रहेको छ । आमा सरस्वती मुभिज प्रालि र आइएमईको प्रस्तुतिमा निर्माण भएको छक्कापञ्जा–३ मा यस पटक जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताका रूपमा रहेका छन् । त्यस्तै अन्य निर्माताहरुमा किरण केसी, सुमन गिरी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने छन् ।

ट्रेलरलाई दर्शकको साथ

दीपक–दीपाको अन्य चलचित्र जस्तै ‘छक्कापन्जा–३’ ले पनि दर्शकको राम्रै साथ पाएको छ । सेप्टेम्बर २१, शुक्रबार हाइलाइट्स नेपालले युट्युबमार्फत रिलिज गरिएको ट्रेलरलाई १२ घण्टामै ३ लाखभन्दा बढीले हेरेका थिए । यो समाचार तयार पार्नेक्रममा सेप्टेम्बर २४ सम्ममा ८ लाख ४३ हजारले ट्रेलर हेरिसकेका छन् । यसअघि छक्कापञ्जा २ को ट्रेलरले २४ घण्टाभित्र ४ लाखभन्दा बढी भ्युज पाएको थियो ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार